Butwal Today

एमाले गण्डकी अध्यक्षमा फराकिलो मतान्तरले प्यानलै सहित शर्मा विजयी

शर्मालाई उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितका नेताको र पराजित प्यानललाई महासचिव शंकर पोखरेल र नेता खगराज अधिकारीको साथ थियो ।
१९ आश्विन २०८०, शुक्रबार
अ+
अ-

पोखरा,१९ असोज । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्।

मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको दरिलो समर्थनसहित प्रतिस्पर्धामा होमिएका उनी यसअघि गठित आयोजक समितिको पनि अध्यक्ष नै थिए। अधिकारीको पक्षमा महासचिव शंकर पोखरेल र नेता खगराज अधिकारीले लबिङ गरेका थिए । उनीहरुले अध्यक्ष ओलीको निर्देशन विपरित शुरुमै प्यानल घोषणा गरेका थिए । शर्माले भने उम्मेदवारी दर्ताको केही समय अघि मात्रै प्यानल घोषणा गरेका थिए ।

उपाध्यक्षसहित सबै पदाधिकारी पनि उनीपक्षीय उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मत ल्याएर मतले विजयी बन्दा बाबुराम विकले ३४२ मत प्राप्त गरी पराजय बेहोरे।

सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए। कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आयो।

महिला उपसचिवमा मञ्जु अधिकारी ५३१ मतसहित विजयी बनिन्। उनकी प्रतिस्पर्धी कास्कीकी मीना गुरुङले ३६५ मतमा चित्त बुझाइन्। यस्तै अर्को उपसचिवमा कास्कीका दामबहादुर विक विजयी भए। उनले ५२० मत पाउँदा म्याग्दीका सन्तोष रावलले ३६७ मत ल्याए।