© २०२३
गुल्मी, १९ बैशाख ।
जिल्लाको कारागारमा रहेका कैदीबन्दीहरू उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारभित्र दुई बर्षदेखि काष्ठकलाको लागि फर्निचर उद्योग सञ्चालनमा छ । त्यही उद्योगबाट यहाँका कैदीबन्दीहरूले मासिक रूपमा न्यूनतम सात हजारदेखि ४५ हजार रूपैंयासम्म कमाइ गर्दै आएका छन् । कारागार भित्रको खाली समयलाई सदुपयोग गर्दै सिप सिकेर कैदीबन्दीहरूले घरखर्च चलाएका छन । दिनहुँ बिहानदेखि बेलुका अबेरसम्म कोही फर्निचरमा त कोही बाँसका मुढा बुन्ने काममा व्यस्त बनेको देखिन्छ । कारागारमा पहिलो पटक पुग्ने जोकोही पनि त्यहाका कैदीबन्दीहरूले गरेको काम देखेर आफैमा दङ्ग पर्छन ।
गुल्मी कारागारलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न थालिएको अनुभूति हुन्छ । कारागारलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न थालिएको भएपनि कारगारको जग्गा र संरचना अभावमा समस्या भएको कारागारका प्रमुख रेश्मीराज पन्थी बताउछन । आफुले बाहिर पनि काष्ठकलाकै काम गरेर ३० बर्ष बिताएको हुँदा कारागारमा पनि राम्रै कमाई हुनेगरेको यहाँका एक कैदीले बताए । उनले मासिक ४० देखि ४५ हजार रूपैयाँसम्म कमाउँदै आईरहेका छन । यो कामबाट समय कटाउन र घरखर्च व्यवस्थापन गर्न धेरै सजिलो भएको उनले बताए ।
कारागारमा सबैभन्दा धेरै काष्ठकला र फर्निचरको काम गर्ने कैदीबन्दीहरूको कमाई धेरै हुनेगर्दछ । काष्ठकलाका अतिरिक्त घरेलु हस्तकलाको काम गर्नेहरूको कमाई पनि राम्रो छ । कारागारमा ३० जना भन्दा बढिले काठको काम गर्ने र ४१ जना कैदीबन्दीले मुढाको काम गर्दै आएका छन । कारागारमा बाँसको सिन्का चिर्ने र बुट्टा बनाउनेहरूको न्यूनतम रकम मासिक सात हजार भन्दा धेरै हुनेगरेको कारागारका चौकीदार हरिबहादुर थापाले बताए ।
चौकीदार थापाका अनुसार कारागारमा सवैभन्दा बढि मूल्य पर्ने अष्टनागको आकृति सहित सालको काठको चौकोश निर्माण गरिन्छ ।जसको मूल्य बजारमा आठ लाख रूपैयाँ पर्दछ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, सोफा, दराज, टेवल लगायत आवश्यकता अनुसार सवै फर्निचरका सामग्री निर्माण गरिन्छ ।यहाँका काष्ठकलाका सामग्री व्यक्तिगत प्रयोगका अतिरिक्त सरकारी कार्यालय र मठमन्दिरहरूमा समेत प्रयोग हुँदै आएका छन् ।

बजार क्षेत्रमा रहेका अन्य फर्निचर उद्योगमा भन्दा कारागारमा उत्पादन गरिएका सामग्री राम्रो र सस्तो भएका कारण यहाँका स्थानीयहरू सामान किन्नका लागि सोधिसोधि कारागार पुग्ने गर्दछन ।गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसका मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । बजार मुढाको माग धेरै छ । माग अनुसार आपूर्ति गर्न नसकिएको कारागार प्रशासनले जनाएको छ । काष्ठकला फर्निचर र मुढाका सामग्री जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको चौकीदार हरिबहादुर थापाले बताए । त्यसका अतिरिक्त पुरुषहरूले बाहेक महिला कैदीबन्दीले बर्षौदेखि घरेलु हस्तकलाका सल, टोपी, सुटपाइन्ट, सुइटर लगायतका सामग्री निर्माण गर्ने गरेका छन् ।
गुल्मी कारागारमा उत्पादित सामग्री पोखरा, पाल्पा, काठमाण्डौ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोशेलीको रूपमा पुग्ने गरेको चौकिदार थापाले बताए । घरेलु तथा साना उद्योग कार्यालयले पनि यहाँका कैदीबन्दीहरूका माग अनुसार समय समयमा तालिम समेत प्रदान गर्दै आएको छ ।कारागारका चौकीदार हरिबहादुर थापाका अनुसार काष्ठकला र फर्निसिङ्गका सामग्रीबाट बार्षिक रूपमा दुई करोड, मुढाबाट एक करोड २० लाख, घरेलु हस्तकलाका सामग्रीबाट चार लाख गरी न्यूनतम तीन करोड भन्दा बढीको कारोबार हुने गरेको छ । गुल्मी कारागारमा हाल थुनुवा ३६, कैदी ७३ र आश्रित एक जना सहित एक सय १० जना कैदीबन्दीहरू रहेका छन् ।

