© २०२३
बुटवल, २१ असार ।
नवलपरासीको सुनवलका राजनकुमार आचार्य सहकारी कर्मी हुन् । सहकारीसँगै अहिले उनी बाख्रा पालक किसान पनि हुन् । धेरैले उनलाई अहिले बाख्रा पालक उद्यमीको रूपमा चिन्न थालेका छन् । सहकारीको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ भनेर अभियानमा लागेका आचार्यलाई आफैबाट काम सुरु गर्नुपर्छ भन्ने लाग्यो । यसबाट परिवर्तनको झिल्को दिन सकिने विश्वासले व्यवसाय सुरु गरेको उनी बताउँछन् ।
उनी भन्छन्–‘विभिन्न समयमा सहकारीसँगै व्यवसायलाई अगाडि बढाउने उद्देश्यले कामहरू गरे तर सोचे जस्तो सफलता पाइएन । सहकारीको सिद्धान्तले पनि आर्थिक उपार्जनलाई महत्त्वका साथमा राखेको छ तर धेरै सहकारीहरूले बचत र ऋणलाई नै प्रमुख बनाएका छन् । सदस्यहरूले पनि उद्यमसँग खासै जोडिन नसकेको अवस्था छ । त्यसैले आफैबाट सुरु गर्न मैले बाख्रा पालन व्यवसाय सुरु गरेको हो ।
२०७७ सालबाट नै आचार्य बाख्रा पालनको तयारीमा लागेका हुन् । उनले बाख्राका लागि चाहिने डाले घाँस रोप्ने, बाख्राका लागि खोर तयार गर्ने, बाख्रा खेत्नका लागि आवश्यक पर्ने पूर्वाधारको तयार गरेर नै व्यवसाय सुरु गरेका हुन् ।
आचार्यले सहकारी क्षेत्रमा रहेर सिकेका ज्ञानलाई व्यवसायमा लगाएर आर्थिक क्रान्ति गर्नु पर्छ भनेर व्यवसाय सुरु गरेको बताउँछन् । २०५५ सालमा जिल्ला दुग्ध सहकारी संस्थाको व्यवस्थापक भएर सहकारी संस्थामा प्रवेश गरेका उनले आर्थिक उपार्जन विना सहकारीको उद्देश्य पुरा हुँदैनन् भन्ने लागेर आफू उद्यमसँग जोडिएको बताउँछन् ।
सहकारीको व्यवस्थापक हुँदै उनी सहकारी संस्थाको सदस्य, अध्यक्ष हुँदै अहिले जिल्ला बचत तथा ऋण सहकारी सङ्घ नवलपरासीको अध्यक्ष भएर काम गरिरहेका छन् । आजभोलि बिहानै ६ बजे बाख्रा गोठमा पुग्नु उनीहरूको हेरविचार गर्नु स्वास्थ्य अवस्था कस्तो छ उनीहरूले कसरी खाना खाइरहेका छन् केही समस्या छ कि छैन हेर्ने, रेखदेख गर्ने दाना पानीसँगै सरसफाइ र दिउँसोका लागि घाँसको अवस्था के छ मेसोमोलो मिलाउनु आचार्य बिहानी काम हो । उनी भन्छन् त्यसरी नै दिउँसो ४ बज्नै लाग्दा मन भतभती पोल्न थाल्छ खोरमा रहेका बाख्रा पाठापाठी के गरिरहेका होलान् ।
अवस्था के छ भनेर यही पोलाईले मलाई ४ बजे नै गोठमा पु¥याउँछ । त्यहाँ पुगेपछि उनीहरूसँग रमाउने अवस्था हेर्न गर्नु नै मेरो दैनिकी बनेको छ । दिउँसो सहकारी सङ्घको काम, समाजसेवा पछि बिहान साँझ आफ्नै गोठालोमा आनन्द आउँछ । जबसम्म जति नै आदर्शका कुरा गरे पनि आर्थिक रूपमा सबल बन्न सकिँदै न तबसम्म प्रगतिमा बाधा भइरहन्छ । सहकारीको उद्देश्य पनि सदस्य जहिले पनि आर्थिक रूपमा सबल बनोस् र उद्यमसँग जोडियोस् भन्ने हो । यही उद्देश्यलाई सफल बनाउन पनि म उद्यमसँग जोडिएको हु । आचार्य भन्छन्, सहकारी कर्मीहरू जो सानो ठुलो उद्यमसँग जोडिएका छन् उनीहरू कुनै न कुनै समयमा आर्थिक रूपमा सफल भएका छन् ।
त्यो सफलताले दीर्घकालीन रूपमा फाइदा नै दिएको छ । मेरो बाख्रा पालन व्यवसायले अहिले नै गति लिन सकेको छैन । जब गति लिन थाल्छ नि अनि बल्ल मुनाफा देखिन्छ । अहिले त मैले कुन जातका बाख्राले राम्रो हुन्छ भन्ने एक खालको परीक्षणमै छु । मेरो खोरमा ठूलासाना गरेर १ सय ८० सम्म बाख्राहरू थिए । ती मध्ये बिक्री गरेर अहिले ७५ वटा छन् । अहिले मेरो खोरमा स्थानीय खरी, जमुनापारी क्रस, राजस्थानबाट ल्याएका अझमेरी, सिरोही गुजुरी जातका बाख्राहरू छन् । यिनीहरूबाट जन्मिएका खसी बोकाको तौल ८० किलोसम्म हुने अपेक्षा गरेको छु । अहिले सम्म स्थानीय जातका बोका खसी ४० किलो सम्म भएका छन् ।
आचार्यले करिब ५० लाख लगानीमा यो व्यवसाय सुरु गरेका हुन् तर उनले बाख्रा पालन गर्ने हो भने कम लगानीमा गर्नुपर्ने सुझाव दिन्छन् । सानो खोर र थोरै उन्नत जातका माउबाट व्यवसाय सुरु गर्ने हो भने व्यवसाय घाटामा नजाने तर्क गर्दछन् ।
आचार्यसँग लामो समयसम्म सहकारी क्षेत्रमा काम गरेको अनुभव छ त्यहीँ अनुभवलाई बाख्रा खोरमा लगाउँदै उद्यमी बन्न कसिएका उनीसँग थुप्रै समस्याहरू पनि छन् । साना पाठापाठी हुर्काउन अति नै कठिनाइ छ । धेरै पानी, धेरै घाम, अत्यधिक जाडो र अत्यधिक गर्मीको समयमा साना पाठापाठी हुर्काउन नसक्नाले पनि व्यवसायलाई अगाडि बढाउन गाह्रो पर्छ ।
त्यसका साथै बाख्राका लागि भनेर विशेष दाना छैन केही मात्रामा भए पनि अत्यधिक महँगो छ । जुन बाख्रा पालन गरिरहेका व्यवसायी किनेर खुवाउन सक्ने अवस्था छैन । त्योसँगै घाँस व्यवस्थापनमा पनि समस्या भएका कारणले पनि थप समस्या उत्पन्न भएको छ । त्यसै गरी बजारमा खसी बोका बिक्रीमा समस्या नभए पनि कम उत्पादन दिने बाख्रा बेच्नु परे बजारको समस्या रहेको आचार्यको गुनासो छ । यसलाई स्थानीय सरकारले नीति बनाएर उद्यम गर्न चाहनेहरूको समस्या समाधानमा सहयोग गर्नुपर्छ ।