© २०२३
नेपालगञ्ज, ४ असार । नेपालगञ्जमा आयोजना हुने बहुचर्चित ‘नेपालगञ्ज फोटो फेस्टिवल’ को चौथो संस्करण बुधबारदेखि सुरु भएको छ । अन्तराल नेपालगञ्जको आयोजनामा सुरु भएको यो फेस्टिवल असार ५ गते बिहीबारसम्म सञ्चालन हुनेछ । प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले फेस्टिवलको उद्घाटन गरे ।
फेस्टिवलमा आयोजित राष्ट्रिय फोटो प्रतियोगितामा देशभरबाट प्राप्त सयौं फोटोहरूमध्ये छानिएका १ सय ११ उत्कृष्ट फोटोहरू प्रदर्शनीमा राखिएको आयोजक संस्थाका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार, “बाँके, बर्दियालगायत देशभरका सांस्कृतिक, पर्यटन, कृषि लगायतका ९ विधाका विविधता झल्काउने फोटोहरू एउटै थलोमा निःशुल्क अवलोकन गर्न सकिन्छ।” यस वर्षको फोटो फेस्टिवलमा फोटो प्रदर्शनीसँगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । प्रतियोगितामा समावेश भएका १ सय ११ फोटोमध्ये चयन गरिएका फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै ती फोटोहरू नेपालगञ्ज, काठमाडौं तथा सातवटै प्रदेशमा हुने प्रदर्शनीमा समावेश गरिनुका साथै फोटो पुस्तकमा समेत प्रकाशित गरिनेछ । फोटो छनोट कार्य वरिष्ठ फोटो पत्रकार विकास कार्कीको संयोजकत्वमा फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सम्मिलित निर्णायक मण्डलले सम्पन्न गरेको हो ।
नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत राष्ट्रिय फोटो प्रतिस्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्ने छन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इसेवामा गएर भोट गर्न सकिनेछ । यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । यस्तै, प्रतियोगिताका ९ विधाहरू – दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति एवं संरक्षण, खेलकुद र ‘नेपाल स्माइल’ मा उत्कृष्ट फोटो चयन गरिनेछ । हरेक विधाका विजेताहरूलाई रु. ५,००० नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यस वर्षको फेस्टिवल विशेष बनाउने अर्को पहल भनेको ‘नेपाल फोटोग्राफी समिट’ हो, जहाँ देशभरका फोटो पत्रकार तथा फोटोग्राफरहरूले आफ्ना अनुभव आदानप्रदान गर्नेछन् ।