© २०२३
बुटवल, ५ जेठ । बुटवलस्थित समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ प्रमाणपत्र हासिल गरेको छ । एक विशेष समारोहबीच सोमवार संस्थालाई आईएसओ प्रमाणपत्र हस्तान्तरण तथा हेयर ड्रेसिङ र हेयर केमिकल विद्यामा तालिम पूरा गरेका ३६६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
ख्यातिप्राप्त कमेडियन तथा कलाकार सन्दीप क्षेत्रीले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हेयर ड्रेसिङलाई केवल सिप नभई आत्मनिर्भरता र सम्मानजनक रोजगारीको आधार भएको बताए । ‘शिक्षितसँगै सक्षम बन्ने अवसर यो कार्यक्रमले दिएको छ ।’–उनले भने । कपाल काट्ने मात्र नभई व्यक्तित्व निर्माण गर्ने कलाका रुपमा यो पेशाको पहिचान बनेको भन्दै उनले नयाँ पुस्तामा हेयर स्टाइलको क्रेज बढ्दो रहेको बताए । ‘बजारमा यो पेशाको ठूलो सम्भावना बोकेको छ ।’–उनले भने । सिप नै लगानी बन्ने उदाहरण प्रस्तुत गर्दै उनले विश्वको जुनसुकै कुनामा गए पनि बेरोजगार बन्नु नपर्ने पेशा यो भएको दाबी गरे । सेवा प्रवाहसँगै व्यवहार र विश्वास कायम राख्नुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल नाइ संघका अध्यक्ष जय श्याम ठाकुर, र सौन्दर्य कला व्यवसायी संघका अध्यक्ष आशु गुरुङ, प्रशिक्षक मेनन लामाले सिपमूलक शिक्षाबाट युवालाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता एकेडेमीहरूको भूमिकालाई प्रशंसा गरे ।
कार्यक्रममा आईएसओ प्रतिनिधि टिकाराम शर्माले समृद्धि एकेडेमीले निर्धारित मापदण्डअनुसार गुणस्तरीय तालिम प्रदान गरेको पुष्टि गर्दै प्रमाणपत्र हस्तान्तरण गरे ।
कार्यक्रमको व्यवस्थापन एकेडेमीका संचालक मोहन ठाकुरले विगतमा ब्यवसाय शुरुवातको चरणलाई स्मरण गर्दै समाजमा स्थापित हुदासम्म आएको परिवर्तनका बारेमा बताए ।