© २०२३
गुल्मी, २ जेठ ।
गुल्मीको एक गाउँपालिकाले एकैसाथ ५६ जना कर्मचारीहरुलाई बिदाइ गर्ने निर्णय गरेको छ । मालिका गाउँपालिकाले पालिका भित्रका २६ जना शिक्षक, १४ जना वालविकास सहजकर्ता , स्वास्थ्यका नौ जना र कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर सात जना गरी कुल ५६ जनालाई एकै साथ बिदाइ गर्ने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालका अनुसार कानून विपरित अघिल्लो सरकारको पालमा भर्ती गरिएका उनीहरुलाई वैशाख २३ गतेको कार्यपालिका बैठकबाट बिदाइ गर्ने निर्णय गरिएको जानकारी दिए । सङघीय र प्रदेश कानून विपरीत रहेका कर्मचारीहरुको बारेमा महालेखाले पटक पटक वेरुजु लेखेका कारण र कानून विपरीत नियुक्ती गरिएकाले बिदाई गर्न बाध्य भएको उनको भनाइ छ । लुम्बिनी प्रदेश सरकारको स्थानीय सेवा ऐन २०८१को दफा आठ अनुसार आफूहरुले कानून कार्यान्वयन गरेको अर्यालको दाबी छ । यसमा आफूहरुको कुनै राजनीतिक स्वार्थ नभइ कानून मात्रै पालना गरेको उनको भनाइ छ ।
यता अघिल्लो स्थानीय सरकारका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले भने राजनीतिक आधारमा कर्मचारीहरुलाई बिदा गर्ने निर्णय गरिएको आरोप लगाएका छन् । आफूहरुको पालामा गाउँका दुर्गम स्थानहरुबाट स्वास्थ्य सेवा लिन समस्या भएका स्थानहरुमा सामुदायीक स्वास्थ्य केन्द्र स्थापना गरिनुका साथै माध्यमिक स्तरमा दरबन्दी नभएका ठाउँहरुमा गणित,अँग्रेजी र विज्ञानका शिक्षकहरु राखिएको उनको दाबी छ ।
यो कुनै राजनीतिक दलको भर्तीकेन्द्र नभइ स्थानीय आवश्यकतालाई पहिचान गरि दरबन्दी सृजना गरिएको हो । अहिलेको सरकारले विद्यालयहरु धरासायी बनाउने र नागरिकहरुले सहज रुपमा पाउँदै आएको स्वास्थ्य सेवालाई कटौती गर्न लागेको उनले बताए । लुम्बिनी प्रदेशका कुनै जिल्लाहरुमा नगरिएको कार्य यहाँको वर्तमान स्थानीय सरकारले गरेको भन्दै कानूनसँगै ब्यवहारीकता पनि हेर्नुपर्नेमा उनले जोड दिए ।
केही समय अगाडि गुल्मीकै कालीगण्डकी गाउँपालिकाले पनि पालिका र विद्यालयले राखेका शिक्षकहरुलाई एकै साथ बिदाइ गरेको थियो । सो गाउँपालिकामा पनि शिक्षकहरुलाई दिइएको तलबमा महालेखाले पटक पटक वेरुजु लेख्दै आएको थियो ।