© २०२३
बुटवल, १३ फागुन । शनिबार बुटवलमा रक्तदाताहरुको भिड थियो । कुल १२७ जना रक्तदाताहरु यहा भेला भएका थिए । सधै रक्तदान कार्यक्रममा जुट्ने रुपन्देहीका रक्तदाताहरु शनिबार भने विशेष अभियानमा जुटेका थिए । यो संख्या दुर्लभ रक्तदाताहरुको थियो । दुर्लभ रक्तदाताहरू भन्नाले ती व्यक्तिहरू जनाइन्छ जसको रगत दुर्लभ रक्तसमूह हुन्छन । आवश्यकता पर्दा फेला पार्न गाह्रो, आकस्मिक अवस्थाहरूमा यिनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने हुदा पनि विशेष महत्व दिने गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । दुर्लभ रगत पनि सहजताका साथ उपलब्ध हुन्छ भन्ने उदाहरण बुटवलले दिन सफल भएको उनको दाबी छ । पछिल्लोसमय चितवन, काठमाण्डौका बिरामीहरुलाई समेत रगत उपलब्ध गराएको उनले उदाहरण पेश गर्दै रक्तदाताहरुको हबका रुपमा बुटवल चिनिएको उनले बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको आयोजनामा बुटवलमा शनिबार तेस्रो दुर्लभ रक्तदाता भेला तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले संस्थाबाट रक्तदान जस्तो पुण्य कामका साथै रचनात्मक अभियानहरु चलाएको हुदा पालिका सधै सहकार्य गर्न तयार रहेको बताईन । ब्लड बैक स्थापनामा स्थानिय सरकार सहयोग र सहकार्य गर्न तत्पर रहेको समेत उनले बताईन ।
कार्यक्रममा आम्दा अस्पतालका पूर्वमेसु तथा संस्थाका सल्लाहकार डा राजेन्द्र बश्याल, वरिष्ठ प्रसुतिरोग विशेषज्ञ डा.शर्मिला शर्मा, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ एनेस्थिेष्टि डा सुरेन्द्र कुँवरले दुर्लभ रक्तदाता र रगत बारे प्रकाश पार्दै विभिन्न समयमा रगत अभाव हुने र यसबाट उत्पन्न हुने जटिलताबारे बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, रुपन्देही उद्योग ब्यापार संगठनका अध्यक्ष विष्णु पाण्डे, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सदस्य सहाबहादुर नेपाली, मानव अधिकारी तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष अर्जुन ज्ञवालीले रक्तदानप्रतिको समाजको दृष्टिकोणमा बिस्तारै परिवर्तन आएको भन्दै अझै सचेतनाका कार्यक्रमहरु चलाउन जरुरी रहेको औल्याए ।
रक्तदाताहरुको हबका रुपमा पहिचान बनाएको रुपन्देहीमा ब्लड बैकबाट रगतको ब्यवस्थापनमा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको सेवाग्राहीको गुनासो रहेको संस्थाका सचिव अर्जुन पौडेलले बताए । कमी कमजोरीलाई हटाउदै ब्यवस्थापन सहज गर्नेतर्फ विशेष पहरेदारी गर्दै स्वयंसेवी रक्तदाताहरुबाट आफनै ब्लड बैक संचालनको अभियानमा रहेको उनले बताए ।
कार्यक्रममा रक्तदानप्रति जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षणका लागि प्रोत्साहन गर्ने र आपसी सञ्जाललाई मजबुत पार्ने विषयमा वृहत छलफल गरिएको संस्थाका उपाध्यक्ष उदयराज भट्टराईले बताए । दुर्लभ रक्तसमूह भएका व्यक्तिहरूको संगठित गर्दै आपतमा छिटो र सुरक्षित रक्त आपूर्ति गर्ने लक्ष्य रहेको संयोजक भगवती अर्यालले बताईन । यसैबिच २०८२ सालको भित्तेपात्रोमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।