© २०२३
नेपालगन्ज, २१ जेठ ।
बाँकेको राप्ती सोनारी ३ स्थित प्रसिद्ध धार्मिक स्थल भूवरभवानी मन्दिरमा ४९ गाउँका थारु समुदायले सामूहिक पूजा गरेका छन् । यो पूजा पहिलो पटक गरिएको भने होइन । बाघ भालु लगायतका वन्यजन्तुको आक्रमण नहोस् भन्ने कामना गर्दै सदियौँदेखि पूजा गर्दै आएको थारु समुदायका अगुवाहरू बताउँछन् । वर्षमा दुई पटक जेठ र मङ्सिर महिनामा सामूहिक रूपमा पूजा गर्दै आएको राप्ती सोनारी ३ गलराबाजका ६१ वर्षीय भेदु थारुले बताए । उनका अनुसार जेठमा गरिने सामूहिक पूजालाई थारु भाषामा धुर्या पूजैया तथा मङ्सिरमा गरिने पूजालाई लवाङ्गी पूजैया भन्ने गरिन्छ । उनले भने, ‘यो पूजा कहिले र कुन तिथि मितिबाट सुरुवात भएको हो भन्ने एकिन जानकारी छैन तर, हाम्रा बाउ बाजेको पालामा पनि यो पूजा गरिन्थ्यो भन्ने मलाई बचपनदेखिको सम्झना छ ।’ बाँकेको साबिक बैजापुर, विनौना र कचनापुर गाविस अन्तरगत पर्ने ४९ वटा गाउँका थारु समुदायले सदियौँदेखि यो पूजालाई निरन्तरता दिँदै आएका छन् ।
राप्ती सोनारी ५ बन्जरीयाका ६५ वर्षीय सुक्खु थारुले यो पूजा राजी समुदायका एक जना गुर्वाले सुरुवात गरेपछि बाघ, भालु लगायतका वन्यजन्तुबाट हुने जोखिम कम भएको बताउँछन् । उनी भन्छन्, ‘यस क्षेत्रमा पहिलो पटक बस्ती बसाल्ने क्रममा दैनिक रूपमा बाघले मान्छे खान थालेपछि राजी समुदायका गुर्वाले एउटा काठको खम्बा गाडेर पूजा गरे, बाघले मान्छे खान छोड्यो अनि यहाँ मानव बस्ती बस्न सफल भयो ।’ राज गुर्वाले हाल भूवर भवानी मन्दिर रहेको स्थान, समय भवानी र कोटही देवी मन्दिर रहेको स्थानमा एकै साथ पूजा गरेको थारु समुदायका गुर्वाहरूले बताउँदै आएको उनले सुनाए । उनले भने, ‘अहिले सम्म राजी समुदायका गुर्वाहरूको बान–धुप नै पूजैयामा प्रयोग गरिन्छ ।’
साविक बैजापुर गाविसका पूर्व अध्यक्ष ७६ वर्षीय तुलसीराम थारुले पनि भेदु र सुक्खु थारुले भने जस्तै भूवरभवानीको इतिहास बारे मिल्दोजुल्दो कुरा सुनाए । भूवर भवानी मन्दिरको विषयमा विभिन्न खोज अनुसन्धानका अनुसार १७ औँ शताब्दीदेखि नै थारु समुदायले पूजा गर्न थालेको उनले उल्लेख गरे । उनका अनुसार यस क्षेत्रमा मानव बस्ती बस्ने क्रममा बाघ भालुले मानिस र पशु चौपाया नखाएको दिनै थिएन, जङ्गलको बिचबाट बगिरहेको राप्ती नदीमा माछा मार्दै गरेका राजी समुदायका एक दम्पती भेटिए । ती दम्पती दिनभरि माछा मारेर जङ्गलमै बास बसेको देख्दा स्थानीय थारु समुदाय अचम्मित भए ।
