© २०२३
चन्द्रौटा, २१ बैशाख ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले आम नागरिकलाई सुशुचित गर्दै समाजको सकरात्मक विकासको पक्षमा कलम चलाउनुपर्ने बताएका छन् । कपिलवस्तुको गोरुसिंगेमा पेशागत पत्रकारहरुको सुरक्षासँगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने उनले बताए ।
चौतारी लुम्बिनी प्रदेशले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रेस चौतारी नेपाल व्यावसायिक पत्रकारहरुको हकहितका लागि प्रतिबद्ध रहेको जनाउँदै सूचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।
यसैबीच प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले जहाँ लोकतन्त्र छ त्यहाँ प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । यस्तै संगठनका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुले खोज मुलक समाचार लेखन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईले प्रशिक्षण दिँदै संगठनको विधान, नीति र आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारे ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । यसैगरी लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले मिडियामा आउने आर्थिक संकटलाई न्युनीकरण गर्न सकिने उनले उल्लेख गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला सचिव शनिउल्लाह धोबी, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, हरि अधिकारी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर जिल्ला समितिको संयोजनमा भएको कार्यक्रममा श्रमिक सम्मान अन्तर्गत स्थानीय ६ जना सञ्चारकर्मीलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको जिल्ला अध्यक्ष बाबुराम रायमाझीले जानकारी दिए ।