© २०२३
गुल्मी,१२ वैशाख ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर दुई अर्वेनीका शोभाखर न्यौपाने (बाबुराम)ले करिव दुई दशक भन्दा बढी काठमाण्डौमा बसेर होटल ब्यवसाय गरे । कालीगण्डकी करिडोर खुलेपछि गाउँ फकिएर करिडोरसँगै जोडिएको स्थानमा जग्गा खरिद गरी दुई करोड बढीको लागतमा सुविधा सम्पन्न पञ्चासे होटल एण्ड लज सञ्चालन गरे ।
अहिले पञ्चासे होटल एण्ड लजमा आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाइ बन्ने गरेको छ । कालीगण्डकी पोखरा आएका पर्यटकहरु करिडोर हुँदै बाग्लुङ,पर्वतको कुस्मा, मुक्तिनाथ र चीनको कोरला नाकासम्म विदेशी पर्यटकहरुको रोजाइ भएकाले पञ्चासेमा खाना खाने र रमाउनका लागि उक्त स्थान पनि पहिलो रोजाइमै पर्ने गरेको छ ।
अहिले करिडोरको बाटो खुलेपछि ब्यवसाय पनि राम्रो चलेकोमा आफू सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले करिडोरको बाटो कालोपत्रे भएकाले ब्यवसाय अझ राम्रो हुनेमा आफू ढुक्क रहेको उनी बताउँछन् ।यस्तै करिडोर खुलेपछि यस क्षेत्रको मुहार नै परिवर्तन भएको वडा नम्वर एक हर्मिचौरमा ओम शिलाजी ग्यारेज सञ्चालन गर्दै आएका चर्तुभुज पाण्डेले बताउँछन् ।
यस्तै कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका विष्णु पाण्डे पनि करिडोरको बाटोले गर्दा धेरै सहज भएको बताउँछन् । ब्यवसायीक रुपमा गाइ पालनका साथै चिया तथा नास्ता पसल सञ्चालन गर्दै आएका उनले गाँउमै र चिया तथा नास्ता पसलमा केही दुध दुध खपत हुने र बाँकी स्याङजाको मिर्मीमा लगेर बेच्ने गरेको बताए । यो सबै सम्भव भनेको करिडोरको बाटोले गर्दा भएकाले करिडोर यस क्षेत्रका लागि बरदान सावित भएको उनको भनाई छ ।
चट्टानसहितको भीर चार वर्ष पहिले नेपाली सेनाले बम विष्फोट गरी खोलेका ट्याक अहिले कालोपत्रेको काम भइरहेको छ । रिडी हर्मिचौर सडक खण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र हस्तान्तरणको कार्य बाँकी रहेको कालीगण्डकी करिडोर गौडाकोट,राम्दी मालढुङगा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । ६२ करोड ३६ लाखको लागतमा २०७७ साल भदौ १४ गते सम्झौता भई २०८१ साउनमा सम्पन्न गर्ने गरी शर्मा सगुन जेभीले उक्त कार्य गरेको खत्रीले बताए ।
यस्तै हर्मिचौर वलेवा खण्डको ४५ किलोमिटर सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्ने कार्य कालिका कन्ट्रक्सनले गरेको छ । कुल तीन अर्व ३३ करोडको लागतमा सम्पन्न हुने उक्त सडकको ८५ प्रतिशत भन्दा बढी भौतिक प्रगति भइसकेको र चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने कार्य सम्पन्न हुने खत्रीले बताए । कार्यालय र निर्माण ब्यवसायीबिच २०७९मंसिर २६ गते सम्झौता भई २०८२ मंसिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । निर्माण ब्यवसायीले तोकिएको समय अवधि भन्दा पहिले नै निर्माणको कार्य सम्पन्न गर्ने कार्यालयले जनाएको छ ।