© २०२३
चन्द्रौटा, २ जेठ ।
कपिलवस्तुमा पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा बिहान सवारी दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर-१, बसन्तपुरस्थित शुक्रबार बिहान ५:४५ बजे पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको ९५९९ नम्बरको कारले सडक छेउँमा हिडिरहेकी दुई महिलालाई ठक्कर दिएको थियो ।
प्रहरीकाअनुसार ठक्करबाट सोही ठाउँकी करिब ६०-६५ वर्षीया शान्ता खत्री र तिल कुमारी रायमाझीको निधार तथा टाउकोमा गम्भीर चोट लागेको छ । घाइते दुबै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । उपचारकै क्रममा बिहान ७:३० बजे चिकित्सकले दुबै जनालाई मृत घोषित गरेका थिए । शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।
घटनास्थलमा प्रहरी चौकी पत्थरकोटबाट प्रहरी निरीक्षक सन्तोष कुमार केसीको कमाण्डमा २ जना र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेबाट प्रहरी निरीक्षक विराट शर्मा पौडेलको नेतृत्वमा ११ जनाको टोली खटिएको थियो । दुर्घटना गराउने कार र चालक रुपन्देहीको सैनामैना(५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।