© २०२३
नेपालगन्ज, २१ असार ।
देशभर रोपाइँको चटारो छ । कतिपय स्थानमा रोपाइँ सकिएको छ भने कतै भर्खर रोपाइँ सुरु भएको छ । आकाशे पानीको भरमा खेती गर्ने ठाउँमा त अझै रोपाइँ सुरु हुन सकेको छैन । राम्रो उत्पादनका लागि साउनको पहिलो सातासम्म अधिकांश किसानले रोपाइँ सक्छन् । तर, केही वर्षयता बाँकेको राप्ती सोनारीमा एउटा ठुलो समस्या देखिन थाल्यो— ‘रोपाराको अभाव । खेत तयार भएर पानी भरिँदा पनि खेतमा रोप्ने मान्छे भेटिँदैनथे । यही समस्यालाई अवसरमा बदल्दै स्थानीय महिलाहरूले १७ सदस्यीय रोपाइँ समूह गठन गरे । बिहानदेखि बेलुकासम्म खेतमा पसिना बगाएर उनीहरूले किसानहरूको धान रोप्न सहयोग गरिरहेका छन् ।
समूह भित्रको नियम स्पष्ट छ । समूह सदस्यहरूको खेतमा रोप्दाप्रति घण्टा एक जना बराबर ६० रुपैयाँ मात्र लिने । तर बाहिरी किसानहरूको खेतमा रोप्दा प्रति घण्टा १०० रुपैयाँ लिने । यसरी असार सुरु भएदेखि समूहले एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ । खेत जति टाढा भए पनि उनीहरूको उत्साह घट्दैन । विमला परियार खुसी हुँदै भन्छिन्, “पहिले खेतबाट घर फर्किँदा थकान मात्र हुन्थ्यो, अब पैसा पनि सँगै ल्याउँछु — हाम्रै पसिनाको फल हो यो ।” समूहमा आबद्ध महिलाहरूको अनुभव यस्तै छ । तुलसी श्रेष्ठ भन्छिन्, “पहिले खेतमा एक्लै काम गर्दा दिक्क लाग्थ्यो, अब समूहमा हाँसी खुसी, रमाइलो पनि हुन्छ, कमाइ पनि ।”
यो महिला समूहको रोपाइँ शैली हेर्दा कुनै व्यावसायिक ठेकेदार जस्तै देखिन्छ । समान लय, तालमेल र गति । खेत धनी किसानहरू भन्छन्, “महिलाहरूको यो समूहले काम गर्दा समय कम लाग्छ, रोपाइँ सफा हुन्छ, र खर्च पनि कम पर्छ ।’’ किसान नर बहादुर चौधरी भन्छन्, “उनीहरू खेतमा झरेपछि घण्टौँ बिना विश्राम काम गर्छन् । हामीलाई धेरै सजिलो भएको छ ।’’
महिलाहरू बिहान घरको काम सकेर खेततर्फ लाग्छन् । दिउँसो खेतमा पसिना बगाएर बेलुका घर फर्किन्छन् । उनीहरू भन्छन्, “घाम, पानी, कीचड सबै सहन्छौँ तर हातमा आफ्नै परिश्रमको फल नगद पाउँदा सन्तोष पनि छ ।’ समूहको नाम सहकार्य सफलता समूह रहे पनि हाल घण्टे समूहको नामले परिचित छ । घण्टाको हिसाबले पारिश्रमिक लिने भएकाले सबैले घण्टे समूह भन्ने गरेको समूहकी सदस्य तिला पुनमगरले बताइन् । रोपाइँ गर्ने मेलो जतिसुकै ठुलो होस् एक घण्टा सम्म उनीहरू उभिएर गफ गर्दैनन्, निरन्तर मेसिन जस्तै रोपी रहन्छन् ।
आफ्नो समूहले ५ कठ्ठा खेत एक घण्टामै रोपेर भ्याउने गरेको तिला बताउँछिन् । उनी भन्छिन्, “हामी सुरु गरेपछि बिसाउँदैनौँ । खेत मालिकको विश्वास राख्नुप¥यो, काम राम्ररी नगर्दा उहाँहरूको घाटा हुन्छ ।” राप्ती सोनारीकै अन्य वडाहरू, र आसपासका गाउँहरूबाट समेत अहिले उनीहरूको समूहलाई रोपाइँ गर्न माग आइरहेको छ । तर, उनीहरू भन्छन्, “पहिले आफ्नै गाउँ, छिमेकको खेत सक्नुपर्छ, त्यसपछि मात्रै टाढा जान्छौँ ।’’समूहकी अध्यक्ष शान्ता देवी धिताल भन्छिन्, “अहिले त भ्याइनभ्याइ छ, एक दिनमा तीन चार वटा खेत रोप्नुपर्ने अवस्था छ ।’’ धान रोपाइँलाई लक्षित गरेर गठन भएको समूहले आगामी दिनमा धान काट्ने, मकै भाँच्ने, तोरी, मुसुरो छिन्ने लगायतका काम पनि गर्ने योजना बनाएको अध्यक्ष धिताल बताउँछिन् ।
कृषिमा महिला सहभागिता सधैँ रहँदै आएको हो । तर, यसरी सङ्गठित भएर स्वरोजगार र आर्थिक आयआर्जन गर्ने महिला समूह भने प्रेरणादायी उदाहरण बन्न थालेका छन् । यिनीहरू अहिले दैनिक ८ सय देखि एक हजार रुपैयाँसम्म व्यक्तिगत आम्दानी गरिरहेका छन् । तर आर्थिक लाभ मात्र होइन, आत्मविश्वास, सामाजिक परिचय र निर्णय क्षमतामा पनि वृद्धि भएको उनीहरू बताउँछन् । समूह सदस्य तिर्सना बुढा भन्छिन्, “अब हामीले पनि काम गरेर कमाउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ ।’’
स्थानीय किसानहरूका अनुसार पहिले खेतमा रोपाराको पर्खाइ गर्दा धान रोप्न ढिलो हुने, जसले उत्पादनमा असर पर्ने गथ्र्यो । तर अहिले महिलाहरूको यो समूहले समयमै काम गरिदिएर ठुलो राहत दिएको छ । किसान धनीराम खड्का भन्छन्, “अब ढिलो हुँदैन । जब एक कल फोन गर्छौँ, उनीहरू आउँछन् र एक छिनमा रोपाइँ गरिदिन्छन् ।’’ समूहमा राप्ती सोनारी ३ बैशाका महिलाहरू आबद्ध छन् । उनीहरूले अहिले आफ्नो गाउँमा सबै किसानका खेत करिब रोपेर भ्याइसकेका छन् ।
माग आएको अन्य ठाउँमा पनि रोपाई गरिरहेको समूहका महिलाहरू बताउँछन् । आजभोलि राप्ती सोनारी गाउँपालिकाको खेतहरूमा हरियो धानको बिउ छरिएर बिस्तारै गाँज हाल्दै छ । ती हरिया बिउसँगै यहाँका महिलाहरूको भविष्यप्रति आशा र आत्मनिर्भरताको बीउ पनि उम्रिएको छ । कृषि क्षेत्रमा महिला श्रमिकको महत्त्वलाई पुनः स्थापित गर्दै राप्ती सोनारीका यी महिलाहरूले आर्थिक आत्मनिर्भरता र सामाजिक परिवर्तनको एउटा उदाहरण देखाएका छन् ।