© २०२३
नवलपरासी, २२ बैशाख ।
जिल्लाको सरावल–२ मनरी स्थित थारु साँस्कृितक पार्कमा पूर्वाधार विकासले मुर्तरूप पाउने भएको छ । पार्क ब्यवस्थानमा स्थानीय सक्रिय भएपछि अहिले लुम्बिनी स्थानीय सरकार बाहेक संघीय सरकारले समेत लगानी गर्न थालेको हो ।पार्कको काम शुरु हुन थाले पछि आशा पलाएको स्थानीय सञ्जय मौर्यले बताए । थारु साँस्कृतिक पार्कले आन्तरिक तथा बाह्य पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीय गाउँले पनि पहिचान पाउने उनको भनाइ थियो । स्थानियबासीले थारु सांंस्कृतिक पार्क बनाउनु पर्ने माग भए अनुसार दुई बर्ष पहिला सरावल गाउँपालिकाले नै पार्क ब्यवस्थित गर्न १० लाख लगानी गरिदिएको थियो, उनले भने, दुई बर्षदेखि सोही पार्कमा खिचडी अर्थात माघे संक्रान्तिको अवसरमा थारु साँस्कृतिक महोत्सव पनि भइरहेका छन् ।
पार्क ब्यवस्थित बनाउन गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत गराई दिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । डिपिआर सहित संघिय सरकारसँग माग गरेर अनुसार सोही क्षेत्रका संघिय साँसद ध्रुव बहादुर प्रधानले बजेट विनियोजनमा समेत सहयोग गरेको उनले बताए । पार्कमा दुई खण्डमा काम भई रहेको छ । ६५ लाख बराबारको एउटा संरचना निर्माण हुँदैछ, उनले भने, ४५ लाख बराबरका अर्को पूर्वाधार निर्माण हुदैछ । यस्ले पार्क ब्यवस्थापनले तिब्रता पाएको अध्यक्ष चौधरीको भनाइ थियो ।
विगतमा वृक्षरोपण गर्दै अगाडि सरेका मनरीका थारु महिलाहरूपछि वृक्षारोपण भित्र रुख विरुवाको सजावट गर्दै पार्क निर्माणमा कृयाशिलता देखाएका थिए । गाँउका विभिन्न सांस्कृतिक समुहहरू पनि काम गर्दै आएका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,। जुन अहिले एक सुन्दर मनमोहक पार्कमा रूपान्तरित गर्न स्थानीय थारु महिलाहरूको सक्रियसँगै सरकारी लगानी पनि हुन थालेकोले स्थानीयलाई उत्साही बनाएको छ । पार्कको रूपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरू निःस्वार्थ भावले काम गर्दै आएका छन् ।
विद्यालयदेखि झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उक्त पार्क ब्यवस्थापन गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उक्त स्थानलाई चयन गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताएका थिए ।
पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि निर्माण भइसकेको छ, उनले भने, डिपिआर अनुसार स्थाई संरचनाहरू बनाउँदै जान्छौ । सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका सघीय साँसद तथा पूर्व मन्त्री प्रधानले चासो लिएर काम गर्दै आएका छन् । यति छोटो समयमै थारु साँस्कृतिक पार्कमा स्थानीयको आकर्षण बढेको छ ।
पार्कलाई नै लक्षित गरि नजिकै स्थानिय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत निर्माण गर्दै छन् । खिचडी महोत्सवकै अवसरमा उनले सो रिसोर्टको शुभारम्भ समेत गर्ने उनको भनाइ थियो । अहिले पार्कको सरसफाई तथा रुख विरुवा सजाउने कार्य भई रहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भई रहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ । मेला विस्तार हुँदै जाँदा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रूपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थाई स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो ।
थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन, नियमित मनोरन्जन, रमाईलो, शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भइरहेका छन ।
मनरी गाउँ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रूपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए । यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउँपालिकाले छलफल गरेर योजना अगाडी बढाएको थियो । उनीहरूकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बन्ने देखिएको छ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरू पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरू बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रूपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुँदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।