© २०२३
काठमाडौं । साबिक विजेता नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ । बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो ।
मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे । मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए । त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनको योगफल तयार पारेको हो ।
मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले सर्वाधिक चार विकेट लिए । यादवले १० ओभरमा १५ रन मात्र खर्चिए । यस्तै, १० ओभरमा ४ मेडन राख्दै १२ रनमात्र खर्चेर सुभम खनालले तीन विकेट लिए । कप्तान विपीन शर्मा र सचिन भट्टले समान एक विकेट लिए ।
नेपालले अब उपाधिका निम्ति हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्नेछ ।