© २०२३
बुटवल, ०३ जेठ ।
महिला सशक्तिकरण, उद्यमशीलता र सीप विकासका क्षेत्रमा पछिल्लो समय थुप्रै प्रेरणादायी कथाहरू सुन्न पाइन्छन् । यस्तै एउटा कथा बोकेकी प्रतिनिधि पात्र हुन बुटवल ३ ज्योतिनगरकी सुनिता गुरुङ । सीप र हिम्मतको सहाराले न केवल आफ्नो जीवनमा परिवर्तन ल्याइन्, बरु अरू महिलाहरूका लागि पनि आत्मनिर्भर बन्ने बाटो देखाएर प्रेरणाको श्रोत बन्न समेत सफल छन् । जम्मा ७ हजार बिउपुँजी लगानी गरेर फेन्सी चप्पलको ब्यापार शुरु गरेकी सुनिताले मासिक ४० देखि ५० हजारसम्म आम्दानी हुने गरेको बताउँछिन् ।
विसं २०७९ सालमा बुटवल उपमहानगरको ३ नम्बर वडा कार्यालयले आयोजना गरेको लक्षित समूह विकास कार्यक्रम अन्तर्गत फेन्सी चप्पल बनाउने तालिममा सहभागी भएकी सुनिता २८ जना प्रशिक्षार्थी मध्ये एक हुन । हिजो आफुले सिप सिकेर व्यवसायीक रुपमा चप्पल उत्पादन तथा ब्यापार गरिरहेकी सुनिताले आज उनले सिकाएका अन्य महिलाहरुको संख्या २८ नाघिसकेको छ र सबै व्यवसायिक बनेका छन् ।
सुरुमा चप्पल बनाउने सीप केवल तालिमका लागि मात्रै सिके जस्तो लाग्थ्यो तर उनको मनमा केही फरक गर्न सक्ने आट पलाइसकेको थियो, उनले त्यो तालिमलाई अवसरको रूपमा लिइन र उनको जीवन बदल्ने अवसर मिल्यो । ७ हजारबाट शुरु भएको यो स्वरोजगारमुलक ब्यबसायिक यात्रामा अहिले श्रीमान प्रकाश गुरुङ्गले पनि काँधमा काँध मिलाएर साथ दिईरहेका छन । शुरुमा त श्रीमानले तिमीले यस्तो काम गर्नु पर्दैन, घरमा छोराहरु हेरेर बस बरु म गर्छु काम भन्थे तर उनले मानिनन् । थोरै थोरै काम गर्न थालेको र राम्रो रिजल्ट आउन थालेपछि घरपरिवार सबै मिलेर काम शुरु गरियो ।
बुटवलको ज्योतिनगरमा रहेको आफ्नै घरमा ‘एसपि हेन्डमेड सिलिपर्स’ नाममा खोलिएको पसलमा अहिले सासु, श्रीमानले पनि सहयोग गर्दै आएको बताउने गुरुङ्ग आफैले उत्पादन गरेको सामग्रीको माग बढ्दा दंग छिन मासिक रुपमा ४०÷ ५० हजार कमाउन थालेकी छिन् ।
सुनिता जस्तै ओसिम, कमला लगाएतले पनि आफ्नै हातले तयार गरेका फेन्सी चप्पलहरू बिक्री गर्न थालेका छन । व्यवसायिक रुपमा अघि बढ्दा पूँजीको अभाव, बजार नजाने अनुभव, प्रतिस्पर्धाको डर, आदि थुपै्र चुनौती थिए तर उनीहरुले हार मानेनन् । थोरै समयमै उत्पादनहरू ग्राहकहरूकाबीच लोकप्रिय हुन थाले । चप्पलहरू रंगीन, ट्रेन्डी र आरामदायी छन् । महिलाहरूका लागि विशेष रूपमा डिजाइन गरिएका यी उत्पादनहरूले बजारमा छुट्टै पहिचान बनाउन थालेको सुनिताको भनाई छ ।
आफ्नो पसलमा १ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएकी सुनिताले देशका विभिन्न स्थानबाट र विभिन्न जिल्लाहरुबाट आएका महिलाहरुलाई पनि तालिम दिँदै आइरहेकी छन् । उनले अहिलेसम्म कैयौं महिलालाई फेन्सी चप्पल बनाउने सीप सिकाइसकेकी छन्, जसले उनीहरूलाई पनि घरमै बसेर आम्दानी गर्नसक्ने सक्षम बनाएको छ । अनलाइन मार्फत जानकारी पाएका महिलाहरु सम्पर्कमा आउने र सिकेर जाने गरेका छन ।