बाघ भालुको त्रास देखाएर गाउँमा बास बस्न आग्रह गर्दा पनि राजी दम्पती जङ्गलमै बस्ने अडान लिए । महिनौँ दिन सम्म पनि ती राजी दम्पतीलाई बाघ भालुले नछोएको र गाउँमा मानिस तथा पशु चौपायालाई बाघले सखाप पार्न थालेपछि राजी दम्पतीले नै काठको खम्बा गाडेर बाघ भालुले क्षति नगरोस् भन्ने कामना सहित पूजा गरिदिएको कथन रहेको छ । थारु समुदायलाई त्यसै गरी पूजा गर्न सिकाएको बताउँदै उनले भने, ‘जनजाति अन्तर्गत पर्ने राजी समुदाय हाल बर्दियाको बाँस गढी र रम्मापुरमा छन्, हामी बर्दिया गएर राज गुर्वाबाट बान–धुप ल्याएर वर्षमा दुई पटक सामूहिक पूजा गर्दै आएका छौँ ।
भूवर भवानी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका तुलसीरामले भने, ‘यो सदयौंदेखि चल्दै आएको पूजामा सुँगुर, बोका, भेडा र भालेसहित ७ वटा बली दिने गरिएको छ ।’ पूजामा चाहिने सबै सामाग्री ४९ वटा गाउँका थारु समुदायले मिलेर जोहो गर्ने गर्दछन् । धु¥या पुजैया र लवाङ्गी पूजैयामा एउटै कामना गरिने भए पनि लवाङ्गी पूजैयाको महत्व धेरै रहेको उनले बताए । उनका अनुसार लवाङ्गी पूजैयामा ४९ वटै गाउँका गुर्वाहरू जम्मा भएर पूजा पाठ गर्नुका साथै देवता चढेर रात भरी गुर्वाको शरीर काँप्ने गर्दछ, अनि बिहान मात्र पूजा सम्पन्न हुन्छ ।
स्थानीय थारु समुदायका ज्येष्ठ नागरिकहरूका अनुसार भूवरभवानी मन्दिर रहेको स्थानमा पहिले काठको खम्बा मात्र थियो । विक्रम सम्वत २०१३ साल पछि मात्र सोही ठाउँमा स्थानीयले मन्दिर स्थापना गरेको मन्दिरका पूजारी ७७ वर्षीय वलराम रेग्मीले बताए । उनले भने, ‘मन्दिर स्थापनाकालदेखि म यहीँ छु, यो पूजा प्रत्येक वर्ष चल्दै आएको छ ।’
मन्दिरमा पहिले थारु समुदायकै देवताका मूर्ति राखिएको र थारु समुदायकै पुजारीमार्फत पूजापाठ गर्ने गरेको उनको भनाई छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्य मन्त्री डिल्ली चौधरीले पनि आफ्नो कार्यकालमा बाघमा सवार देवीको मूर्ति भूवर भवानी मन्दिरमा स्थापना गरेको उनले जानकारी दिए । पछिल्लो समय अन्य देवी देवताको मूर्ति राखेर अन्य समुदायले पनि पूजा गर्न थालेका छन् । अहिले थारु समुदायका देवताको मूर्तिलाई अन्य मूर्ति भन्दा पछाडि रातो कपडाले छोपेर राखिएको छ । पछिल्लो पीढीलाई उक्त मन्दिरमा थारु समुदायका देवताको मूर्ति छ भन्ने समेत जानकारी छैन । उनले भने, ‘पहिले यहाँ थारु बाहेक अन्य समुदाय थिएनन् अहिले पो यो मन्दिर सबै समुदायको धार्मिक आस्थाको केन्द्र बनेको छ ।’ जेठमा गरिने पूजा थारु समुदायले गत शनिवार सम्पन्न गरेका छन् ।
बाँकेको ऐतिहासिक वागेश्वरी मन्दिर पछि भूवरभवानी मन्दिर पनि परिचित छ । जेठ र मङ्सिरमा थारु समुदायले विशेष पूजा गरे पनि उक्त मन्दिर अहिले सबै समुदायको आस्थाको केन्द्र बनेको छ । अन्य समयमा सबै समुदायका मानिसहरूले पूजा गर्दै आएका छन् । माघे सङ्क्रान्तिमा भारतीय भक्तजनहरू पनि ठुलो सङ्ख्यामा मन्दिर दर्शन गर्न आउने गर्दछन् ।