© २०२३
भैरहवा, १५ असार ।
धान खेतीको लागि उर्वर भूमि मानिने रुपन्देहीमा असारको मध्य आई पुग्दा सम्म २४ प्रतिशत मात्र रोपाइँ भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरूमा पानी परे पनि तराईका जिल्लाहरूमा पानी पर्न सकेको छैन । समयमा वर्षा नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो हुन पुगेको हो । सिञ्चित क्षेत्रमा रोपाइँ भए पनि आकाशे वर्षाको भरमा रहेका किसानहरूले अझै पनि खेत रोप्न सकेका छैनन् ।
लुम्बिनी प्रदेशको १२ वटा जिल्लाहरू मध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया जस्ता तराईका जिल्लाहरू धान खेती राम्रो हुने जिल्लाको रूपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको असार १३ गते सम्म जम्मा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कुल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । यसमध्ये ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा करिब करिब रोपाइँ सकिए पनि तराईका जिल्लाहरूमा बल्ल रोपाई सुरु हुँदै छ । सबै भन्दा बढी धान रोपाइँ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ र बाँके जस्ता जिल्लाहरूमा अझै पनि अधिकांश खेतहरू बाँझै रहेका छन् । सरदर ११ लाख ८५ हजार ४ सय ९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा २ लाख ७६ हजार ८ सय १९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रूपमा रहेको छ । कुल ग्राहस्र्थ उत्पादनमा १४ दशमलव ८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९ सय ८२ कृषक परिवार सङ्ख्या रहेको छ ।
रोपाई ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण हैन । कृषकहरूले समयमा मल पाएनन्, इन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखी लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महँगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानहरूको गुनासो छ । ओमसतिया गाउँपालिका वडा नम्बर ३ बस्ने गङ्गाराम चौधरीले गत वर्षहरू झैँ यस वर्ष पनि मल पाउन नसकेको बताए । “मल आउँछ तर हामीले पाएका हुँदैनौ, पहुँच हुनेहरूले लैजान्छन् होला । हामीलाई त भारतबाट ल्याउने मलकै भर हुन्छ ।” चौधरीले भने “भारतीय मलको भर नै हुँदैन, तौल कम हुने, कमसल हुने लगायतका समस्या हुन्छ । जेनतेन ल्याए पनि सुरक्षाकर्मीलाई दाम नचढाई आउनै पाइँदैन ।”
रोपाइँको समयमा डिएपी मलको आवश्यकता हुन्छ । अहिले पनि रासायनिक मलकै भरमा नेपालमा खेती हुने गरी पनि किसानहरूले आवश्यक मलको लागि सहकारीमा हप्तौँ देखि पर्खिबस्नु पर्छ । नेपालको लागि वार्षिक औसतमा ११ लाख मेट्रिक टन मलको आवश्यकता हुन्छ तर नेपालमा ३ देखि ५ लाख मेट्रिक टन सम्म मात्र मलको आपूर्ति हुँदै आएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङ्जा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ ।
अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाँका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउँछिन् । केही ट्रक वीरगन्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाई छ । कृषि सामाग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६ दशमलव ४५ मेट्रिक टन युरिया र ३९ हजार ९२३ दशमलव ४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७ दशमलव ७ मेट्रिक टन युरिया र ३१ हजार १९९ दशमलव ४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा लुम्बिनी प्रदेशको लागि १ हजार ९८३ दशमलव २ मेट्रिक टन युरिया र २ हजार २४३ दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिइन ।