Butwal Today
अन्तर्वार्ताः लोकतन्त्र विशेष

‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’

१२ बैशाख २०८१, बुधबार
अ+
अ-

१८ औं लोकतन्त्र दिवसका अवसरमा शहीद नारायण पोखरेल क्याम्पस, रामापुर सैनामैनाका क्याम्पस प्रमुख प्राध्यापक हेमबहादुर थापा (हेमन्त) संग लोकतन्त्र वहालीका लागि भएको २०६२–६३ को दोस्रो जनआन्दोलनका बेला आम नागरिकले गरेका अपेक्षा र लोकतन्त्र वहालीपछिको अवस्था लगायत संविधानका कमी कमजोरीबारे न्युज बुटवलटुडेले गरेको कुराकानी:

हामीले चाहेको लोकतन्त्र कस्तो थियो ?

–सिद्धान्तः लोकतन्त्रमा जनताको अभिमत नीतिमा प्रतिबिम्बित हुन्छ, जनचाहना अनुरुप आएको नीति र विधिबाट देश चलेको हुन्छ । जनताको आवश्यकतालाई केन्द्र भागमा राखेर संचालन गरिने शासन प्रणाली नै लोकतन्त्र हो । जनता नै सर्वपरी हुने मान्यताका साथ शासन प्रणालीमा प्रत्यक्ष वा परोक्षरुपमा सहभागिता रहने, स्वतन्त्रता, समानता , विधिको शासन, बालिग मताधिकार, आवधिक निर्वाचन, सुशासन आदि विविध पक्षहरु प्रतिबिम्बित भएको शासन प्रणाली लोकतन्त्र हो ।

नेपालमा राणा शासन, पञ्चायती व्यवस्था, २०४६ सालको आन्दोलनपछि संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्र, माओवादी सशष्त्र युद्ध हुंंदै तत्कालीन विद्रोही माओवादी र सात दलबीचको सहमतिपछि २०६२ सालमा शुरु भएको शान्तिपूर्ण आन्दोलन १९ दिनसम्म चलेर २०६३ वैशाख ११ लोकतन्त्र बहाली भएको मानिएको छ ।

राजनतिक दलहरु मात्र होइन, नागरिक समाज, नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसियसन लगायतका व्यावसायिक संगठनहरूको सहभागितामा लोकतन्त्र बहाली भएको हो । लोकतन्त्रको आन्दोलनलाई साथ दिँदै गर्दा नागरिक समाज र स्वयं नागरिकले दलहरूसँग विगतका सत्ता स्वार्थको राजनीति नदोहो¥याउने प्रतिबद्धता खोजेका थिए । सत्ताको उन्मादमा लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिने गरी कानुन नबनाउने कसम खान लगाएका थिए । नागरिक स्वतन्त्रताको संरक्षण, वर्गीय, जातीय, लैङ्गीक र क्षेत्रीय समानता, राज्य र राज्य संचालन गर्ने व्यतिmका हरेक गतिविधिको पारर्दशिता,जवाफदेहिता चाहेका थिए । सामुहिक निर्णय प्रणाली सहितको लोकतन्त्र हामीले चाहेका थियौं । आत्मनिर्भरता, उत्पादनशिल स्रोतहरुमा सामुदायिक स्वामित्व र स्रोतहरुको परिसंघीय बाँडफाँड चाहेका थियौं । सारमा भन्नुपर्दा विगतका व्यवस्था र संविधानले दिन नसकेका नागरिकका हक अधिकार लोकतन्त्रले दिन्छ र व्यवस्था बदलिए जस्तै नागरिकको अवस्था पनि बदलिन्छ भन्ने अपेक्षा थियो ।

अहिले व्यवहारमा कस्तो छ लोकतन्त्र ?

–वास्तवमा अहिले हामीले व्यवहारमा कस्तो लोकतन्त्र अबलम्बन गरेका छौ भन्ने बुझ्नका लागि सिद्धान्त वा विचार होइन बरु दलहरुको संस्कार वा व्यवहारहरुको कसिमा राखेर हेर्नुपर्ने हुन्छ । दलहरु र नेताहरुले भाषणमा लोकतन्त्रको रटान लगाएपनि व्यवहार अधिनायकवादी र सस्तो लोकप्रियतामा रमाउने चरित्रका कारण नागरिकहरुमा राजनिति र राजनैतिक दलहरुप्रति बेचैनी, आक्रोश र घृणाभाव विकसित हुदै गइरहेको छ ।

संविधानले व्यवस्था गरेका लोकतन्त्रका केही सुन्दर पक्षहरु रहदा रहदै पनि लोकतान्त्रिक संस्कारको अभावमा लोकतन्त्रले सही काम गर्न नसकी जनगुनासाहरु बढ्दै गइरहेका छन् ।

