© २०२३
बुटवल, असार । बुटवलका सामुदायिक विद्यालयमा अहिले गर्मी विदा छ । असार १० गतेसम्म गर्मी विदा गरिएको हो । तर यो समयमा भने बुटवल उपमहानरपालिकाले विद्यालयका विभिन्न भौतिक संरचना निर्माणमा जोड दिएको छ ।
असार मसान्तसम्ममा काम सक्ने गरि पालिकाका विभिन्न विद्यालयमा अहिले विभिन्न भौतिक पुर्वाधारका काम अगाडी बढेका हुन । बुटवल उप–महानरपालिका वडा नम्बर ११ नहरपुरमा रहेको नहरपुर माविमा बुटवल उपमहानगरपालिका को सहयोगमा चमेना गृह, खेलमैदानमा इन्टरलक ब्लक, खानेपानी बोरिङ र सुन्दरताका लागि पानीको फोहोरासहितको पोखरी निर्माण काम अहिले जारी छ । विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमका अनुसार असारको १० गते भित्र काम सक्ने गरी निर्माणको काम अगाडी बढाएको हो ।
विगत केही समय देखि भौतिक र शैक्षिक सुधारमा समेत आफुलाई अगाडी बढाउँदै आएको नहरपुर माविमा नयाँ बन्ने भौतिक संरचनाले थप सहज हुने विद्यालयका प्रधानाध्यापक गौतमको भनाई रहेको छ । विद्यार्थीको लागि बोरिङ्ग मार्फत खानेपानी सहित खेलमैदान, चमेना गृह नयाँ निर्माण गरिने यसबाट विद्यार्थीहरुको लागि थप सहज हुने उनको भनाई छ ।
यस्तै बुटवल ११ देविनगरमा रहेको नविन औद्योगीक कदर बहादुर रिता रायमाझी माविमा पनि अहिले भवनको माथिल्लो तला निर्माणको काम भैरहेको छ । बुटवल उपमहानगरपालिकाका विशेष पहलमा ५० लाख बजेट विनियोजन भएकोमा राष्ट्रपति शैक्षिक सुधार भवनको पहिलो तला दक्षिणतर्फ चारकोठे भवन निर्माण काम अहिले चलिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेताका अनुसार सिभिल इन्जिनियरिङ भवनको दोस्रो तला सिभिल इन्जिनियरिङ कक्षा र इन्जिनियरिङ ड्रइङ कक्षा निर्माणमा ५५ लाख बजेट विनियोजन भएको थियो । सोही अनुसार अहिले भवन निर्माणको का अगाडी बढेको हो ।
बुटवल उपमहानगरपालिकाले ‘नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ र शैक्षिक विकास कोषमार्फत भौतिक पूर्वाधारका क्षेत्रमा काम गरेको छ । ‘नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत विद्यालय भवन, शौचालय, कम्पाउण्ड, खेलमैदान आदिको निर्माण तथा मर्मतका लागि लगानी गरेको छ । भौतिक पूर्वाधार विकासका लागि नगरले वार्षिक २ करोड बढी लगानी गरेको हो ।
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार भौतिक पुर्वाधार अभावले शिक्षण सिकाई क्रियाकलपा प्रभावित नहोस् भन्ने हेतुले भौतिक पुर्वाधारको काम अगाडी बढाइएको जानकारी दिए । उनले भने–‘शिक्षण सिकाई क्रियाकलाप सहजताको लागि पुर्वाधारको भूमिका विशेष रहन्छ, सोही अनुसार हामीले पुर्वाधार विकासमा पनि जोड दिएका छौं । ’ बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको दुर्गा भावना आधारभुत माविको ४ कोठे भवन निर्माणको काम पनि बुटवल उपमहानरपालिकाले अगाडी बढाएको छ ।
‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ परिकल्पनाअन्तर्गत विकास कार्यक्रम सञ्चालन गरिएको छ । नगरप्रमुख शैक्षिक विकास कार्यक्रम अन्तर्गत विद्यालयहरूको शैक्षिक र भौतिक स्तर सुधार गरिदैछ ।
यस कार्यक्रमले विद्यालयहरूको मात्र नभइ विद्यार्थीहरूको पनि समग्र विकासमा जोड दिएको छ । पाठ्यक्रमबाहेकका सीप, संस्कार, संस्कृति, खेलकुद, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने उपमहानगरले जनाएको छ । साथै उत्पादन हुने जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिष्पर्धी बनाउन पहल गरिने जनाएको छ ।
बुटवलमा ९७ वटा विद्यालय तहका विद्यालयहरु रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय रहेका छन् । यहाँका विद्यालयहरुले विज्ञान प्रविधि, व्यवस्थापन, स्वास्थ्य, कानून, शिक्षा, इञ्जिनियरिङ, सूचना प्रविधि, नर्सिङ जस्ता बहुविषयगत कक्षा सञ्चालन गरेका छन् ।