© २०२३
कपिलवस्तु, (न्युज बुटवल टुडे) १३ बैशाख
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सिप बिकासका योजनासँग जोड्नु पर्ने बुद्धभुमी नगरपालिकाका सरोकारवालाले सुझाव दिएका छन । बुद्धभुमी नगरपालिकामा आयोजना गरिएको रोजगार संवाद मञ्च सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीले सुझाव दिए । कार्यक्रममा पालिकाका रोजगार शाखाका संयोजक रविन चौधरीले एकिकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यबिधी २०८० कोे दफा २१ अनुसार पालिकामा रोजगार संवाद मञ्च सञ्चालन गर्ने व्यवस्था अनुसार कार्यक्रम गरिएको जानकारी दिए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत संघिय अनुदानको रकमबाट बेरोजगारको तथ्याकं संकलन गरि सुचिकृत गर्ने काम गरिएको बताए । स्वदेशी श्रमिकको लगत संकलन पुरा भएको र दक्ष जनशक्तिको लगत संकलन शूरुवाती चरणमा रहेको कार्यक्रममा जनाईएको थियो ।
पालिकामा रोजगार सुचना केन्द्रको स्थापना सगै सामी कार्यक्रमको समन्वयमा वडाको सबै टोलमा बित्तिय साक्षरताका कार्यक्रम गरिएको उनले स्पष्ट पारे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नगरका प्रत्यक वडामा न्युनतम २५ जना बेरोजगार व्यक्तिले १ सय दिनको रोजगारीको सुनिश्चितता भएको अल्पकालिन योजनामा कायम गर्ने गरेको चौधरीले बताए । पछिल्लो समय पालिकाले ४० जनालाई ५० दिनको कालोपत्रे सडक मर्मतको तालिम दिएर अहिले बुटवल चन्द्रौटा सडक बिस्तार आयोजनाको कार्यक्रममा रोजगारी दिलाईएको उनले स्पष्ट पारे । प्रधानमन्त्री रोजगार कार्यक्रम शैक्षिक बेरोजगार जनशक्ति प्रति केन्द्रित हुन नसकेको बताउदै रोजगार कार्यक्रम मार्फत रचनात्मक योजनामा युवालाई जोड्नु पर्ने बुद्धभुमी उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले सुझाव दिए ।
रोजगार कार्यक्रम झाँडी सफाई गर्नेमा मात्रै बढि केन्द्रित भएको भन्दै आलोचना हुने गरेकाले रचनात्मक योजनाका काम गर्न आवश्यक रहेको महिला नेत्री मिना केसीले सुझाव दिईन । सो पालिकामा वन क्षेत्र बढि रहेकाले अग्नि नियन्त्रणको तालिम र जनशक्ति उत्पादन आवश्यक रहेकोमा त्रिशुली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निल कुमार श्रेष्ठको जोड् थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बिगतमा बर्षौ देखी प्रयोगमा नआउने गरेका सिचाई कुलोहरु व्यवस्थित बनाउने र पोखरीहरुको सुन्दरीकरण गर्ने कार्य गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।
नगरमा सुचिकृत बेरोजगारलाई १ सय दिनको रोजगारीको सुनिश्चिता गने गरि बिद्यालयमा रंगरोगन लगायतको रचनात्मक कार्य समेत गरिएको प्रमुख श्रेष्ठले स्पष्ट पारे । पालिकाले रोजगार कार्यक्रम सगै बैदेशिक रोजगारीको अनलाईन श्रम स्विकृती लिने सेवा प्रवाह, बिद्यालयस्तरमा बैदेशिक रोजगारीबारे सचेतना, बैदेशिक रोजगारीमा ठगिएको र क्षतिपुर्ति दिलाउने कार्यमा समेत पहलकदमी लिदै आएको उनले बताए । बैदेशिक रोजगारीमा आउने बिभिन्न समस्या र मनोसामाजिक परामर्श सेवा समेत प्रवाह हुदै आएको उनले जनाए । कार्यक्रममा रोजगार सहायक संगिता घर्ति क्षेत्री, उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई, नगर प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बस्नेत लगायतका जनप्रतिनिधी छलफलमा सहभागी रहेका थिए ।