© २०२३
गुल्मी, २९ जेठ ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन ।विभिन्न समस्याहरू देखाउँदै आएका निर्माण व्यवसायीले असार मसान्तसम्म काम सक्ने बताउँदै आएका थिए । तर अहिले पनि उक्त भवन सम्पन्न हुने कुनै आसा देखिएको छैन । २०७८ असार १८ गते सम्झौता भई काम सुरु भएको गुल्मी अस्पताल भवनको २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानिया जे.भी हेटौडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो ।
हालसम्म भवन निर्माणको भौतिक प्रगति ८५ प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीका सब इन्जिनियर अरविन्द्र चौधरीले बताए ।भवनको अहिले पेन्टिङ ,वायरिङ,आल्मुनियम लगाउने लगायतका काम भइरहेका छन् । चिसो मौसम,पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्य वृद्धि, गिटी बालुवाको अभाव र सामान ढुवानीमा समस्या भएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । पहिले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि दसैसम्म समय लाग्न सक्ने उनले बताए ।
गुल्मी अस्पतालमा रहेका भवनहरू साना र सेवाग्राही मैत्री नहुँदा समस्या हुँदै आएको छ । निर्माण व्यवसायीको ढिलासुस्ती हुँदा पनि यहाँका सरोकारवाला निकाय मौन रहनु जिल्लाका लागि सुखद पक्ष नभएको सेवाग्राहीले बताउँदै आएका छन् । भवनलाई जति सक्यो छिटो सम्पन्न गर्न नियमित खबरदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई सरोकारवालाहरुले आग्रह गर्दै आएको बताए पनि परिणाम भने देखिन सकेको छैन ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पटक पटक ताकेता गर्दै आएको बताएका छन् । जति ताकेता गरे पनि न्यून जनशक्ति लगाउने र काम पनि कछुवाको गतिमै भएको उनको भनाइ छ । बिहीबार अस्पताल विकास समितिको बैठक बस्दै भएकाले उक्त बैठकमा जोडदार रूपमा भवन निर्माणको विषय राख्ने गौतमले बताए । केही महिना पहिले गुल्मी क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य गोकर्णराज विष्टले निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै जतिसक्दो छिटो निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए ।
गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० वेडमा स्तर वृद्धि भएको थियो ,तर भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । भौतिक संरचनाको अभावका कारण सानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भएको गुल्मी अस्पतालले जनाएको छ ।