© 2026
सुर्खेत,१० वैशाख ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनासम्म विकास बजेटको २०.९४ प्रतिशत कार्यान्वयन गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार नौ महिनाको अवधिमा तीन अर्ब ९३ करोड २४ लाख ७६ हजार ९ सय ७२ रुपैयाँमात्र कार्यान्वयन गरेको छ । कार्यालयका अनुसार फागुन मसान्तसम्म १५.१९ प्रतिशत अर्थात दुई अर्ब ८५ करोड २५ लाख ४० हजार रुपैयाँमात्रै विकास बजेट कार्यान्वयन गरेको सरकारले चैत मसान्तसम्म २०.९४ प्रतिशत कार्यान्वयन गर्न सकेको छ ।
चैत महिनामा जम्मा ५ प्रतिशतमा अर्थात् १ अर्ब ७ करोड ९९ लाख ३७ हजार १३५ रुपैयाँ विकास बजेट कार्यान्वयन भएको छ । चैत मसान्तसम्म बढीमा २७–३० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने सरकारको लक्ष्य थियो । दुई साता अघि मुख्यमन्त्री यामलाल कँडेलले एक वर्षे कार्यकालको समीक्षा गर्दै चैत मसान्तसम्म २७ प्रतिशतको हाराहारीमा विकास बजेट कार्यान्वयनमा आइसक्ने बताएका थिए । तर,सरकारको दाबी अनुसार विकास बजेट कार्यान्वयनको अवस्था भने देखिएन ।
चालु आर्थिक वर्ष ०८१/८२ का लागि सरकारसँग वार्षिक विकास बजेट १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको थियो । सरकारले आर्थिक वर्षको अन्त्यसम्मा ८० प्रतिशत विकास बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ भने चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४ दशमलव १२ प्रतिशत विनियोजित छ ।