Butwal Today

सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको अनुगमनका लागि विज्ञ टोली गठन गर्ने

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

काठमाडौं,२७ मंसिर ।

समस्या उन्मुख सहकारी संस्थाहरूको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ। यस टोलीले देशभरिका सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्नेछ। अर्थ मन्त्रालयले टोलीमा रहने सात जना विज्ञको नाम तय गरेर उनीहरूलाई प्रदेशहरूमा पठाउने प्रक्रिया शुरु गरेको छ, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

टोलीको नेतृत्व सहकारी मन्त्रालयका उपसचिवको हुनेछ, जसमा एक जना विज्ञ सदस्य, सहकारी विभागको एकजना प्रतिनिधि र सम्बन्धित प्रदेशको सहकारी रजिस्ट्रार पनि सहभागी हुनेछन्। साथै, प्रत्येक टोलीमा स्थानीय तहको सहकारी हेर्ने अधिकृत पनि रहनेछन्।

यसअघि १६ कात्तिकमा आयोजित बैठकले सातै प्रदेशका समस्या उन्मुख सहकारीहरूको अनुगमनका लागि टोली परिचालन गर्ने निर्णय गरेको थियो। यस निर्णय अनुसार, आर्थिक संकटमा रहेका सहकारी संस्थाहरूको यथार्थ स्थिति र जोखिमको मूल्यांकन गरी प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न हुनेछ।

समस्याग्रस्त सहकारीहरूको सम्पत्ति र दायित्व मूल्यांकन गर्न संघीय सरकारको व्यवस्थापन समिति गठन गरिएको छ, जबकि प्रदेश र स्थानीय तहका सहकारीहरूको व्यवस्थापनका लागि यस्तो समिति छैन। सचिव पोखरेलका अनुसार, यस टोलीले समस्याग्रस्त सहकारीहरूको स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?