जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरुद्ध पक्राउ आदेश जारी गरेपछि पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्र लेखी रायमाझीलाई पक्राउ गरी बुझाइदिन अनुरोध गरेको हो। सुमन हालसम्म फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। रायमाझीमाथि जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले उजुरी दिएकी थिइन्।
उनका अनुसार सुमनले साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् र उक्त रकम फिर्ता गर्न विभिन्न चेकहरू दिएकी थिइन्। तर ती सबै चेक बाउन्स भएपछि आशाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेकी हुन्। यस प्रकरणमा सुमनमाथि आधा रकम चेक अनादर र आधा बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरिएको छ।
आशा र सुमनको चिनजान पार्टीभित्रै भएको बताइएको छ। पर्सामा आयोजना गरिएको एक कार्यक्रममा सहभागी हुन आएकी सुमन केही दिनको बहानामा आशाको घरमै १० दिनसम्म बसेकी थिइन्। आशाका अनुसार त्यस अवधिमा उनले सुमनलाई होटल खर्च, कपडा र नगद सहयोग समेत गर्दै गइन्।
उनले भनेकी छन्, “प्रदेशसभा सदस्य भएकाले पैसा पक्कै फिर्ता आउला भन्ने सोचेँ, तर अन्ततः ठगिएको महसुस भयो।” सुमनले आफू मन्त्री बन्ने तयारीमा रहेको भन्दै विश्वास जितेकी थिइन्। पटक–पटक पार्टीभित्र कुरा राख्दा पनि कसैले चासो नदेखाएको आशाको गुनासो छ। अन्ततः न्याय खोज्दै उनी प्रहरीमा उजुरी गर्न पुगेकी हुन्।