© २०२३
कपिलवस्तु, २० वैशाख ।
जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसको वैशाख २७ गतेका लागि निर्धारित क्याम्पस सभा निर्वाचनमा अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् ।
तेस्रो क्याम्पस सभा अन्तर्गत तीन वर्षे कार्यअवधिको लागि हुने निर्वाचनमा अध्यक्ष पदमा बाबुराम खनाल, सुरेश प्रसाद शर्मा, सच्चिताानन्द त्रिपाठी (एसएन त्रिपाठी) र हरम शरीफ मुसलमानले उम्मेदवारी दिएको निर्वाचन संयोजक अधिवक्ता नुर मोहम्मदले जानकारी दिए ।
अध्यक्षमा उम्मेदवारी दिएका खनाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष, शर्मा नेपाली काँग्रेसका पुर्व जिल्ला सचिव र त्रिपाठी शिक्षा सेवी तथा मुसलमान एमाले यशोधरा गाउँपालिका कमिटीका अध्यक्ष हुन । अध्यक्ष उम्मेदवार खनाल र शर्मा हालको व्यवस्थापन समितिका सदस्य समेत हुन् ।
त्यसैगरी चार खुल्ला सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन् । सदस्य पदमा राजेश कुमार अग्रहरी, शोहरत तेली, गोपाल भण्डारी, रामजी कुर्मी, शारदा नन्द यादव, देवराज पाण्डे, गंगेश कुमार वर्मा, कृष्णचन्द्र पासी, गौरव कुमार गुप्ता र रामशरण चौधरीले उम्मेदवारी दिएका छन् ।
तीन महिला सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यतर्फ बिन्दवासिनी हरिजन, लक्ष्मी मिश्र, बन्दना चौधरी, ईन्दिरा पौडेल देवकोटा, सुनिता दुवे शुक्ल र पुष्पाञ्जली शुक्ला मिश्रा उम्मेदवार बनेका छन् । कुल एक हजार १२ क्याम्पस सभाका सदस्य रहेको क्याम्पस सभामा निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख २२ गते दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गर्ने र बैशाख २७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म कपिलवस्तु बहुमुखी क्याम्पसमा मतदान कार्ययोजना सार्वजनिक गरिएको छ ।