© २०२३
पाल्पा, २० असार । असार लागे पछि सुन्तला जात फलफुल बिकास केन्द्रका प्रमुख जोगेन्द्र कान्दुको ब्यस्तता बढ्छ । उनि कार्यालय समयमा मात्र होईन अन्य समयमा पनि भेट्न गारो हुन्छ । एक वर्षिय, बहु वर्षिय, कलमी बिजु सुन्तला मौसम, कागती जुनारको संरक्षण हेरचाह संगै विरुवा लिन आउने कृषक समूह, सरकारी निकायलाई कलमी र बिजु हरित गृहको र बाहिरको बिरुवाको विशेषता बताउदै गरेका उनी फर्ममा व्यस्त अवस्थामा भेटिन्छन् ।
संघिय सरकार नियन्त्रित सुन्तला जात फलफुल बिकास केन्द्रले दानाबाट र हागाबाट तयार गरेको कलमी हरित गृहमा बिरुवा उत्पादन गर्ने अनुसन्धान केन्द्र नै भएका कारण यहा उत्पादित बिरुवा ठुलो परिमाणमा बाहिरका जिल्लाहरुमा निर्यात हुने गर्दछ । सुन्तला जात फलफुल विकास केन्द्रले यस वर्ष करिब ७० हजार बिरुवा उत्पादन गरेको छ भने ६० हजारभन्दा बढी बिरुवा वितरण गर्ने तयारी गरेको छ । संघीय सरकार अन्तर्गत सञ्चालित यो केन्द्रले उन्नत जातका सुन्तला र कागतीका बिरुवा उत्पादन गर्दै आएको छ । केन्द्रका प्रमुख जोगेन्द्र कान्दुका अनुसार, “बिहान–साँझ फरक पर्दैन, हामी दिनभर किसानलाई बिरुवा सल्लाह दिने र प्रविधि बुझाउने काममै व्यस्त हुन्छौं ।” उनका अनुसार संघीय सरकारको संरचना विस्तारसँगै केन्द्रको जिम्मेवारी पनि व्यापक बनेको छ ।
जिल्लाका पूर्वखोला, रिब्दीकोट, नायरनमतलेस, बराङ्दी, रैनादेवीछहरा लगायत स्थानमा व्यवसायिक सुन्तला खेती विस्तार हुँदै गएको छ । केन्द्रबाट उत्पादित बिरुवा गुल्मी, पर्वत, स्याङ्जा, रुकुम, डोटी, बझाङजस्ता जिल्लामा समेत निर्यात भएको छ ।
पूर्वखोलाकी खुमा खनाल भन्छिन्, “बाली जनावरले बिगार्छन्, तर सुन्तला लगायो भने चार वर्षमै फल दिन्छ, बिक्रीको पनि चिन्ता हुँदैन ।” मुझुङका दोलख बहादुर कार्की, जो सरकारी सेवाबाट अवकाश प्राप्त छन्, प्रत्येक वर्ष २०–२५ वटा नयाँ सुन्तला रोप्दै आएका छन् । “केन्द्रबाटै प्राविधिक परामर्श लिन्छु, धेरै सहज भएको छ ।” –उनले बताए ।
केन्द्र प्रमुख कान्दुका अनुसार, कतिपय स्थानीय तहले गुणस्तरीयता नहेरी बाहिरी जिल्लाबाट बिरुवा आयात गरिरहेका छन्, जसले गर्दा कृषकहरू धोखामा पर्ने सम्भावना बढेको छ । उनी भन्छन्, “केन्द्रले उत्पादित बिरुवा वैज्ञानिक विधिबाट उत्पादन गर्छ, तर भारतबाट ल्याइने बिरुवा भने महँगोमा घरघरमा बेच्न थालिएको छ, यो रोक्नुपर्ने बेला आएको छ ।”
सुन्तला बिरुवा उत्पादनमा संघीय सरकारले ठूलो लगानी गरेकाले यसको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकद्वार प्रणालीबाट वितरण, निगरानी संयन्त्र, प्राविधिक सहायता र बजार विस्तार आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।
पाल्पाको फलफुल विकास केन्द्र देशको उन्नत सुन्तला उत्पादनको प्रमुख स्रोत बन्दै गएको छ । स्थानीय किसानदेखि सुदूरपश्चिमसम्म बिरुवा वितरण हुने यो केन्द्रले गाउँगाउँमा सुन्तला नगदे बालीको रूपमा स्थापित गर्न उल्लेखनीय योगदान दिँदै आएको छ । बिरुवाको माग प्रत्येक वर्ष बढदो छ । गत वर्ष २४ हजार ३ सय ८१ वटा बिरुवा वितरण भएको थियो । खेति योग्य जमिन अब कम हुदै गयो । धेरै जमिन जंगलमा परिणत भए । सुन्तला लगायो भने चार वर्ष मै उत्पादन दिने उत्पादित बस्तुको बजार खोज्न नपर्ने, भएका कारण सुन्तला खेति तर्फ कृषकहरुको आर्कषण बढदै गएको प्राविधिकहरुको बुझाई रहेको छ ।