२०६२÷६३ को जनआन्दोलनको लक्ष्य र स्प्रिट अनुसार राजनीति अगाडि बढेन । दल र नेताहरुले आन्दोलनका एजेण्डा कार्यान्वयन भन्दा पनि आफूलाई केन्द्रविन्दुमा राखेर निर्णयहरु गर्दा आम नागरिकमा लोकतन्त्रको अनुभुति हुन नसकेको हो कि भन्ने प्रश्न खडा भएको छ । राजतन्त्र फाल्नु मात्र २०६२÷६३ को जनआन्दोलनको उद्देश्य थिएन । राजनीतिक दल र नेतृत्वले हिजो २०४६ पछि भएका कमी–कमजोरी सच्याउने बाचा गरेका थिए । त्यसबेला सत्ताको फोहोरी खेलमा नलाग्ने प्रण गरेका नेतामध्ये गिरिजाप्रसाद र सुशील कोइराला बाहेक अहिले पनि सबै सक्रिय राजनीतिमा मात्रै होइन कि मूल नेतृत्व तहमै छन् । तर अस्वाभाविक सत्ताको खेलमा पनि उनीहरू नै छन् । संसदीय व्यवस्थामा देखिएको सत्ताको फोहोरी खेल कम गर्न भनेर नै संविधानसभाबाट बनेको संविधानमा विकल्प रहेसम्म संसद विघटन गर्न नपाउने व्यवस्था राखिएको हो ।

यस्तै सरकार बनेको पहिलो दुई वर्षमा अविश्वासको प्रस्ताव पनि दर्ता गर्न नपाउने प्रावधान राखियो । दुई वर्ष पुगेपछि फेरि सत्ताको फोहोरी खेलले नेपाली राजनीतिमा प्रवेश पायो । सत्तालिप्साको उत्कट मोहका कारण संसद विघटन जस्तो असंवैधानिक कदम उठाउन पनि तत्कालीन प्रधानमन्त्री केपी ओली पछि परेनन् । संविधानको मर्म अनुसार शासन प्रणाली अगाडि बढेको छैन । संविधानको बर्खिलाप हुने काम अहिले पनि रोकिएको छैन ।

संविधानले व्यवस्था गरेका आधारभूत अधिकारको समेत कार्यान्वयन भएन भने लोकतन्त्रले जनतालाई दिने डेलिभरी पनि शून्यप्रायः भयो । लोकतन्त्र व्यवस्थामा भयो व्यवहारमा हुन सकेन ।

राजनीतिक दल र नागरिक समाजका नजरमा राजनीतिक मुद्दा बाहेकका विषय परेको पाइँदैन । राजनीतिक दलदेखि सरकार संचालनको प्रक्रियासम्म संविधानले ग्यारेन्टी गरेको महिला सहभागिता सुनिश्चित हुनसकेको छैन । व्यवहारिक रुपमा नेपाल अहिले पनि पुरुष प्रधान समाज जस्तो देखिन्छ । यस्ता थुप्रै कमिकमजोरीका बाबजुद नेपालमा लोकतन्त्र छ तर यसलाई आंशिक लोकतन्त्र मान्न सकिन्छ, पूर्ण लोकतन्त्र भने मान्न सकिदैन ।

वर्गीय, जातीय, लिंगीय क्षेत्रीय उत्पीडनमा परेकालाई लोकतन्त्र आएको छ कि छैन ?

लोकतन्त्र केवल दलका नेता, आफन्त, धनाढ्य, टाठा बाठालाई मात्रै आएको रहेछ भन्ने आम भुईंमान्छेहरुको गुनासो छ । एकजना गरिब किसानको जिवनस्तरमा लोकतन्त्र प्राप्त गर्नु अघि र पछि तात्विक भिन्नता देखिदैन जबकी लोकतन्त्रको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव जिवनस्तरमा देखिनुपर्ने थियो । कुनै पनि राजनीतिक दलका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता छैन ।

शिक्षा र स्वास्थ्यलाई समेत राज्यको दायित्वभित्र राख्न नसक्दा लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठेका छन् । विद्यालय तहसम्म निःशुल्क शिक्षा भनिएपनि किन कार्यान्वयन हुन सकेको छैन ।

