© २०२३
गुल्मी,२० जेठ ।
गुल्मीको एक गाउँपालिकाले नागरिकमैत्री नीति निर्माणका लागि सरोकारवालाहरूसँग सुझाव माग गरेको छ । यहाँको रुरुक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि नागरिकमैत्री नीति तथा बजेट निर्माणका लागि सुझाव माग गरिएको जनाएको छ ।गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार सरोकारवालाहरूसँगको सुझावले पालिकालाई कस्तो बनाउने भन्नुका साथै नीति तथा बजेट निर्माणमा थप टेवा पुग्ने भएकाले सुझाव माग गरिएको बताए । प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने उनको भनाइ छ ।
सुझावका लागि पालिकाले जेठ २२ गते पालिकाको सभा हलमा आम सरोकारवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी राय सुझाव सङ्कलन गर्ने कार्यक्रम तय भएको पालिकाले जनाएको छ । सो कार्यक्रममा राजनीतिक दलहरू,पूर्व जनप्रतिनिधि, पूर्व कर्मचारी, टोल विकास संस्था, उद्योगी व्यवसायी, कृषकहरू, सङ्घ संस्थाहरू, सञ्चारकर्मी, समाजसेवी तथा आम नागरिकहरूलाई महत्त्वपूर्ण राय सुझाव राखी दिनका लागि आग्रह गरिएको छ ।
यसैबिच चन्द्रकोट गाउँपालिकाले पनि पालिका भित्रका नागरिक तथा सरोकारवालाहरूसँग सुझाव माग गरेको थियो । पालिकाका सूचना अधिकारी शिव ज्ञवालीका अनुसार प्राप्त राय सुझावहरूलाई अभिलेखीकरण गरी राखिएको र सोही अनुसार नीति निर्माण र बजेट बनाइने बताए । स्थानीय आवश्यकतालाई बढी ध्यान दिएर नीति बनाउनुका साथै सोही अनुसार बजेट निर्माण गर्नका लागि सुझाव आएको उनको भनाइ छ ।