© २०२३
गुल्मी, २८ असार । गुल्मी र पर्वत जोडने पक्की यतिबेला दैनिकी चलाउने गतिलो माध्यम बनेको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा बनेको पक्की पुल यति बेला दैनिकी चलाउने गतिलो माध्यम बनेको यस क्षेत्रका स्थानीयहरुले बताएका छन् ।
पर्वतको विहादी गाउँपालिकाका कृषक सरिता चौधरी पौडेलको तीनवटा स्थायी टनेल छन् । उनको टनेलमा उत्पादित कृषि उपजहरु अहिले सहज रुपमा सोही पुल हुँदै गुल्मीको पुर्तिघाटमा बिक्री गर्न सहज भएको उनी बताउछिन् । कालीगण्डकी नदिमा बनेको पक्की पुलले उत्पादित कृषि उपजलाई बजारसम्म लैजानका लागि सहज भएको बताउँदै उक्त पुल आफनो दैनिकीसँग जोडिएको उनको भनाइ छ । उत्पादित कृषि उपजलाई सहजै बजारमा लैजान र आर्थिक रुपमा पनि यसले थप सहजता ल्याएकाले जीवनशैली परिवर्तनमा पुल नै मुख्य माध्यम बनेको उनले बताइन् ।
यस्तै अर्का कृषक केशव पराजुलीलाई पनि उक्त पुलले दैनिकीलाई थप सहज बनाएको बताउछन् । आफूले दुई वटा स्थायी टनेलमा ब्यवसायीक कृषि गरेकाले बजारसम्म लैजानका लागि सहज भएको उनले बताए । यसका साथै उक्त पुलहुँदै पोखरासम्म जानका लागि पनि दुरी कम भएको सवारी चालकहरुले बताउँदै आएका छन् ।
सोही स्थानका रिसी भुसालले पोखरासम्म जानका लागि दुरी पनि कम हुनुका साथै एकातिर बाटो अवरुद्ध हुँदा पनि विकल्पहरु रहेकाले उक्त पुल सारथी बनेको बताए । गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाटका लीलबहादुर केसीले गुल्मी र पर्वतको सम्बन्धलाई थप नजिक बनाएको र उत्पादित कृषि उपजलाई बजारसम्म ल्याउन थप टेवा पुगेको बताएका छन् । पर्वतको ताजा तरकारी एकाविहानै बजारसम्म आउने भएकाले पनि बुटवलबाट आउने सुकेको तरकारी खाने बाध्यता अहिले नभएको उनको भनाइ छ ।
तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौबीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण ब्यवसायीले २०७६ साल चैत ३० गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो ।
पछि सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालिन समयमा सो कार्यालयसङग सम्झौता भएका योजनाहरु हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यन्वय हुने गरी दायित्व हस्तान्तरण भएको हो ।
केही महिना पहिले उक्त पुलको निर्माण कार्य सम्पन्न भई गुल्मी क्षेत्र नम्वर एकका प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले उद्घाटन गरेका हुन् । २०७३ साल पहिले आफूले उक्त पुलका लागि पहल गरेको बताउँदै ढिलै भए पनि सार्थकता पाएको उनको भनाइ छ । यस पुलले सहजै रुपमा पोखरासम्म र कालीगण्डकी करिडोलाई जोडने भएकाले यस क्षेत्रका नागरिकको जीवनशैलीमासमेत परिवर्तन ल्याउने उनको दाबी छ ।
सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समय पछि उक्त पुलको निर्माण कार्य सम्पन्न भएको बताए । सार्वजनिक खरिद नियमवालीको १२ औँ संसोधन अनुसार पुल सम्पन्न भएको हो