© २०२३
कपिलवस्तु, ३ जेठ ।
लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । कपिलवस्तुको तौलिहवामा सम्पन्न लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभाले उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक भई दर्ता गराएको प्रस्तावलाई उपस्थित सदस्य मध्य सर्वसम्मत पारित गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधीको उपस्थितिमा भएको मत विभाजनका क्रममा अबिश्वासको प्रस्तावको पक्षमा कुल उपस्थित प्रतिनिधिहरु ३८ जनाले नै मत दिएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदिप मजगैयाले जानकारी दिए ।
कुल ४१ जना प्रदेश प्रतिनिधी रहेकोमा प्रदेश कोषाध्यक्ष राजेश श्रेष्ठको डेढ वर्ष अघि निधन भएको, एक जना प्रतिनिधि विदेशमा रहेको र आफु विरुद्धको अविश्वास प्रस्ताव राख्न आयोजना गरिएको बिशेष साधारणसभामा अध्यक्ष गुरुङ्ग अनुपस्थित रहेको खुल्न आएको छ । अध्यक्ष गुरुङ्गबिरुद्धको अविश्वासको प्रस्ताव पारित भए सगैं प्रदेश कार्य समितिको नेतृत्व कार्यवाहक अध्यक्षका रुपमा हालका उपाध्यक्ष विनयराज भण्डारीले अगाडि बढाई बिधान अनुसारको अधिबेशन आव्हान गर्ने जनाइएको छ ।
२०८१ चैत २२ गते लुम्बिनी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ४१ साधारणसभा सदस्यमध्येका ३१ जनाको हस्ताक्षरमा गुरुङमाथि गम्भीर असन्तुष्टि जनाउँदै अविश्वासको प्रस्ताव दर्ता गर्दै क्यानलाई यस बारेमा जानकारी गराएका थिए । गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा निर्णय गर्न जेठ ३ गते विशेष साधारणसभा बोलाइएको थियो । तर राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रक्रिया विवादास्पद भएको भनी नेपाल क्रिकेट संघ (क्यान)लाई सभा स्थगन गर्न निर्देशन दिएको भन्दै क्यानका सचिव पारस खड्काले सभा रोक्न पत्राचार गरेका थिए । यता क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लुम्बिनी प्रदेश क्रिकेट संघका उपाध्यक्षको नाममा पत्र काट्दै क्यानको विधान र प्रादेशिक क्रिकेट संघ विनियमावली २०८१ बमोजिम विशेष साधारणसभा सम्पन्न गर्न निर्देशन दिएका थिए ।
राखेपले जेठ २ गते नेपाल क्रिकेट संघलाई पत्राचार गर्दै प्रचलित कानून, संघको बिधान तथा विनियमावलीसँग प्रतिकुल नहुने गरि सुनिश्चित गर्न गराउन निर्देशन दिएको केन्द्रीय सदस्य मजगैयाले स्पष्ट पारें । क्यानको बिधान र विनियमावलीको व्यवस्था अनुसार प्रदेशका सात जिल्लाका प्रतिनिधिले दिएको अविश्वासको प्रस्तावलाई बिधानले तोके बमोजिम उपाध्यक्ष भण्डारीले प्रस्तावक भई दर्ता गराएसँगै विशेष साधारणसभा आव्हान गरिएको उनको स्पष्टोक्ति थियो ।
यस अघि विशेष साधारणसभाको उदघाटन सत्रमा बोल्दै कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले गुरुङले संघको बिधान र विनियमावली मिचेर आफु खुसी गर्दै गएपछि बाध्य भएर अविश्वासको प्रस्ताव ल्याउनु परेको बताए । उनले कोषको खाता सञ्चालनको विषयमा कोषाध्यक्षको अनिवार्यता हुने भए पनि क्यानको बिधान मिचेर गुरुङ्ग आफु र सचिवको संयुक्त हस्ताक्षरमा खाता सञ्चालन गर्दै आएको गम्भिर आरोप लगाए । पछिल्ला ढेड वर्षको अवधीमा अध्यक्ष गुरुङले कुनै पनि जिल्लासँग समन्वयन नगरेको, खेलकुद प्रतियोगिता र बाह्य श्रोत संकलनमा भुमिका खेल्न नसकेको, बिधान विपरित आफु खुसी काम गरेको लगायतका गम्भिर आरोपहरु लगाएका थिए । विशेष साधारणसभाले क्यानको विधि बिधान अनुसार लोकातन्त्रिक तवरले काम गर्न उपयुक्त हुने पुर्व मन्त्री तथा संघीय साँसद सुरेन्द्रराज आचार्यले बताए । विधि बिधानलाई मानेर सबै मिलेर जान सके नेपालको क्रिकेट खेलको विकासमा टेवा पुग्ने लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयको भनाई थियो ।
नेतृत्वले अराजकता देखाए विधि र बिधानले बाध्न सकिने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलको भनाई थियो । कपिलवस्तु नगरपालिकामा रहेको खेल मैदानलाई व्यवस्थापन गर्न साँसद आचार्यले संसदीय क्षेत्रको १ करोड र थप ३ करोड गरि चार करोड बजेड व्यवस्थापन गरेको भन्दै पौडेलले धन्यबाद दिए । बिधानको व्यवस्था अनुसारको अविश्वासको प्रस्ताव र आयोजना गरिएको विशेष साधारणसभाको बारेमा प्रतिनिधिलाई बदनाम हुने गरी भ्रम फैलाउने कार्य गलत भएकोमा केन्द्रीय सदस्य प्रदिप मजगैया, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, पुर्व केन्द्रीय सदस्य शुनिल सिंह हमाल, प्रदेश सचिव कैलाश रोक्का मगरले बताए । विशेष साधारणसभाले क्रिकेट हितमा निर्णय लिनेमा आफु विश्वस्त रहेको कार्यक्रमको आथित्यता गरेको कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेको भनाई थियो ।