© 2026
गुल्मी, २८ फागुन । सुन्दा पनि अचम्मै लाग्ने नाम हो बिचित्र गुफा । गुफा भित्र देखिने विभिन्न चित्रहरूका हजारौं आकृतिहरूले सजिएर होला सायद उक्त गुफाको नाम नै बिचित्र गुफा रहेको छ । गुल्मीको सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका ५ अन्र्तगत बस्तुमा यो गुफा अबस्थित छ । बिचित्र गुफा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महवपूर्ण मानिन्छ । २०४५ सालमा गाउँमा बारीमा मकै खान गएको ढेँडुबाँदरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले उक्त गुफा पत्ता लगाएका हुन ।
विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बनेको थियो । तर पछिल्लो समयमा यसको प्रचार प्रसारमा स्वदेशमा मात्र नभई विदेशमा पनि हुन थालेको छ । त्यही प्रचार प्रसारका कारण बिचित्र गुफामा आज पहिलो पटक १७ जना बिदेशी पर्यटकहरूले गुफाको अवलोकन गरेका छन । विभिन्न समयमा संघ संस्थामा काम गर्ने विदेशी नागरिकहरू गुफा हेर्नका लागि आउने गरेपनि यो पटक पर्यटककै रूपमा गुफा हेर्नका लागि पहिलो फ्रान्सेली नागरिकहरू आई पुगेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।
धुर्कोट गाउँपालिकाको आग्रहमा अरबिन्द्र आश्रममा योग साधनाका लागि आएका उनीहरू आश्रमका गुरु रामचन्द्र भुसालको नेतृत्वमा फ्रान्सेलीहरूको टोलीले गुफाको अवलोकन गरेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए । उनले आश्रममा आएका विदेशी नागकिहरूलाई गुफा लगायत धुर्कोटका पर्यटकीय क्षेत्रको भ्रमण गराई एक रात धुर्कोटमा बास बसाउने ब्यवस्था गरिने बताएका छन । पहिलो पटक गुफा पुगेपछि फ्रान्सेली नागरिक मार्गट र सोफिया पनि दंग परेका थिए । उक्त ठाउँ निकै रमणीय र सुन्दर रहेको भन्दै आफूहरू स्वदेश फर्केपछि अरू साथीहरूलाई पनि यसको सुन्दरता र रमणीयताको बारेमा जानकारी गराउने बताए । गुफा भित्र देखिएका दृश्यहरू साह्रै आकर्षक कलाले सजिएको उनीहरूको भनाइ थियो । गुफा भित्रबाट निस्किएपछि विदेशी पर्यटकहरू भजनको गीतसँगै नाँचगान गरेर एक आपसमा खुसी साटासाट समेत गरेका थिए ।
करिव एक सय ८५ मिटर लम्बाई एवं तीन सय ५० मिटर चौडा भुभागमा गुफा फैलीएको छ । यति लामो भुभागमा फैलीएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारहरूको प्राकृतिक आकार देख्न सकिन्छ । त्यहाँका स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानकालागि पुगेको अबस्थामा ढेँडुवाँदरलाई लखेट्ने क्रममा उक्त ढेँडुवाँदर एकाएक पहरा (चट्टान) को वीचमा रहेको सानो प्वालवाट भित्र पसेको बताईन्छ । उक्त ढेँडुवाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको स्थानीय समाजसेवी तथा विचित्र गुफा संरक्षण समितिका पूर्व अध्यक्ष युवराज भण्डारीले बताए ।
शुरुमा स्थानीय दश वाह्र वजा स्थानीय मानिसहरू हातमा राँका र लाईट बालेर गुफाभित्र सामुहिक रूपमा छिरेका थिए । त्यसपछि त्यहाँ साच्चिकै गुफा रहेको भन्ने पत्ता लागेको थियो । स्थानीयहरूका अनुसार विक्रम संवत २०४५ सालको असार महिनामा गुफा पत्ता लागेको हो ।
गुफा बाहिरको प्रकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । शुरुमा गुफा पत्ता लगाउने कुरा त्यत्ति सजिलो थिएन । त्यहाँका स्थानीयहरूले निकै जोखिम मोलेर गुफा भित्र पस्ने गरेको आँटलाई यतिबेला सबैले मुक्त कण्ठले प्रशंसा गर्दछन । जसले गर्दा आज यो क्षेत्र ‘बिचित्र गुफा’ को नामले परिचत बनेको छ ।
गुफालाई संरक्षण गर्न एवं पूजाआजा गर्नको लागि स्थानीयहरूले सहयोग गर्दै आएका छन । गुफामा आएका आन्तरिक एवं वाह्य पर्यटकहरूलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने प्रचलन छ । गुफाको मुख्य ढोकाबाट प्रवेश गरेदेखि भित्ताहरूमा देखिने विभिन्न आकृतिहरूले मानिसहरूलाई टक्क अडिएर एकपटक वरिपरि नियाल्न बाध्य बनाउँछ ।
गुफाको आकर्षण स्वर्ग जाने बाटो
गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो । यो झनै महत्वपूर्ण मानिन्छ । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरू मात्र भित्र छिर्न सक्ने र पापी मानिसहरू भित्र छिर्न सक्दैनन भन्ने मान्यता छ । स्वर्ग जाने वाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर नै हो । त्यहाँ प्राकृतिक रूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ । त्यसदेखि अगाडी कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई बिचित्रताको अन्तिम दृश्यको रूपमा लिने गरिन्छ ।
जो मानिस त्यहाँ छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछन । गुफा भित्र रहेका विभिन्न जनावरहरूका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र संघबाट गरि दुई करोड भन्दा बढी रकम खर्चिसकिएको पालिका अध्यक्ष पोख्रेलले जनाकारी दिए । सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा पर्दछ । गुफा नजिकैसम्म पक्की सडक छ । पक्की सडकदेखि केही कच्ची सडकबाट सबारी साधनको माध्यमबाट पनि सजिलै गुफासम्मको पहुँच पुगेको छ । तर गुफाको महŒवको बारेमा भने अझै प्रचारप्रसार हुन नसकेको स्थानीयहरू बताउँछन ।