© 2026
पाल्पा, २३ जेठ ।
तानसेनको मुख्य सडकमा बनाइएका अस्थायी घर तथा टहरा हटाउँदा आक्रोशित बनेका स्थानीय यतिखेर भने नगर सरकारलाई प्रशंसा गर्न लागेका छन् । तानसेन नगर सरकारले कृषकद्वारा उत्पादित कृषि उपजको बजारीकरणका लागि सहयोग पुग्ने शुक्रबारका दिन हाटबजार सञ्चालन गरेपछि स्थानीयको यस्तो प्रतिक्रिया आएको हो ।
स्थानीय कृषकद्वारा उत्पादित मौसमी तथा बेमौसमी ताजा तरकारी कम मूल्यमा पाएपछि स्थानीयलाई सजिलो भएको छ । शुक्रबारको हाटबजारमा किसानहरु नै बेचबिखन गर्ने हुँदा बिचका बिचौलियाको चलखेल कम भएका कारण पसलमा राखिएका तरकारीको मूल्य भन्दा हाटमा पाइने तरकारीको मूल्य कम भएको स्थानीय जीवन कार्की बत्ताउँछन् ।
खुल्ला ठाउँ भएका कारण क्रेता र बिक्रेता दुवैलाई सहज भएको छ ।
यहाँ कृषक आफैले आफ्नो उत्पादित बिक्री गर्न पनि सजिलो भएको छ । यहाँ सहकारी मार्फत सङ्कलित तरकारी बिक्री गर्दा क्रेताका लागि प्रत्यक्ष रूपमा फाइदा पुगेको छ । बजारका पसलमा राखिएको तरकारी बासी र लागत मूल्य बढी पर्ने हुँदा हाटमा पाइने तरकारी मूल्य कम र ताजा भएको सबैको रोजाई हाट भएको स्थानीय बाल कुमारी खनाल बत्ताउँछिन् । तानसेन नगर सरकारले यस्ता बजारको दिगो रूपमा सञ्चालनका लागि व्यवस्था गरी दिनुपर्ने उनको सुझाव रहेको छ ।
बजारीकरणको समस्याका कारण कृषि उपज कर्ता भन्दा बिचमा रहेका बिचौलिया हाबी भए । नयाँ पुस्ताले वैदेशिक रोजगारी अपनाउन थाले । उनीहरूलाई आकर्षित गर्ने उद्देश्यले शुक्रबारको दिन मात्र यहाँ सुरुवात गरिएको हो । यो भन्दा राम्रो तरकारी बजारका लागि स्थायी संरचना भएकै ठाउँमा रूपान्तरण गर्ने हो । यो नगर सरकारले परीक्षणका लागि अभ्यास गरेको नगर सरकारका सूचना अधिकारी भरत आचार्य बताउँछन् ।
तानसेन नगर भित्रका अर्गली, बौघा गुम्बा, मदनपोखरा, पोखराथोक, बाझा जस्ता गाउँ बस्तीमा तरकारीको व्यवसायीक खेती हुँदै आएको छ । बौघा गुम्बाकी चेत कुमारी राना भन्दछिन् आफ्नै बारीमा आफैले दुःख गरेर उत्पादन गरेको तरकारी कहाँ बेच्ने हो भनेर अब छटपटाउन नपर्ने उनले बताइन् ।
आफू जस्ता साना–साना किसानलाई यस्तो बजारले सहयोग गर्नेछ । बिचौलियाको बाटो नहेरी आफै आफ्नो उत्पादन बजार मूल्य अनुसार बिक्री गर्न सकिनेछ । यस्तो बजारले साना–साना कृषि उत्पादनकर्ता र उपभोक्ता बिच प्रत्यक्ष सम्बन्ध पनि जोडिने भएको उनले बताइन् । आफ्नै बारीमा उत्पादन भएको हरियो साग शुक्रबारको तरकारी बजारमा उपभोक्ताको माग अनुसार पुराउन नसकेको अर्गलीकी विमला गैरे बत्ताउँछिन् ।
तानसेन बजारमा सङ्कलन केन्द्र भएको र नगर सरकारको समेत लगानी भएको ग्रामीण आर्थिक विकास सङ्घको व्यवस्थापन हेफर इन्टरनेशनलको सहयोगमा सञ्चालित मिलनसार कृषि सहकारीद्वारा सङ्कलित तरकारीकरणमा बजारमा यो हाट बजार अत्यन्तै फलदायी बनेको छ । यसका कारण मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने कृषकहरूको संख्या पनि बढ्दै गएको छ । कृषकमा थप ऊर्जा र हौसला सँग सँगै थपिएको सङ्घका निर्देशक लिला कार्की बत्ताउँछन् ।
हाट बजार सञ्चालन भएको ठाउँमा अस्थायी रूपका घर टहरामा पसलहरू थिए ।
दरबार परिसर भित्र पर्ने यी पसल पुरातात्त्विक विभागका कारण नगर सरकारले खाली गरेपछि निजी सवारीका साधनको पार्किङ‚ स्थल बनेको थियो । तरकारी, फलफूल बजारको लाई व्यवस्थित बनाउनको लागि प्रयास गरियो यो सफल भयो । यसलाई हालको ठाउँबाट नजिक पर्ने गरी घाम पानी बाट पनि सुरक्षित हुने गरी स्थानान्तरण गरिने नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठ बत्ताउँछन् । जहाँ अहिलेको सञ्चालन गरेको ठाउँ छ। त्यहाँ निश्चित सर्त राखेर स्थान उपलब्ध गराउने हो ।फोहर भए व्यापारी तथा बिक्रेताले नै व्यवस्थापन गर्नु पर्ने सर्तमा सडकमा हाट बजार सञ्चालनका लागि अनुमति दिएको प्रमुख श्रेष्ठले बताए ।