© २०२३
गुल्मी, १३ जेठ ।
पहिले सामान्य कामका लागि पनि सदरमुकाम तम्घास धाउनु पर्दथ्यो । गाउँमा विकासका योजना माग्न वा प्रशासनिक कामका लागि पनि ।
पछिल्लो समय गाउँगाउँमा सिंहदरवार आयो भने सबै काम स्थानीय तहबाट सहजै रुपमा प्राप्त हुन थाल्यो । पहिले र अहिले गाउँको विकासले छलाङ् नै मारेको भए पनि गाउँबाट बसाइँसराइको दर भने घट्ला भन्नेमा ठिक विपरीत हुँदै गएको छ ।
गाउँका कृषियोग्य जमिनहरु धेरैजसो बाँझै छन् । वसाइँसराइले गाउँबस्ती रित्तिदै जाँदा घरमा ताला लगाउने र केही घरहरुमा वृद्धवृद्धाहरुवाहेकका अन्य देखिन छाडेका छन् । गाउँमा केही काम परेमा युवाहरु भेटिदैनन् । युवाहरु प्रायः वैदेशिक यात्रामा छन् भने केही स्वदेशमा भएका पनि शहरमा छन् । यसरी हेर्दा अहिले गाउँमा विकास हुँदै जाँदा गाउँ भने सुनसान जस्तै बन्दै गएका छन् ।
पहिले कालीगण्डकी गाउँपालिकाबाट हिंडेर सदरमुकाम तम्घास जानुपर्दथ्यो । पछि केही विकास हुँदै गए पनि तीन जिल्लाको बाटो भएर तम्घास जाने बाध्यता थियो । नागरिकता बनाउन जानका लागि पनि न्यूनतम तीन दिनको समय मिलाएर जानु पर्ने बाध्यता थियो । अहिले कालीगण्डकी करिडोर खुलेपछि निजी सवारी साधनमा तीन घण्टामा सहजै सदरमुकाम तम्घास पुग्न सकिन्छ भने सबै काम सके दिउँसो नै घर फर्किन पनि सहज छ ।
अहिले यस क्षेत्रमा करिडोर कालोपत्रेको काम भइराखेको छ । प्रत्येक गाउँका बस्तीबस्तीहरुमा सडक र विद्युत पुगेको छ भने खानेपानीको पहुँच पनि पुगेको छ । यसका साथै स्वास्थ्य सुविधालाई पनि थप प्रभावकारी बनाइँदै लगिएको गाउँपालिकाले जनाएको छ । तर गाउँपालिकाबाट बसाइँसराइ गर्नेको दर भने घट्न सकेको छैन ।
गत आर्थिक वर्ष गाउँपालिकाका १५६ परिवारले गाउँ छाडेका थिए । गत आर्थिक वर्षको असार मसान्तसम्म गाउँपालिकाबाट एक सय ५६ परिवारका पाँच सय ४६ जना बसाइँसराइ गरी गएको गाउँपालिकाले जनाएको छ । पालिका भित्रका सातवटा मध्ये सबैभन्दा बढी वडा नम्वर २ अर्वेनी र वडा नम्वर ६ खडगकोटबाट ३२ घरपरिवारले बसाइँसराइको प्रमाणपत्र लगेका छन् । वडा नम्वर १ बाट १९, २ बाट ३२, ३ मा नौ, ४ मा १५, वडा नम्बर ५ मा २४, ६ मा ३२ र ७ मा २५ परिवारले बसाइँसराइ गरी गएको गिरीले बताए । एक वर्षमा पालिका भित्र छ परिवारका १४ जना अन्यन्त्रबाट बसाइँ सरी आएको आफूहरुको तथ्याङ्कमा रहेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षको हालसम्म गाउँपालिकाबाट बसाइँसराइ गरी ९१ घरपरिवारले गाउँ छाडेको पालिकाको पञ्जिकरण शाखाले जनाएको छ । शाखाका अनुसार ९१ घरपरिवारका ३४८ जनाले बसाइँसराइ लगेको जनाएको छ । यस अवधिमा आठ घरपरिवारका ३९ जना अन्यन्त्रबाट बसाइँ सरी पालिका भित्र आएका छन् ।
चालु आर्थिक वर्षको हालसम्म वडा नम्वर १ बाट १३ घरपरिवारका ६९ जना, २ बाट १७ परिवारका ७४ जना, ३ बाट छ परिवारका ३० जना, ४ बाट नौ परिवारका ३५ जना, ५ बाट १२ परिवारका ३५ जना, वडा नम्बर ६ बाट १६ परिवारका ४९ जना र ७ बाट १८ परिवारका ५६ जना रहेको गाउँपालिकाले जनाएको छ ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले गाउँमा विकास हुँदै जाँदा पनि बसाइँसराइको दर भने घटाउन नसकिएको बताएका छन् । पहिले भन्दा अहिले गाउँमा धेरै विकास हुँदा पनि बसाइँसराइ भने रोक्न नसकिएको उनको भनाइ छ ।
गाउँका प्रत्येक टोलमा सडक, खानेपानी, विद्युत, स्वास्थ्य र शिक्षाको सुविधा हुँदा पनि बसाइँसराइ रोकिएको छैन । बसाइँसराइ रोक्नका लागि गाउँमै ब्यावसायिक कृषि र पशुपालनमा जोड दिँदै आएको थापाले बताए ।
कृषि र पशुपालनलाई ब्यावसायिक गराइ बसाइँसराइ रोक्न सकिन्छ की भन्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान प्रदान गर्ने नीति गाउँपालिकाले लिएको छ । यस्तै फलफुलका बिरुवा रोपण गर्नेलाई खाडल खन्न अनुदान दिने र उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने गरी पालिकाले नीति तथा कार्यक्रम बनाएर बजेटको समेत ब्यबस्था गरेको र आगामी वर्षका लागि सोही अनुसारको योजना बनाएको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए ।