© २०२३
नवलपरासी पश्चिम्, २६ वैशाख ।
प्रतिनिधि सभा सदस्य सरिता भुसालले दाउन्नेको वैकल्पिक मार्गलाई बजेट बिनियोजन गर्न माग गरेकी छन । शुक्रवार संसदको शुन्य समयमा बोल्दै सांसद भुसालले बर्दघाट नगरपालिका वडा नम्बर १० को भुताहादेखि आम्बास हुँदै दुम्किबास जोड्ने करिब १५ किलोमिटर सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
दाउन्नेको वैकल्पिक मार्गको रुपमा काम अगाडि बढाइएको भए पनि पर्याप्त बजेट नहुँदा सडक निर्माणले पूर्णता पाउन नसकेको उल्लेख गर्दै सांसद भुसालले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने यो सडकले पहाडी ग्रामीण भेगका नागरिकलाई सडक संजालको पहुँचमा पुर्याउने बताइन् । भुसालले पछिल्लो समय यहाँका समस्याका बारेमा सदनमा निरन्तर आवाज उठाउदै आइरहेकी छन् ।
दुरीका हिसाबले समेत छोटो र सहजरूपमा दाउन्ने खण्ड पार गर्नका लागि साना सवारीलाई भुताहा, संसारकोट, पटुके, डाँडाँजोर हुँदै दुम्कीबास निस्कन सहज हुने हुँदा यो सडकले पूर्णता पाए उक्त क्षेत्र बर्दघाट नगरपालिकाको हिल्स टुरिजमको रुपमा विकास हुन सक्छ ।