सुनिताका उत्पादनहरू अहिले बुटवल र आसपासका क्षेत्रमा मात्र सीमित छैनन् । उनले बनाएका चप्पलहरू विदेशसम्म पुग्न थालेका छन । खासगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरू तथा तिनीहरूले पठाएका अर्डरहरूमार्फत उनको आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । मासिक रूपमा सन्तोषजनक आम्दानी गरिरहेकी सुनिताको आर्थिक अवस्था निकै सुधारिएको बताउँछिन । सुनिताले उत्पादन गरेका चप्पलहरु हाल विदेशका कयौं ठाँउहरुमा पुग्न थालेका छन् । जापान, युके, अस्ट्रेलिया, दुवई जता देशहरुमा उनले अनलाइन मार्फत व्यापार गर्न थालेको बताउछिनु । टिकटक फेसबुक जस्ता समामाजिक संजाल प्रयोग गर्दै आफ्नो व्यापार व्यवसायलाई उचाइमा पुराउँदै छन् गुरुङ्ग ।
सुनिता गुरुङको कथा केवल व्यक्तिगत सफलताको यात्रा होइन, यो कथा हो समाज परिवर्तनको, महिला सशक्तिकरणको र आत्मनिर्भरताको हो उनले देखाएको बाटोले अहिले थुप्रै महिलाहरूलाई ‘म पनि केहि गर्न सक्छु’ भन्ने आत्मविश्वास जगाएको छ । स्थानीय सरकारद्वारा सञ्चालित तालिम कार्यक्रमहरू कसरी प्रभावकारी बन्न सक्छन् भन्ने उदाहरण पनि सुनिता हुन् । उनी जस्ता उद्यमी महिलाहरूले सरकारका साना सहयोगहरूलाई कसरी दीर्घकालीन अवसरमा रूपान्तरण गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालको भनाई छ ।
वडाले ०७९ सालमा बुटवल उप–महानगरपालिका वडा नं ३ को आयोजनामा लक्षितसमुह विकास कार्यक्रममा आधारित ‘लेडिज फेन्सी चप्पल’ बनाउने १ हप्ते तालिममा सहभागी आफ्ना १२ वटा टोलविकास समितिका २८ जनालाई यो सिपमुलक तालिम प्रदान गरियोे । जस्मा सहभागी रहेका मध्येबाट ४ जनाले व्यवसायकै रुपमा यस्लाई अंगालेकोे ढकाल बताउछन् । अध्यक्ष ढकालका अनुसार तालिम सकिएपछि धेरैजना सहभागीहरू जहाँको त्यहीँ फर्किए, तर सुनिता भने त्यसलाई व्यवसायमा रूपान्तरण गर्ने योजनामा लागिन हामी खुशी छौ र सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।
गाउँघरका थुप्रै महिलाहरूलाई आत्मनिर्भर बन्न, सीपमा आधारित व्यवसाय सुरु गर्न र घरमै बसेर आर्थिक रूपले सक्षम बन्न उत्साह जगाएको वडा ३ कि जनप्रतिनिधि पवित्रा श्रेष्ठले बताइन । उद्यमशीलता केवल ठूलो पूँजी वा ठूला साधनको कुरा होइन, साहस, सीप र सही अवसरको मिलन हो भन्ने कुरा सुनिताले आफ्नो जीवनमार्फत देखाएको श्रेष्ठको भनाई छ । समाजमा परिवर्तन ल्याउने प्रेरणा चप्पल र आत्मनिर्भरता जस्ता धेरै कुराहरु छन् तथापी चाहिन्छ त केवल आँट र भरोसा । आफुले केहि गर्न सक्छु भन्ने धारणा लिनु पर्छ एक दिन अवश्य त्यो ठाँउमा पुग्न सकिन्छ ।
दिनभर खाली बस्ने मोवाइल चलाउने, टिभि हेर्ने जस्ता गतिविधिले महिला दिदीबहिनीहरुको उर्जाशील समय व्यर्थै खेर गैरहेको वेला हामीले सानो प्रयास गर्यौ र यस्ता उद्यमशील महिलाहरु उत्पादन गर्न सफल भएका छौ अर्का जनप्रतिनिधि अमृत खड्का बताउछन् । वडाले महिला उद्यमशीलतालाई ध्यानमा राख्दै बाटेको धुप बनाउने, पुजाआजा तथा विवाहका लागि चाहिने रोटी तथा साइपाटा रोटीका लागि मेसिन समेत उपलव्ध गराउने र सिप युक्त बनाउने अभियान वडा कार्यालयको सम्पन्न गरिसकेको खड्काले बताए ।