Butwal Today

छोरीलाई प्राविधिक  शिक्षामा जोड्दै बुटवल

२३ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

बुटवल २३ जेठ । 

मेकानिकल ईन्जीनियरिङ्ग र ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग क्षेत्रमा महिलाहरूको उपस्थिति कम भएपछि बुटवल उपमहानरले ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अभियान अन्र्तत छात्राहरूको लागि निःशुल्क दुई वर्षै तालिमको अवसर सुरुवात गरेको छ । बुटवलमा रहेको बुटवल टेक्निकल ईन्ष्च्युट मार्फत बुटवल उपमहानगरपालिकाभित्र रहेका वा अन्य स्थानबाट समेत बुटवलमा आएर अध्ययन गर्न चाहने छात्राहरूको लागि ‘‘छोरी पढाऔँ, समाज बनाऔँ” अन्तर्गत २ वर्षको लागि निःशुल्क अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेयका अनुसार पहिलो चरणमा २० जना मेकानिकल र २० जना ईलेक्ट्रीकल तर्फको प्रीडिप्लोमा तहको अध्ययनको लागि बिटिआईसंग सम्झौता गरी कार्यक्रम अगाडी बढाइएको छ ।
कक्षा १० सम्म अध्ययन पुरा गरेका एसइई पास, वा फेल जो कोहीले पनि यो कोर्ष अध्ययनको लागि आवेदन दिन सक्ने छन् । प्रीडिप्लोमा तहको यो अध्ययन पुरा गरेपछि जो कोही व्यक्तिले पनि रोजगार र स्वरोजगार हुने सम्भावना प्रवल भएको बुटवल टेक्निकल ईन्स्टिच्यूटका प्रमुख मनकाजी कुमाल बताउँछन् । उनका अनुसार यो विषय २ वर्षसम्म प्रयोगात्मक रूपमा हुने भएको कारण सोही अनुसार अध्ययन पूरा गरेका विद्यार्थीले नेपाल विद्युत् प्राधिकरण सहितका अन्य विद्युत् कम्पनी, निजी क्षेत्रमा समेत रोजगार प्राप्त गर्ने सम्भावना रहेको हुन्छ ।

१६ वर्ष पुरा भई ३० वर्ष उमेर पुगेका महिला वा पुरुषले यो कोर्ष अध्ययनको लागि आवेदन दिन सक्ने छन् । पूर्ण शुल्कमा विद्यार्थीले २ वर्षको ४२ हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ भने बुटवल उपमहानरपालिका भित्रमा छात्रा वा अन्य जिल्लाबाट पनि आएका छात्राहरूले मेकानिकल तर्फ २० जना र ईलेक्ट्रीकल तर्फ २० जना गरी कुल ४० जना छात्राले भने पूर्ण रूपमा निःशुल्क अध्ययन गर्न पाउने छन् । जसको लागि बिटिआईले भर्ना आवेदन पनि खुला गरिसकेको छ ।  प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०–२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।

दक्ष जनशक्ति अभाव र सीप सिक्न चाहनेहरूको सङ्ख्या धेरै भए पनि अहिलेका लागि ४० जना छोरीहरूलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेको र यसलाई नियमित रूपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने योजना पालिकाले बनाएको छ । उपप्रमुख सावित्रा देवी अर्यालले छात्राहरूको जनशक्ति उत्पादनमा जोड दिने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाऊ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम सुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रूपमा अगाडि बढ्ने छ ।

छात्राहरूलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मदत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।  बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेका अनुसार बुटवल टेक्निकल ईन्च्युटलाई बुटवल उपमहानगरपालिका अन्तर्गत ल्याउने गरी काम समेत अगाडी बढाइएको छ । संस्थाको स्थायित्व र सुदृढीकरणको लागि नीति तथा ऐन निर्माण गरी प्राविधिक थप विषय समेत थप गरी व्यवस्थित बनाउने गरी काम अगाडी बढाइएको छ ।

डिप्लोमा तहको ईन्जीनीयरिङ्गका विषयहरू र अटो भिलेजमा स्नातक तहको अध्यापन गराउने गरी काम अगाडी बढाइएको हो । बुटवल क्षेत्रमा प्राविधिक शिक्षालाई व्यवस्थित बनाएर प्राविधिक शिक्षाको शव बनाउने उद्देश्यअनुरूप बुटवल टेक्निकल स्कुललाई प्राविधिक शिक्षालय बनाउने अभियान सुरुवात गरिएको छ । लामो समयदेखि यस क्षेत्रमा प्राविधिक विषयमा अध्यापन गर्दै आएको बिटिआईलाई अहिले चलेका कोर्सलाई निरन्तरता दिँदै काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा यस क्षेत्रको आधुनिक प्राविधिक क्याम्पसका रूपमा बढाउने योजना अघि सारिएको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अगुवाइमा गत साउन २९ गते काठमाण्डौंमा यसको औपचारिक छलफल गरिएको थियो । आधुनिक बुटवलमा पुराउने, यहाँको औद्योगिक विकासको एक हिसाबले शिलान्यास गराएको प्रतिष्ठित संस्था बुटवल टेक्निकल ईष्टिच्युट (बिटिआई) मा इञ्जिनियरिङ विषयको अध्ययन सुरु गर्न काठमाण्डौं विश्वविद्यालय (केयु) सँग छलफल भएको मन्त्री पौडेलले बताएका थिए । काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङतर्फको आङ्गिक क्याम्पस बनाउने सम्बन्धमा छलफल गरी वातावरण निर्माण गर्ने काम भइरहेको उनले जनाएका छन् ।

यो छलफलमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा.भोला थापा, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय, पूर्व विद्यार्थीसमेत रहेका पोखरा निवासी हरि पाण्डेयलगायत सहभागी रहेका थिए । छलफलमा सहभागी बुटवलका मेयर पाण्डेयले यो कामले सार्थकता पाएसँगै बुटवलमा शिक्षा र प्रविधिको क्षेत्रमा एक अध्याय थपिने बताएका छन् । ‘मलाई आशा छ बिटिआईलाई आगामी दिनमा नयाँ ढङ्गबाट अगाडि बढाउन सकिने छ, अहिले यो विषय छलफलकै चरणमा रहेको छ, यो छलफलले अवश्य पनि भावी दिनमा सार्थकता पाउने छ र बुटवललाई प्राविधिक शिक्षाको हव बनाउन सकिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?