राज्यबाट पछाडि पारिएका वर्ग समुदायका लागि संविधानमा व्यवस्था गरिएको समानुपातिक आरक्षणको लाभ लक्षित वर्ग समुदायले पाउन सकेनन् । दलका नेता,तिनका आफन्त,ब्यापारी,धनाढ्यले पाए । करोड र त्यो भन्दा बढी मूलयमा समानुपातिक सांसद पद विक्रि भयो । राजनितिक व्यवस्थाको देखाइने आवरण र आवरणभित्रको वास्तविक स्वरुप बीचको ठूलो भिन्नताले गर्दा लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ । हरेक वर्ष लोकतन्त्र दिवस मनाउँछौ तर गरिब,जातिय र क्षेत्रिय उत्पीडनमा परेकालाई लोकतन्त्र साच्चै आभास हुन सकेको छैन ।

हाम्रो लोकतन्त्रले समानहरुबीचको समान प्रतिष्पर्धा हुने व्यवस्था गरेको छ कि असमानहरुबीचको समान प्रतिष्पर्धा ?

– समाजमा आर्थिक र सामाजिक असमनाता व्यापक छ । गरीब, दलित वा कमजोर वर्गको व्यक्ति, समुदाय शिक्षा, स्वास्थ्य,आवास र रोजगारीबाट बञ्चित छन् । तराईमा बसोबास गर्ने दलित सबैभन्दा बढी गरीब छन् । जो राज्यको स्रोत साधन भन्दा बाहिर रहेका छन् । पहाडमा छुवाछुतको कारणले नागरिकले सम्मानित जीवन बांच्न पाएका छैनन् । परिवारमा महिलाको निर्णय प्रकृयामा सहभागिता न्युन छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा गरिब, किसान,महिला, पिछडिएका क्षेत्र, दलित, मधेशी समुदायको पहुंच कमजोर छ । हाम्रो प्रत्यक्ष निर्वाचन प्रणालीले समानहरुबीचको समान प्रतिष्पर्धा गराउन सकेको छैन बरु अहिले असमानहरुबीचको समान प्रतिष्पर्धा भइरहेको छ ।त्यसैले चुनावमा करोडौं खर्च गर्न सक्नेहरु, पैसा बांड्न सक्नेहरुले मात्रै जित्ने अवस्था छ । यस्तो प्रणाली अन्त्य नगरेसम्म लोकतन्त्र केवल शब्दमा मात्र सीमित हुन्छ ।

इन्क्लुजन र पहिचानको अधिकारको अवस्था के छ ?

ः नेपालको संविधानले समानुपातिक,समावेशी र सहभागितामूलक सिद्धान्त अनुरुप विभेदरहित समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने भनेको छ । तथापी लैंगिक, जातीय, वर्गियरुपमा समावेशीकरण एकदमै कमजोर छ । राजनीतिक दल तथा अन्य निकायहरुमा महिलाको सहभागिता अत्यन्त न्युन छ । कुनै पनि राजनीतिक दलका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता छैन ।

जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व भएता पनि एकल जातीय दबदवा बढी देखिन्छ । वर्गीयरुपमा पछाडि परेका जनताको आवाज उच्च वर्गका व्यक्तिबाट बुलन्द हुन नदिने अवस्था छ । नेपालमा पहिचानको प्रश्न ऐतिहासिकरुपमा राज्य निर्माण प्रकृयासंग जोडिएको छ । राज्यको एकीकरणसंगै हाम्रा पहिचान पनि गुम्दै गएका तथ्य विगतका अध्ययनहरुले देखाएको छ । राज्यको पुनः संरचना गर्ने सवालमा पहिचान सबैको साझा सम्पत्ति हो भन्ने तथ्यलाई स्वीकार नगरी पुनः संरचना र नामाकरण गर्ने काम भयो । जसले गर्दा आज पनि कोशी प्रदेश लगायत अन्य प्रदेशमा समेत आवाज उठिरहेको छ । अरु प्रदेशहरुको नामाकरणमा पनि जसले पहिचानको अधिकारको आवाज उठाउंदै आएका थिए उनीहरु सन्तुष्ट छैनन् । अहिले भएका प्रदेशका नामाकरण राजा महेन्द्रको पञ्चायती व्यवस्था भन्दा फरक नभएको पहिचान पक्षधर शक्तिको धारणा अहिले पनि छ ।

हाम्रो संविधानमा कतै त्रुटी छन् कि , छन् भने बदलेर अघि बढ्न सक्छौं ?

