Butwal Today

मुस्कान पसिनाको…

रामशंकरको ठुलो सपना आफ्ना सन्तानलाई राम्रो जीवन दिनु थियो, जुन सपना अब पूरा हुँदै गएको छ । “मैले त भारी बोकेँ, पसिना बगाएँ, तर मेरा छोराछोरीले यस्तो दुःख गर्नु नपरोस्” मुहारमा सन्तोषको चमक देखाउँदै केवटले भने । 
१४ असार २०८२, शनिबार
अ+
अ-

भैरहवा, १४ असार  । 
प्रत्येक बिहान साइकलमा भैरहवातर्फ लस्कर आउँछ । लस्करमा विभिन्न उमेर समूहका मानिसहरू रहन्छन् । जसले भैरहवालाई रोजगारीको गन्तव्य बनाइरहेका छन् । सोही समूहमा देखिने एक पात्र हुन् रामशंकर केवट । जो विगत ३५ वर्षदेखि रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट रोजीरोटीका लागि लगातार भैरहवा धाइरहेका छन् ।

काँधमा सामानको भारी बोकेर हँसिलो मुहारका साथ हिँड्ने रामशंकर भैरहवामा काम गर्ने एक सामान्य तर असाधारण पल्लेदार हुन् । उनको जीवन पसिना, सङ्घर्ष र अदम्य साहस जोड्दा एउटा प्रेरणादायी गाथा बन्छ । रुपन्देही जिल्लाको जिल्लाको एउटा सानो गाउँ मकरी (मायादेवी गाउँपालिका–६) बाट करिब तीन दशकदेखि रामशंकर आफ्नो गाउँको गरिबी र अभावबाट मुक्ति पाउन भैरहवा आइरहेका छन् ।

सुरुदेखि नै जिम्मेवारी बोकेका रामशंकर परिवारीक जिम्मेवारी पुरा गर्न आफ्ना अन्य साथीहरूसँगै भारत कानपुर पुगे । त्यहाँ अरू काम नपाएपछि कानपुरबाट नै पल्लेदारी कर्मको सुरुवात गरेको उनी सगौरव बताउँछन् । “पढेलेखेको छैन तर शरीरले बलियो थिए, भारत गएपछि पल्लेदारी गरी बसे ।” रामशंकरले विगत सम्झिए “तर त्यहाँ काम गर्नुभन्दा यही काम आफ्नै गाउँघर नजिकै गर्छु भनेर फर्किए ।”

३५ वर्ष अगाडी भैरहवा आउँदा उनको साथमा एउटा झोला, केही पुराना कपडा र आँखामा ठुला सपनाबाहेक केही थिएन । भैरहवा आएपछि उनले सुरुमा धेरै कामको खोजी गरे, तर अनुभव र सीप नभएकाले उनले पाउन सक्ने र जानेको एक मात्र काम थियो— पल्लेदारी । पहिला पनि त्यही काम गरेकोले उनलाई खासै गा¥हो भने भएन । त्यति बेला भैरहवाबाट प्राय पहाडी जिल्लाहरूमा खाद्यान्नको आपूर्ति हुने गरेको थियो । कडा परिश्रम गर्न जानेको उनलाई भैरहवा स्थित पवित्रा स्टोर्सले काममा लगायो ।

सुरुका दिनहरूमा केही कठिन भयो । बिहानैदेखि अबेर रातिसम्म सामान ओसार्दा शरीरका जोर्नी जोर्नी दुख्थे, हातखुट्टा सुन्निन्थे । तर, परिवारको पेट पाल्नुपर्ने जिम्मेवारीले उनलाई कहिल्यै हार मान्न दिएन । आज ५८ वर्ष पुगिसकेका रामशंकरको शरीरमा उमेरको असर देखिन थालेको छ, तर उनको कामप्रतिको लगनशीलता र उत्साहमा कुनै कमी आएको छैन ।

दैनिक बिहान ५ बजे उठेर, नुहाई धुवाइ गरी, सामान्य पूजापाठ गरेर उनी भैरहवाको भिडभाडमा आइपुग्छन् । दाल, चामल, तेलदेखि लिएर विभिन्न कपडा र घरका सामानहरू बोकेर उनी ट्रकमा लोड गर्छन् । एक पटकमा २० देखि १०० किलोसम्मको भारी बोक्नुपर्ने उनको दिनचर्या सामान्य भैसकेको छ । “पहिला त साह्रै गाह्रो हुन्थ्यो, अहिले बानी परिसक्यो,” उनी मुस्कुराउँदै भन्छन्, “यो शरीर नै अब भारी बोक्नका लागि बनेको जस्तो लाग्छ ।”

सुरुमा काम गर्दा महिनाकै २०–२५ हजार कमाई हुन्थ्यो । अहिले पनि महिनाको १५ देखि १८ हजार कमाउन सक्छन् उनी । तर पहिले जस्तो काम नभएको र पल्लेदारी काम गर्नेहरू पनि धेरै भएकोले पहिला जति कमाउन नसकेको उनी बताउँछन् । तैपनि कामबाट सन्तुष्ट छन् रामशंकर । यही कमाइबाट एउटा छोरी र ३ जना छोराहरू पाले । छोरी र २ जना छोराहरूको बिहे गरे । कान्छो छोरा अहिले प्लस टु पढिरहेको छ । गाउँमा ६ कोठा भएको पक्की घर बनाए उनले ।

उनको ठुलो सपना आफ्ना सन्तानलाई राम्रो जीवन दिनु थियो, जुन सपना अब पूरा हुँदै गएको छ । “मैले त भारी बोकेँ, पसिना बगाएँ, तर मेरा छोराछोरीले यस्तो दुःख गर्नु नपरोस्” उनको आँखामा सन्तोषको चमक देखिन्छ । दुई छोराहरू बाबुकै जस्तो मेहनत मजदुरी गरी कमाई रहेका छन् भने कान्छो छोरालाई उनले यस बाहेक काममा लगाउने योजना बनाएका छन् ।

रामशंकरको कामले उनलाई शारीरिक रूपमा मात्रै बलियो बनाएको छैन, मानसिक रूपमा पनि परिपक्व बनाएको छ । भैरहवाका व्यापारीहरू र स्थानीय वासीहरू रामशंकरलाई विश्वासिलो र इमानदार पल्लेदारका रूपमा चिन्छन् । उनले कहिल्यै कसैको सामान बिगारेका छैनन्, न त कहिल्यै कसैसँग बेइमानी गरेका छन् । उनको यही इमानदारीका कारण धेरै व्यापारीहरूले उनलाई काम दिन्छन् ।

रामशंकरको जीवन एउटा खुला किताबजस्तै छ । उनी कामको थकानलाई सधैँ आफ्नो मुस्कानले छोपिदिन्छन् । उनी भन्छन्, “जीवनमा दुःख त आउँछन् जान्छन्, तर हिम्मत हार्नु हुँदैन । पसिना बगाउन डराउनु हुँदैन, किनकि पसिनाको फल सधैँ मीठो हुन्छ ।” रामशंकर केवट, भैरहवाका यी पल्लेदार, सानो काम गरेर पनि कसरी ठुलो जीवन जिउन सकिन्छ भन्ने कुराको एउटा जीवन्त उदाहरण हुन् ।