© 2026
चन्द्रौटा(कपिलवस्तु), फागुन – कपिलवस्तुको बाणगंगा नगरपालिकाका ओमनाथ थारु एक सर्वसाधारण हुन् । उनी केही समयदेखि रोजगारीका लागि विदेशिएका थिए । थारुलाई विगत केहि बर्ष पहिले अपरिचित व्यक्ति (उर्वशी) को नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको उनी बताउँछन् ।
साउदी अरेबिया रहेका थारुले उर्वशीलाई साथी बनाएर उनीहरु बीच दोहरो कुराकानी भयो । कुराकानीकै क्रममा उर्वशीले अमेरिकामा जागिर खुलेको सुनाइन् । जसमा थारु समुदायका व्यक्ति मात्र जान पाउने आशा देखाउँछिन् ।
ओमनाथ भन्छन् ः “अमेरिकाका लागि थारु समुदायका व्यक्तिलाई मात्र खोजेको छ । एग्रीकल्चरमा काम गर्ने हो भनेर मलाई आश्वासन दिइयो ।“ उनले थपे ः “सुरुमा उर्वशीको कुरामा विश्वास गरेन । लामो समयको कुराकानी पछि मासिक ५ लाख कमाई हुने आश्वान भयो । अमेरिका भिसा लाग्ने थुप्रै प्रमाणभएका कागजात देखाउन थालेपछि ओमनाथले उनको कुरा विश्वास गर्न थाले ।“
पैसाको अगाडि शिवको पनि त्रिनेत्र खुल्छ भन्ने उखानले सार्थकता पाए जस्तै साउदी अरेबियामा रहेका थारु मासिक ७० हजार कमाउँदै आएका थिए । उनी ५ लाख मासिक कमाउने आशामा एकाएक मोडिएर अमेरिका पुग्ने ओमनाथले सपना सजाएको उनले बताए । अमेरिकाको सपना देखेका ओमनाथसँग उर्वशीले ५ लाख माग्छिन ।
अरेबियाबाटै अमेरिका जानकालागि उनले भीम रानाको नाममा ५१ हजार पाँच सय रुपैया पठाएको ओमनाथले सुनाए । रानाले पैसा हातैबाट लिने अरु माध्यमबाट नलिने बताए पछि ओमनाथले श्रीमती रनियाँ थारुलाई ५ लाख रुपैया दिने भनेका थिए । ओमनाथको श्रीमतीले उक्त पैसा रानालाई हात मार्फत दिएको उनी बताउँछन् ।
केहि महिना पछि सबै काम मिलेकाले अमेरिका जान बोलाएपछि ओमनाथ राम्रो जागिर छाडेर अमेरिकाको सपनामा ओमनाथ नेपाल फर्किए । बीचमा फेसबुकमा उर्वशी(परिवर्तित), भीम रानासँगै विनोद भूसाल पनि जोडिएको उनले बताए । अमेरिकाको सपना बोकेर आएका आज भोलि भन्दै थारुको अमेरिका जाने अहिले सपना तुहिएको छ । अमेरिकाको सपना देखाएर दलालले आफूलाई ठगेको महशुस भएपछि उनले आफूले दिएको रकम तुरुन्त दिन आग्रह गरेका थिए ।
आफ्नो पैसा नदिए प्रहरीमा उजुरी गर्ने लगायत डर घम्की दिन थालेपछि उनको खातामा बिभिन्न व्यक्तिको नामबाट आफूले हातमा दिएको ५ लाख पैसा आएको ओमनाथले बताए । अमेरिका जान ५ लाख ५० हजार ५ सय रकम दिएका थिए । जसमध्ये ५ लाख पाएपनि बाँकि ५० हजार ५ सय रुपैया पाउँदैनन । ठगिनबाट बचेको ५ लाख मै चित्त बुझाएका उनले बाँकि रकम माया मारे । लगत्तै कोरोनाको महामारी आउँछ । वैदेशिक रोजगारीबाट फर्किएका उनी बेरोजगार हुन्छन । विभिन्न प्रयासकाबीच गत भदौमा उनी रोजगारीको लागि पुनः दुबई पुगेका थिए ।
पुनः ओमनाथ दुबई गएर राम्रै आम्दानी गरेको उर्वशी लगायतको टिमले थाहा भएपछि उनीहरुले ओमानाथाकी श्रीमती रनियाँलाई आफूहरुले खातामा हालिदिएको ५ लाख फिर्ता गर्न भनि पटकपटक फोन गर्दै दबाब आउँछ । आफ्नो पैसा फिर्ता नदिए प्रहरीमा उजुरी दिने, बेइज्जत गरिदिने उनीहरुले धम्की र मानसिक तनाब दिने गरेको कुरा विदेशमा रहेका ओमनाथले थाहा पाए । पैसा दिने भन्दै मानसिक तनाब दिनथालेपछि श्रीमतीले कैयौ पटक आत्महत्याको प्रयास गरेको थारुले बताए ।
थारुका अनुसार आफूले दिएको ५ लाखको कुनै प्रमाण नभएको दलालहरुले बताउन थाले । उनी भन्छन् ः ‘मैले हातै मार्फत पैसा दिएको हुँ, उनीहरुले मेरो पैसा खाता मार्फत फिर्ता पनि गरे, अहिले आएर पुनः ५ लाख पाउनु पर्छ भन्दै तनाव दिन थालेका छन् । दलालले श्रीमतीलाई मानसिक तनाब दिनथालेपछि ओमनाथ नेपाल फर्किए ।
अहिले ती व्यक्तिले जिल्ला अदालत कास्कीमा ओमनाथ विरुद्ध ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरको मुद्धा हालेका छन । अदालतबाट ओमनाथ विरुद्ध २०७८ भदौ १३ गते पक्राउ पुर्जी समेत जारी गरिएको छ । पुर्जी जारी भएपछि दलालहरुले अब तिमीहरु जेल जान्छौ भन्दै आफूहरुले बैकं खातामा हालेको ५ लाख रुपैयाँ तुरुन्त देउ भन्दै तनाव दिन थालेको उनकी श्रीमती रनियाले भनिन् ।
सोही पक्राउ पुर्जी देखाएर पैसा कुमल्याउने दाउमा दलाल रहेको देखिन्छ । उक्त पत्र गत माघ २७ गते ओमनाथको घरसम्म आयो पत्र आएपछि ओमनाथको परिवार छाँगाबाट खसेजस्तै भएको छ । बाणगंगाकै हरिशंकर थारु समेत यस घटनामा संलग्न रहेको छन् । यिनै थारु दलाल बनेर काम गरिरहेका ओमनाथको आरोप छ ।
कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपरामा ओमनाथ विरुद्ध हरिशंकरले उजुरी समेत गरेका छन् । उनी मात्रै नभएर बाणगंगा नगरपालिकाका एक दर्जन बढी युवा अमेरिका जाने सपनाले लाखौँ रकम ठगिएका छन् ।