Butwal Today

३ करोड बढी गैरकानूनी सम्पत्ति आर्जनमा यादव दोषी ठहर,६ महिना जेल

२३ असार २०८१, आइतबार
अ+
अ-

काठमाडौं,२३ असार ।  गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा शशिभूषण कुमार यादव सहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतको इजलास नं १ मा न्यायाधीश टेक नारायण कुंवर,रामबहादर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यादवसहित ४ जनालाई दोषी ठहर गर्दै ६ महिना कैद र बिगो बराबर ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयां जरिवाना तिराउने फैसला गरेको हो ।

प्रतिवादी शशिभूषण कुमार यादवको समग्र जांच अवधिको वैध आय र व्यय गणना गर्दा वैध आय ३ करोड, ४१ लाख ४४ हजार ९९६ रुपैया र खर्च ६ करोड ७१ लाख ९६ हजार ३३३ रुपैयां देखिन आएको फैसलामा उल्लेख छ ।

‘वैधानिक आयभन्दा व्यय ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयां बढी भएको देखिंदा प्रतिवादीले साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् हाल प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ को उपदफा १ बमोजिमको कसुर गरेकोले निजलाई सोही ऐनको दफा २० को उपदफा २ बमोजिम ६ महिना कैद र बिगो बराबर ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयां जरिवाना हुने ठहर्छ ’– फैसलामा भनिएको छ ।

साथै आरोपपत्रको उल्लेखित जफतको दावी लिएको सम्पतिबाट सोही ऐनको दफा २० (२) र दफा ४४ बमोजिम बिगो बराबरको सम्पत्ति जफत हुने पनि फैसलामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?