© २०२३
काठमाडौं ।
चीनले अमेरिका, युरोपेली युनियन (ईयू) र जापानबाट आयात हुने प्लास्टिक सामग्रीमा एन्टी–डम्पिङ शुल्क लगाउने घोषणा गरेको छ। एएफपीको रिपोर्टअनुसार, चीनको वाणिज्य मन्त्रालयले एक प्रकारको इन्जिनियरिङ प्लास्टिकमा अधिकतम ७४.९ प्रतिशतसम्मको शुल्क लगाउने निर्णय गरेको हो।
नयाँ शुल्क खासगरी कारका पाटपुर्जा, मेडिकल उपकरण तथा घरेलु प्रयोजनका उपकरणहरूमा प्रयोग हुने प्लास्टिकलाई लक्षित गरेको बताइएको छ। यो निर्णय चीन र अमेरिका बीच केही दिनअघि मात्र व्यापार कर कटौती भएको पृष्ठभूमिमा आएको हो, जसले विश्व बजार र आपूर्ति शृङ्खलामा फेरि एकपटक नयाँ तरंग ल्याउन सक्छ।
हालै चीन र अमेरिका बीच चलिरहेको व्यापार युद्धमा अस्थायी रूपमा ९० दिनका लागि तनाव कम गरिने सहमति भएको थियो। तर, त्यसपछि पनि चीनले व्यापार विवाद बढिरहेका देशहरूविरुद्ध एन्टी–डम्पिङ अनुसन्धानको क्रम तीव्र बनाएको देखिन्छ।
यसअघि अप्रिल महिनामा चीनले फ्रान्सको कोग्नाक उद्योगमा प्रत्यक्ष प्रभाव पर्ने गरी युरोपेली ब्रान्डीहरूमा पनि एन्टी–डम्पिङ उपायहरू लागू गरेको थियो। यसले चीनको बढ्दो संरक्षणवाद नीति र प्रतिस्पर्धी बजार रणनीतिलाई स्पष्ट रूपमा देखाउँछ।