Butwal Today

नेपाली छात्राको मृत्युपछि दूतावासको किट विश्वविद्यालयसँग छलफल

१९ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १९ वैशाख ।

भारतको उडिसा राज्यको किट विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीया नेपाली छात्रा प्रिसा साहको मृत्युबारे नेपाली दूतावासले गम्भीर चासो जनाएको छ। बिहीबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो।

यस घटनापछि भारतस्थित नेपाली दूतावासले किट विश्वविद्यालयका प्रतिनिधिहरूलाई शुक्रबार बिहान दूतावासमा बोलाएर छलफल गरेको र विश्वविद्यालय तथा भारतीय अधिकारीहरूसँग सम्पर्कमा रहेको जानकारी दिएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ— “नेपाली दूतावासले शैक्षिक संस्थाका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरूसँग तुरुन्त छलफल गरी घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेको छ। साथै, अन्य नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न पनि जोड दिएको छ।”

नेपालका राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी र प्रदेशका प्रमुख सचिवसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीर अनुसन्धानको माग गरेका छन्। दूतावासले मृतक प्रिसा साहकी परिवारसँग नियमित सम्पर्कमा रही आवश्यक सहयोग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?