© २०२३
बुटवल, १७ बैशाख ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मोतिगञ्जका अधिकांस किसानले मकै लगाउने समयमा खेत यत्तिकै बाँझो हुन्थ्यो, कुनै–कुनै किसानले पशु चौपायालाई दानाको लागि र घरमा केही मात्रामा उपभोग गर्ने गरी मकै रोपे पनि त्यसले व्यवसायीकरण लिन सकेको थिएन् । आज भन्दा ४ बर्ष पहिला यो अवस्था देखेपछि बुटवल उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कृषि अधिकृत सन्तोष जिसीले बुटवल १४ को मोतिगञ्ज क्षेत्रलाई मकैको हव बनाउने गरी योजना बनाए । सोही अनुसार संघीय सरकारले पनि मकै पकेटको क्षेत्रको लागि कार्यक्रम ल्यायो ।
अनि जन्मीयो मिलीजुली कृषक समुह । १६ जना किसानको ७ विघा क्षेत्रफलबाट मकै खेती सुरुवात गरिएको उक्त कार्यक्रमको व्यवस्थापन, चाहिने यन्त्र तथा उपकरण, प्राविधिक सीप, मकैको बीउ लगायतमा अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना को मकै पकेटबाट आउने भयो । जसको लागि न्युतम पनि २० हेक्टर करिव ३० विघा क्षेत्रफल चाहिने भएको कारण गठन भएको मोतिगञ्ज मकै पकेट सञ्चालक समितिले क्षेत्र विस्तार गरी वडा ननम्बर १९ पनि समावेश गरियो ।

मकै पकेट ३ बर्ष सम्म सञ्चालन भएपछि संघीय सरकारबाट पैसा आएन । बुटवल उपमहानरपालिकाले यसलाई निरन्तरता दिएको छ । मकै पकेट सञ्चालन समतिका संयोजक मुरारी खनालका अनुसार अनुसार मकै पकेट ३ बर्ष सम्म चलेपछि हट्ने अवस्थामा किसानहरूको एक मत, पालिकाबाट पनि भएको सहयोगको कारण अहिले ४२ विघा भन्दा बढिमा मकै खेती भैरहेको छ । गत बर्ष किसानहरूले ४२ विघा क्षेत्रफलमा मकै खेती गरी ५० देखि ५५ लाख रूपैयाँ आम्दानी गर्न सफल भएको संयोजक खनालको भनाई छ । यो बर्ष अहिले पनि धमाधम हरियो मकै बजारीकरण भैरहेको अवस्थामा किसानले ६० देखि ६२ लाख रूपैयाँ बढि आम्दानी गर्ने लक्ष्य लिएको संयोजक खनालको भनाई रहेको छ ।
अहिले उत्पादन हुने मकैको लागि किसानले गत बर्षको कार्तिक १५ देखि मंसिर १५ भित्र मकै रोप्ने गर्दछन् । मकै खेतीको लागि किसानले परियोजना मार्फत भएको आम्दानीबाट मकै रोप्ने मेसिन समेत खरिद गरेका छन्, मकै झार मार्ने विषादी, जैविक विषादी पनि पालिकाबाट सहयोग गर्दै आएको छ । बुटवल उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुुसार न्यूनतम पनि किसानले प्रति कठ्ठा १० हजार रूपैयाँ हरियो मकै विक्रिबाट आम्दानी गर्दै आएका छन् । व्यवसायीले घर घर नै मकै खरिदको लागि जाने गरेको छ ।
हरियो मकै विक्रि नभएमा किसानले त्यसलाई घोगाको रूपमा मकै छोडाएर बिक्री गर्दै आएका छन् । दाना उद्योगको साथै अन्य घरासयी प्रयोजन, पशु चौपायको आहाराको लागि समेत प्रयोग हुने भएको कारण मकै बिक्री नहुने वा घाटा लाग्ने भन्ने कुनै पनि कुरा नभएको किसान नै बताउँछन् । किसान समेत रहेका मकै पकेट सञ्चालन समितिका संयोजक मुरारी खनाल भन्छन्–‘उत्पादन जति भएपनि हुन्छ, बजारको समस्या छैन, जित पनि बिक्री हुन्छ । ’

मिलीजुली कृषक समूह मार्फत ७ विघा क्षेत्रफलमा मकै खेती गरिएको थियो । त्इसको विस्तार गरिएको हो । बुटवल उपमहानगरपालिका १४ मा जग्गा भएपनि सबै किसान नआएपछि जग्गा थप आवश्यक परेपछि १९ नम्बर वडामा ३० विघा मा क्षेत्रफलमा मकै खेती भैरहेको छ । ३२ जना किसानबाट सुरुवात भएको यो अहिले पछिल्लो समयमा ४२ जना किसान आवद्ध भएका छन् भने ४० विघा क्षेत्रफलमा मकै खेती भइरहेको हो ।
बुटवल लगायतका स्थानमा हरियो मकै चितवन, नवलपरासीबाट आउने गरेकोमा ४ बर्ष देखि बुटवलकै उत्पादन बुटवलमा प्रयोग हुने गरेको छ । विभिन्न होटलहरूमा स्वीटकनको रूपमा समेत प्रयोग हुनुको साथै मकै पोलेर विक्रि गर्ने व्यवसायी, घरमा उपभोगको लागि लैजाने उपभोक्ता सहित मकै स्वाथ्यको लागि उसुनेर समेत खान स्वादिलो हुन्छ ।
मोतिगञ्ज मकै पकेट सञ्चालन समितिले परियोजना मार्फत मकै छोडाउने मेसिन ३ वटा, सिड रिपर २०,२२ वटा, सुरक्षित विषादी छर्ने मेसीन १९, १८ वटा खरिद गरेर आलै पालो प्रयोग गर्दै आएको छ । समुहमा आवद्ध किसानहरू मध्ये न्युनतम ५ कठ्ठा, अधिकतम २ विघा क्षेत्रफलमा समेत किसानले खेती लगाएका छन् ।
कतिपय किसानले आफ्नो जग्गा नभएपनि जग्गा भाडामा लिएर पनि मकै खेती लगाएका हुन । हरियो मकै सिजनमा बढि उत्पादन हुने भएको कारण त्यसको बजारीकरणमा प्रतिस्पर्धा हुने भएकाले मकैको विविधीकरणको लागि समेत पालिकामा आवेदन आएको नगरपालिका कृषि शाखा प्रमुख सन्तोष जिसी बताउँछन् । यसको लागि पालिकाले मकैको केक, बनाउने, मकैको रोटी बनाउने, मकैको विष्कुट बनाउने गरी तालिम आयोजना गर्ने गरी योजना समेत बनाएको छ । यो बर्ष किसानले ६० देखि ६२ लाख रूपैयाँ आम्दानी गर्ने योजना बनाएका छन् ।