नेपालको संविधान २०७२ उत्कृष्ट संविधान भनिएतापनि यसमा थुप्रै त्रुटीहरु देखिएका छन् । पहिलो कुरा त मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलको वहुमत आउन मुस्किल पर्ने भएकाले राजनीनितक अस्थिरताको कारण संविधान नै बनेको छ । अर्कोतर्फ केन्द्रको सरकार तलमाथि हुने वित्तिकै प्रदेश सरकारहरु पनि ढल्ने र नयां बन्ने अवस्था छ यो नि संविधानमा रहेको त्रुटिले हो । संविधानमा जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्न पाउने व्यवस्था भएमा सरकार बनाउने र ढाल्ने खेल बन्द हुनसक्छ । र राजनीतिक स्थिरता हुन्छ । प्रतिनिधि सभा निर्वाचनमा ३ प्रतिशत रहेको थ्रेस होल्ड प्रदेशमा १.५ प्रतिशत मात्र हुदा प्रदेशमा अस्थिरता आएको हुदा प्रदेशमा पनि ३ प्रतिशत बनाउने हो कि भन्नेतर्फ सोच्नुपर्ने भएको छ । अर्को महत्वपूर्ण कुरा भ्रष्टाचारमा संलग्न भएको पुष्टी भएकालाई अहिलेको भन्दा कडा कानून बनाउनुपर्ने टड्कारो आवश्यकता छ । संघदेखि प्रदेशसम्मका सांसद र मन्त्रीको संख्या अरु देशको तुलनामा नेपालमा अत्यधीक धेरै हो भन्ने छ, स्थानीय तह समेत गरी ३६ हजार जनप्रतिनिधिले कर्मचारीले जस्तै मासिक तलब बुझने विषय गलत छ । यो संख्यालाई आधा घटाउनुपर्छ भन्ने आवाज सांसदहरुबाटै आएको छ । प्रदेश संरचना चाहिन्न भन्ने आवाज पनि चर्कोरुपमा उठेका छन् । यस्ता धेरै विषयमा संविधान संशोधन गर्नपर्ने देखिएको छ ।

हाम्रो व्यवस्था र अभ्यासमा के कस्ता त्रुटीहरु छन्, जसलाई सच्याउनुपर्छ ?

नेपालको सन्दर्भमा हाम्रो व्यवस्था र अभ्यासमा देखिएका त्रुटीलाई हेर्दा प्रणालीगत, आचरणगत,दलगत समस्याहरु छन् । राज्य सञ्चालन गर्ने प्रणाली अत्यन्त झन्झटिलो र लामो भएको हुदा हाम्रो अभ्यास र व्यवस्थामा समसया आएको छ ।
राज्यका कान्यान्वयन तहमा रहेका अंगहरु सुशासन उन्मुख, पारदर्शी र जवाफदेही नभएका कारण समस्या छ । व्यक्तिगत आचरणको प्रभाव संस्थागत आचरणमा समेत पर्न जाने हुदा व्यक्तिगत आचरणहरु समस्याका रुपमा देखा परेका छन् । समग्र देशको स्वार्थ भन्दा पनि दलगत स्वार्थ हावी हुन गई हामीले ल्याएको व्यवस्थालाई अभ्यास गर्दा समस्या देखिएको छ । साथै राज्यका तीन अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकिकरणको सिद्धान्त वमोजिम सञ्चालन हुनु पर्नेमा कार्यपालिका मात्र सबैतिर हावी हुने गरेको छ । संसदले आफ्नो काम कारवाही प्रभावकारीरुपमा गर्न नसक्नु, संसद सरकारलाई जवाफदेही र उत्तरदायी बनाउन असफल भएको छ ।

संविधान बनाउने अथवा बदल्ने कामको नेतृत्व गर्ने दलहरु कहां चुकिरहेका छन् , राजनीतिक कोष सच्याउन के बदल्नुपर्छ ?

-प्रथमतः संविधान बनाउने र बदल्ने कामको नेतृत्व गरेका राजनीतिक दलहरुको बोल्ने बोली र व्यवहारमा एकरुपमता कायम नहुदा व्यवस्था कार्यान्वयनमा कमजोरी देखिएको छ । राजनीतिक स्वार्थ पुर्तिका लागि संविधानको मूल मर्मलाई नै बेवास्ता गरिएको छ । राम्रो भन्दा हाम्रो परिपाटीले गर्दा राजनीतिक दलहरु पटक पटक चुकेका छन् ।
राजनीति र राजनीतिक दलप्रति जनताको आशाको विरासत टुट्दै गएको छ । जसले गर्दा वर्तमानको राजनीतिक प्रणाली नै बेकामे त देखिएको त हैन भन्ने प्रश्न चिन्ह खडा भएको छ । यसको लागि सुशासन र पारदर्शिताको गन्तव्य बोकेर स्पष्ट दृष्टिकोण र परिकल्पनामा राष्ट्रको समग्र विकास झल्किने ढंगबाट राजनीतिक कोर्षलाई सच्याउनुपर्छ ।
प्रस्तुति : टिआर शर्मा