© २०२३
भैरहवा, ३० असार ।
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उप निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले ६ जनाको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता दिलीप कुमार मल्लिकले बताए ।
प्रवक्ता मल्लिकका अनुसार पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणासहित केन्द्रीय सदस्य वसन्त विक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहरा, जिल्ला सदस्य ई.प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीप कुमार मल्लिकको नाम सिफारिस गरिएको हो ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो । २०७९ साल मङ्सिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा तत्कालीन गृहमन्त्री समेत रहेका बालकृष्ण खाँणलाई पराजित गर्दै यस क्षेत्रको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले २०८२ कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको हो ।