Butwal Today
मुख्य खबर

हाटमा मिहिनेती महिला

बाँके र बर्दियाका थारु समुदायका महिलाहरु हरेक दिन बिहान नेपालगन्जमा रैथाने तरकारी बेच्न आउँछन् । यसले अन्य महिलालाई पनि केही गर्न हौसला त दिइरहेको छ नै रैथाने तरकारीको उत्पादन र बजार प्रर्बद्धनमा समेत टेवा पुर्याइरहेको छ ।
१ चैत्र २०७९, बुधबार
अ+
अ-

बाँके फागुन- हरेक दिन बिहान नेपालगन्जको सुर्खेतरोडमा थारु समुदायका महिलाले मात्रै लगाउने तरकारीको हाटबजारले धेरैको ध्यान खिच्छ । बाँके र बर्दियाको गाउँ–गाउँबाट थारु समुदायका महिलाहरु रैथाने जातको तरकारी बेच्न बिहान छ बजे नै सुर्खेतरोड आइपुग्छ् ।

सडक किनारमा लहरै लागेर बिक्री लागि राखेको तरकारी किन्न आउनेको भिड र आर्कषण पनि उत्तिकै छ । आठ बजेसम्म त्यसरी तरकारी बेचेपछि कोही घर फर्किन्छन् भने कोही बचेको तरकारी बेच्न बजारकै घर–घरमा पुग्छन् । थारु समुदायका महिलाले बेच्ने तरकारी स्थानीय जातका हुने भएकाले पनि किन्नेको आर्कषण पाईन्छ ।

‘मर्निङ्ग’ गर्दा सुर्खेतरोडमा तरकारी किन्न जहिल्यै पुग्ने ग्राहक हुन कृष्णप्रसाद श्रेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय समेत रहेका प्रतिष्ठित व्यवसायी श्रेष्ठ ‘लोकल’ जातको तरकारीहरु पाइने भएकाले आफु संधै आउने गरेको बताउँछन् ।

मंगलवार बिहान कालो जातको काउली किन्न आएका श्रेष्ठ भन्दै थिए,–‘भारतबाट आउने बिषादीयुक्त तरकारी खादाखादा वाक्क भइसक्यौं । थारु समुदायका महिलाले ल्याउने तरकारी लोकल हुन्छ र स्वादिष्ट पनि । आज पनि उहाँहरुले ल्याउने कालो खाले बन्दा किन्न आएको छु ।’

महिलाहरुले थारु समुदायमा मात्र लगाइने आलु, सिमी, बोडी, खुर्सानी बेच्न ल्याउँछन् । उनीहरुले बेच्ने आलुलाई थारु आलु समेत भनिन्छ । ‘यो पश्चिम तराईमा थारु समुदायमा लगाइने आलु हो । हेर्दा मसिनो तर असाध्यै स्वादिष्ट हुन्छ ।’–आलु किन्न आएका ग्राहक गेहेन्द्र केसीले भने । उनले थारु समुदायका महिलाले बेच्न ल्याउने गोलभेडा र सिमीको आफु पारखी भएको बताए ।

बाँकेको टिटिहिरिया र बर्दियाको बढैयातालबाट थारु समुदायका महिलाहरु तरकारी बेच्न नेपालगन्ज आउने गरेको नेपालगन्ज उपमहानगरपालिका–२ का पूर्व वडा अध्यक्ष सुनिलसिंह हमालले जानकारी दिए । केही महिलाहरु साईकल चढेर त केही बसमा बिहान तरकारी बेच्न आउँछन् । बढैयातालकी फुलमत थारुले यसरी तरकारी बेच्न आउन थालेको पाँच महिना भयो ।

उनी अघिल्लो दिन बारीबाट तरकारी टिपेर धोइधाई गरी पोको पार्छिन । बिहानै गाडीमा चढेर नेपालगन्जको सुर्खेतरोड आइपुग्छिन् । त्यतिन्जेल भोक मेटाउन रोटी र अचारसंगै ल्याउने गरेकी छन् । एक बिहानमा एक हजारसम्मको तरकारी बेचेर उनी फेरी घर फर्किन्छन् ।

‘पहिला तरकारी लगाए पनि बेच्ने ठाउँ थिएन । अहिले ठाउँ पाएका छौं बिहान दुई÷तीन घण्टा तरकारी बेचेर गुजारा चलाउनेसम्मको पैसा कमाई भइहाल्छ ।’ फुलमतिले भनिन्–‘अहिले नेपालगन्जमा हामीले ल्याएको तरकारी किन्नेको भिड लाग्छ ।’ टिटिहिरियामा त थारु समुदायका महिलाले समुह नै बनाएर तरकारी खेती गर्दै आएका छन् । त्यसरी समुहबाट उत्पादन भएको तरकारी पहिले खेर जाने गरेको बासमती थारुले बताइन । तर अहिले नेपालगन्ज ल्याउन थालेपछि राम्रै बजार पाइएको भन्दै बासमतीले भनिन्–‘अहिले बजार र मुल्य दुबै पाएका छौं ।’

गाउँमा उत्पादन भएका तरकारी एउटै थलोमा बेच्ने र किन्न सहज बनाउन नेपालगन्ज–२ का पूर्व वडा अध्यक्ष हमालले सहजिकरण गरिदिएका हुन । घर–घरमा पुगेर बेच्दा दुख हुने देखेर उक्त ठाउँमा बेच्ने वातावारण बनाइदिएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्–‘सडकको किनारमै भएपनि आवातजावतमा समस्या नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ । थारु समुदायका महिलालाई हिम्मत र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न पनि हामीले सहजिकरण गरिदिनुपर्छ ।’

थारु समुदायका महिलाले गरेको कामले अरुलाई पनि प्रोत्साहन गरेको बिबिसीमा कार्यक्रम पत्रकार बिमल चौधरी बताउँछिन् । ‘महिला आफैले लगाएको तरकारी आफै बजार खोज्दै हिडेका छन् यसलाई सरकारले पनि प्रोत्साहित गर्नुपर्छ ।’– चौधरीले भनिन् । थारु समुदायका महिलाले गरेको कामले अन्य महिलालाई समेत आर्थिकरुपमा सशक्त बन्न उत्प्रेरणा जगाउने उनको भनाई छ । तरकारी ब्यापारमा लागेका थारु महिलाहरुलाई रैथाने जातको तरकारी उत्पादनमा समेत प्रेरित गर्नुपर्ने होमस्टे एशोसियन नेपालका महासचिव कृष्ण चौधरी बताउँन् । रैथाने तरकारी एवं अन्नवाली संरक्षणमा समेत लागेका उनी भन्छन्–‘जुन बिश्वासले ग्राहकले थारु महिलाले ल्याएको तरकारी किन्नुहुन्छ त्यसलाई बचाइराख्नका लागि कृषक महिलाहरुलाई तालिम,आर्थिक सहयोग गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?