© २०२३
बुटवल, १४ असार । रक्तदानजस्तो जीवनदायी कार्य र साहित्यजस्तो चेतनामूलक सन्देशलाई एकै मञ्चमा जोड्दै बुटवलमा आयोजना गरिएको खुला कविता प्रतियोगितामा ममता कार्कीले उपाधि हात पारेकी छन् । प्रतियोगिताको विजेता बनेकी कार्कीलाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको हो । स्टडी वल्र्ड एजुकेशन कन्सल्टेन्सीको सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले आयोजना गरेको खुला कविता प्रतियोगितामा सागर केसी दोस्रो हुदै नगद ५ हजार रुपैया, चिरन बराल तेस्रो हुदै नगद ३ हजार र बसन्त न्यौपाने चौथो हुदै पुरस्कृत भए ।
रक्तदाता अभिवृद्धि गर्ने, रक्तदान अभियानमा युवाहरुलाई प्रोत्साहन गर्ने विषयबस्तुका कविता प्रतियोगीहरुले प्रस्तुत गरेको संस्थाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । नयाँ पुस्तामा रक्तदानबारे सकारात्मक सोच विकास भइरहेको बेला युवाहरुलाई थप हौसला मिल्ने गरि कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाण केसी, स्टडी वल्र्ड एजुकेसन कन्सल्टेन्सीका सञ्चालक मन्जु थापा, नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा मन्त्री टेक बहादुर थापा, बुटवल उद्योग वाणिज्य संघका का.वा.अध्यक्ष टंक प्रसाद गैरे, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, पश्चिम बाग्लुङ सम्पर्क मन्चका प्रवक्ता दिनेश घिमिरे, कार्यक्रम संयोजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव प्रशन्न श्रेष्ठ, निर्णायक डा.सन्तोष पोखरेल, ईन्दिरा अर्याल, गिरी श्रीसले विजेता, उपविजेताहरुलाई पुरस्कार बितरण गरे ।
कार्यक्रममा २२ जनाले प्रतियोगितामा कविता वाचन गरेको संस्थाका आजीवन सदस्य तथा मानव अधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले बताए ।