© २०२३
बाँके,१० बैशाख ।
आगामी बैशाख २० र २१ गते नेपालगन्जमा हुने नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औं अधिवेशन आयोजना बाँके तयारीमा झुम्दै गएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले नेपालगन्जमा महाधिवेशन तयारीका क्रममा आयोजना गरेको मुस्लिम भेलाका वक्ताहरूले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर भएको बताएका थिए । एमालेका केन्द्रीय सदस्य एवम् मुस्लिम फाँट इन्चार्ज मोहम्मद हारुनले नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनले पछाडी पारिएका समुदायको उत्थानका लागि ऐतिहासिक हुने बताए । उनले मुस्लिम मात्र नभई मधेशी, थारु, दलित, अल्पसंख्यक, सिमान्तकृत समुदायको उत्थानका लागि महाधिवेशनले नेपालगन्ज घोषणा पत्र जारी गर्ने स्पष्ट पारे ।
नेकपा एमालेका केन्द्रीय सदस्य पसुपति दयाल मिश्रले पछिल्लो समय मरिसकेको राजतन्त्रलाई ब्यूताउने खेल भइरहेकोले यस प्रति सबै नागरिक सचेत हुनुपर्ने बेला आएको बताए । उनले संघीय गणतन्त्रले पछाडी परेका समुदायको उत्थानमा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे । नेपाल इत्तेहाद संगठनका केन्द्रीय कोषध्यक्ष तथा महाधिवेशनका संयोजका करिम खानले मुस्लिमको लागि आवाज उठाउने एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन सबैभन्दा पुरानो र ऐतिहासिक संगठन भएको बताए । उनले महाधिवेशनमा मुस्लिम समुदायको अधिकार र पहिचानको विषयमा गम्भिर छलफल र विमर्श हुने धारणा राखे ।
‘पछिल्लो समय महाधिवेशनको प्रचारप्रसार नेपालगन्ज नगरमा व्यापक भइरहेको छ’, महाधिवेशन तयारी समिति संयोजक खानले भने, ‘हामीले घर-घरसम्म महाधिवेशनबारे जानकारी दिने गरी प्रचारप्रसारका कार्यक्रम तय गरेका छौँ । ‘नगरमा व्यापक प्रचार गर्यौँ, अब बाँकेका विभिन्न पालिकाहरुमा पनि महाधिवेशनको प्रचारप्रसार सँगै स्थानीयसँग छलफल, अन्तरक्रिया गर्दै छौँ’, उनले भने ।’ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने निश्चित भैसकेको महाधिवेशन तयारी समिति संयोजक खानले जानकारी दिएका छन् ।
‘त्यसैले बाँकेका लागि आफ्ना चासोका कुराहरु राख्ने अवसर पनि हो महाधिवेशन’, उनी भन्छन् । ‘इत्तेहादको महाधिवेशन भएपनि यसलाई बाँकेको विकास निर्माण तथा पछाडि परेका वर्गको चासो, चिन्ता अधिकार, मागका विषयमा समेत प्रधानमन्त्रीज्यू समक्ष राख्ने र अवसर पनि हो’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन हलवाई भने, ‘पार्टी अध्यक्ष आउने कार्यक्रम भएकाले नेकपा एमाले पनि इत्तेहादको महाधिवेशन तयारीमा जुटेको छ ।’ उनले महाधिवेशन उद्घाटनको अघिल्लो दिन बैशाख १९ गते नै प्रधानमन्त्री ओली नेपालगन्ज आइपुग्ने जानकारी दिए । ‘१९ गते नै हामीले प्रधानमन्त्रीज्यूलाई जिल्लाका विभिन्न क्षेत्रबाट मागका बारेमा ज्ञापनपत्र बुझाउने र २० गते प्रधानमन्त्रीज्यूले महाधिवेशन उद्घाटनका क्रममा त्यसलाई सम्बोधन गर्नुहुने विश्वास छ’, उनले भने ।
मुस्लिम फाँट इन्चार्ज मो. हारुनले महाधिवेशन देशभर बाँके चिनाउने अवसर पनि भएको बताए । ‘महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधिसहित करिब ६ सय जनाले बाँकेको बारेमा बुझ्ने छन्,’ उनले भने । ‘इत्तेहादको महाधिवेशन बाँकेमा हुनु एउटा अवसर हो’, मो. हारुनले भने, ‘यसलाई सबै बाँकेवासीले सफल बनाउनु पर्छ ।’ उनले त्यसका लागि ८१ वटै वडामा महाधिवेशनको प्रचारप्रसारका कार्यक्रमहरु निरन्तरता दिएको जानकारी दिंदै महाधिवेशनका दिन हजारौँको सहभागितामा र्र्याली समेत आयोजना गरिने बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशनले बाँकेबाट गणतन्त्र र सद्भावका पक्षमा विशेष सन्देश प्रवाह गर्ने अवसर पनि भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाल बताए । ‘जिल्लामा हुने जुनसुकै महाधिवेशनले पनि केन्द्रीय तहमा जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गर्न बल पुग्छ, केन्द्रमा जिल्लाको नेतृत्व पुग्नसक्छ’, एमाले नेता ढकाल भन्छन्, ‘केन्द्रमा जिल्लाको उपस्थिति बलियो हुँदा त्यसले जिल्लाका सवालहरु केन्द्रसम्म पुर्याउन पनि सजिलो हुन्छ ।’ अर्का नेकपा एमालेका केन्द्रीय पशुपति दयाल मिश्रले महाधिवेशनलाई सफल बनाउनका लागि पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, प्रतिनिधिसभा सदस्य दिपा शर्माले पार्टीको ८१ वटै वडा कमिटि इत्तेहादको महाधिवेशनको तयारीमा रहने बताइन् । ‘महाधिवेशन र्यालीमा पार्टीका ८१ वटै वडा कमिटिबाट बृहत जनसहभागिता गराइनेछ’, उनले भनिन् ।