© २०२३
गुल्मी, २५ असार ।
एसियाकै ठुलो शिला शालीग्राम वर्षेनी डुबानको चपेटमा पर्ने गरेको छ । विगत दुई वर्ष अघिदेखि शिला शालीग्राम डुबानमा पर्दै आएको यहाँका स्थानीयहरूले बताउँदै आएका छन् । गुल्मी ,स्याङ्जा र पर्वतको सङ्गम स्थल सेतीवेनीमा रहेको शिला शालीग्राममा सेतिखोलाले धार परिवर्तन गरेर बग्दा डुबानमा परेको हो । वर्सायामको समयमा काली गण्डकी नदीको बहाव बढ्नुका साथै सेती खोलाले धार परिवर्तन गरेर बग्दा पनि यसप्रति सरोकारवालाहरू मौन रहेका छन् ।
तीन जिल्लाका स्थानीय तहहरूले आफूहरूको बजेटले नथेग्ने भएकाले प्रदेश र सङ्घीय सरकारकै भर पर्नुपरेको बताउँदै आएका छन् । यसका लागि आफूहरूले पहल गर्दै आएको उनीहरूले बताए पनि ठोस परिणाम भने आउन सकेको छैन ।
पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले प्रदेश सरकार र केन्द्र सरकारले चासो नदेखाउँदा संरक्षणमा समस्या देखा परेको बताए ।
संरक्षणका लागि आफूले प्रदेश र सङ्घीय सरकारलाई आग्रह गर्दै आए पनि उहाँहरूले गम्भीर रूपमा लिन नसक्दा समस्या भएको उनको भनाइ छ । पालिकाको बजेटले संरक्षण गर्नका लागि सम्भव नदेखिएकाले उहाँहरूको मुख ताक्न आफूहरू बाध्य भएको उनले बताए । गुल्मीको काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालीग्रामको संरक्षणका निम्ती आफू सदैव तयार रहेको बताए । शिला शालीग्राम संरक्षणमा एक्लैको पहलले नहुँने भएकाले संयुक्त रूपमा केन्द्रबाट नै पहल हुनुपर्नेमा उनले जोड दिए ।
यता स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले शिला शालीग्रामको संरक्षणका लागि एक पटक संयुक्त बैठक बसेर डिपीआर गर्ने गरी योजना बनाएको स्मरण गरे । स्थानीय सरकारको बजेटबाट शिला शालीग्राम संरक्षण गर्न नसकिने भएकाले प्रदेश र सङ्घबाट उचित बजेटको ब्यबस्था गर्नुपर्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । आफूले पहिलेदेखि पहल गर्दै आएपनि एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको पहल आवश्यक रहेको उनले बताए ।
गुल्मी, स्याङ्जा र पर्वतको सङ्गम स्थल सेतिवेनीमा रहेको शिला शालीग्राम दर्शन गर्नाका लागि पुगेका राजन थापाले टाढैबाट दर्शन गरेर फर्किएको बताए । पहिले शिला शालीग्राम छोएरै दर्शन गर्ने गरेको बताउँदै उनले अहिले शिलासम्म जाने बाटोमा खोला बगेपछि टाढाबाटै दर्शन गर्नुपरेको बताए ।
शिला शालीग्रामको दर्शन गर्न पुग्नुभएका पर्वतका विजय तिवारीले पनि नजिकैबाट दर्शन गर्न नपाएको गुनासो गरे । शिला शालीग्राम दर्शन गर्नका लागि योजना बनाएर आए पनि नजिकैबाट दर्शन गर्न नपाएको उनले बताए । पहिले भन्दा अहिले सेती खोलाले धार परिवर्तन गरेर बगेपछि उक्त समस्या आएको तिवारीको भनाइ छ ।
यसका साथै शिला शालीग्राम संरक्षणमा पनि सरोकारवाला कसैको ध्यान जान सकेको छैन । शिला शालीग्रामको वरपरबाट लगाइएको वाल पनि भत्किएको छ । जसका कारण शिला शालीग्राम परिक्रमा गरेर दर्शन गर्ने अवस्थासमेत नरहेको र दर्शन गर्नेहरुका लागि पनि जोखिम रहेको छ । तीन जिल्ला र दुई प्रदेशको सङ्गम स्थलमा शिला शालीग्राम रहेपनि संरक्षणमा केन्द्र,प्रदेश र स्थानीय सरकारले चासो देखाएको पाइएको छैन ।
वाल भत्किएको करिब पाँच वर्ष पुग्दा समेत पुनः वाल लगाउने र संरक्षणमा कसैको ध्यान नजानुले धर्म कर्मप्रतिको विश्वास घट्दै गएको आफूलाई लागेको गुल्मीका ८३ वर्षीय खिमानन्द पाण्डेले दुखेसो पोखे । पहिले भन्दा पछि बिस्तारै धर्म कर्ममा ध्यान नगएको र नयाँ पुस्ताले मनन गर्न छाडेको हो की भन्ने आफूलाई लागेको उनको भनाइ छ ।
उक्त स्थानमा नव वर्ष,असारे ठुला एकादशी कात्तिके एकादशी, मकर संक्रान्तीमा विशेष मेला लाग्ने गर्दछ भने दैनिक रूपमा पुजा आजा हुने गर्दछ ।