Butwal Today
मुख्य खबर

सांसदको खल्तीमा बजेट भर्ने बाटो खोज्दै लुम्बिनी प्रदेश सरकार

केन्द्रमा प्रतिनिधिसभा सदस्यलाई पाँच करोड सांसद विकास कोष विनियोजन भएपछि जसरी विरोध भइरहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशका सांसदलाई घुमाउरो गरी बजेट उपलब्ध गराउने तरखर भइरहेको छ ।
३० जेष्ठ २०८०, मंगलवार
अ+
अ-

लमही जेठ – लुम्बिनी प्रदेश सरकार वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, आर्थिक मामिला मन्त्री धनबहादुर मास्की छलफलमा जुटे पनि बजेट निर्माण पेचिलो बन्ने देखिएको छ ।
केन्द्रमा प्रतिनिधिसभा सदस्यलाई पाँच करोड सांसद विकास कोष विनियोजन भएपछि जसरी विरोध भइरहेको छ, त्यसैगरी लुम्बिनी प्रदेशका सांसदलाई घुमाउरो गरी बजेट उपलब्ध गराउने तरखर भइरहेको छ ।
प्रदेशसभा सदस्यलाई दुई करोड २५ लाख बराबरको योजना छान्न दिनेगरी बजेटले सम्बोधन गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै योजना छान्न दिने, समानुपातिक सांसदलाई सहभागी नगराउने तयारी भएपछि विरोध शुरु भएको छ । यसपालि समानुपातिक सांसदलाई योजना छान्न नदिने तयारी भइरहेको जानकारी पाएपछि समानुपातिक सांसदहरुले विरोध गर्न थालेका छन् ।
अघिल्लो पाली पनि प्रदेशसभा सदस्यलाई सांसद विकास कोष उपलब्ध गराउने तयारी भए पनि राम्रो सन्देश नजाने भन्दै सांसदलाई योजना छान्न लगाइएको थियो । अघिल्लो पाली प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड हाराहारीको बजेटमा पर्ने योजना छान्न लगाइएको थियो । समानुपातिकको हकमा एक करोड हुँदै ६० लाख सम्म झरेको थियो ।
८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा ३५ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित छन् । ५२ जना प्रत्यक्ष निर्वाचित छन् । जसमध्ये एकजना महिलामात्रै प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेशसभामा ३३ जना महिला सांसदको सहभागिता छ । महिला सांसदलाई बजेट बाँडफाँडबाट अलग गर्न खोजेको बुझाइ अधिकांशको छ ।लुम्बिनीमा समानुपातिक निर्वाचन प्रणालीबाट तीनजना पुरुष निर्वाचित भएका थिए ।
यता मुख्यमन्त्रीको सचिवालयले भने समानुपातिक सांसदलाई योजना छान्न दिने विषयमा बजेट कटौती नभई कसरी व्यवस्थापन गर्ने बारेमा गृहकार्य भइरहेको प्रतिक्रिया दिएको छ । समानुपातिक सांसदलाई योजना छान्न नदिने तयारी भइरहेको भन्दै सत्तारुढ दलका महिला सांसद समेत रुष्ट बनेका छन ।