© २०२३
गुल्मी, २१ जेठ ।
महिला गर्भवती र सुत्केरी हुँदा अन्य समय भन्दा बढी पोषणयुक्त खानपानको आवश्यक पर्ने गर्दछ । यस समयमा स्वास्थ्यको अरु समय भन्दा बढी ख्याल गर्नुपर्ने चिकित्सकहरुले बताउँदै पनि आएका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाभित्र यो कार्यक्रम प्रभाकारी हुँदै गएको गाउँपालिकाले जनाएको छ ।
सुत्केरी अवस्थामा झोलिलो र पोषिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई लोकल भाले कोशेली स्वरुप लिएर भेट्न जाने गरेको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् ।
गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत पहिलो प्राथमिकतामा रैथाने लोकल भाले र लोकल भाले उपलब्ध नभएमा एक किलो घिउ लिएर भेट्न जाने गरेको उनले बताइन् । चालु आर्थिक वर्षको हालसम्म पालिका भित्रका ८० जना सुत्केरीलाई लोकल भाले र घिउ वितरण गरिएको छ । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोषिलो खानेकुराहरु खानुपर्ने, स्वास्थ्यको ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताइन् ।
यसका साथै परिवारका सदस्यहरुलाई पनि साथमै राखी स्वास्थ्यकर्मीहरुले स्वास्थ्यको बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
यस्तै गर्भवती महिलाहरुलाई सुत्केरी हुनुपूर्व दुई पटक पोषण प्याकेज वितरण गर्ने र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको स्वास्थ्य शाखाले जनाएको छ । पोषण प्याकेजमा एक क्यारेड अण्डा र चना दिने गरिएको छ । यसका साथै सफा र सुग्घर रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सावुन र नङकट वितरण गर्ने गरिएको थापाले बताए ।
गर्भावस्थामा पोषणसहित र सुत्केरी पश्चात भाले लिएर गाउँपालिका आउँदा स्थानीय सरकार आफूहरुको साथमा रहेको अनुभूति भएको वडा नम्वर ७ भुर्तुङकी सुत्केरी मीना क्षेत्रीले बताइन् ।
घरमा आर्थिक अवस्था राम्रो भएकाहरुलाई भन्दा पनि आर्थिक अवस्था कमजोर भएकाहरुलाई यस कार्यक्रमले ठुलो राहत मिल्ने गरेको उनको भनाइ छ । यसका साथै पोषणमा थप सुधार गर्न र यस कार्यक्रमलाई निरन्तरता दिइराख्न अर्की सुत्केरी सपना थापाले स्थानीय सरकारलाई आग्रह गरिन् ।
गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रम प्रभावकारी बनेको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले बताएका छन् । यस कार्यक्रमले पोषणमा थप सुधार ल्याउने, गर्भावस्थामा नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नका लागि थप टेवा पुग्ने गिरीले दाबी गरे ।
आगामी आर्थिक वर्षका लागि यसै कार्यक्रमलाई निरन्तरता दिँदै जाने गरी आफूले योजना बनाएको उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले बताइन् । यसका साथै ग्रामीणस्तरका महिलाहरुलाई आय आर्जनमा जोड्नका लागि पनि पालिकाले प्राथमिकता दिएको उनको भनाई छ । महिलाहरुलाई चुलो चौकोमा मात्रै सीमित नगराई व्यावसायिक रुपमा कृषि र पशुपालनमा जोड्दै आयआर्जनमा वृद्धि गराउने गरी पालिका लागेको दर्लामीले बताइन् ।