© २०२३
बुटवल, ३ बैशाख । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रूपन्देहीको २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेसन अनिश्चित भएको छ । चैत २४ र २५ गते हुने गरि तोकिएको अधिवेसन ब्यवसायीहरूको बिचमा नेतृत्व हत्याउने आकांक्षीहरू बिच राजनीतिक भागबण्डा नमिल्दा अन्यौलमा परेको हो ।
संघमा कुल २१ पदका लागि नयाँ नेतृत्व सर्वसम्मत बनाउन आन्तरिक रूपमा भएको भद्र सहमती कार्यान्वयनमा चुक्दा अधिवेसन अन्यौलमात्र होईन संस्थाको गरिमा के हुने हो भन्ने आम ब्यवसायीहरू चिन्तित छन । ‘ब्यवसायीहरूको हकहितमा लाग्नुपर्ने नेतृत्व नै आफूआफू लडेका छन ।’–एक जना ब्यवसायीले बुटवल टुडेलाई भने । संस्थामा व्यवसायिक हितभन्दा राजनीतिक स्वार्थ प्राथमिकतामा देखिएको छ ।
नेपाली कांग्रेस पार्टी, नेकपा एमाले, माओवादी र समाजवादीसहित दलका नेता र ब्यवसायीहरू बसेर संघको अधिवेसनबाट नेतृत्व सर्वसम्मत बनाउने सहमती भएको श्रोतको भनाई छ । जसमा वर्तमान अध्यक्ष लेखनाथ भण्डारी पक्ष र वरिष्ठ उपाध्यक्ष माधव खनालसहित नयाँ नेतृत्व टुंगाएका थिए । वर्तमान वरिष्ठ उपाध्यक्ष माधव खनाललाई अध्यक्ष पदमा सर्वसम्मत बनाउने गरि वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्याय, महासचिव, कोषाध्यक्ष र सचिव गरि ६ पदाधिकारी नेपाली काग्रेस, माओवादी र समाजवादीलाई समेट्ने जिम्मा लेखनाथ भण्डारीको पक्षबाट भएको थियो ।
यसैगरि अध्यक्ष पदसहित अन्य बाकी ४ पदाधिकारी पद मिलाउने गरि माधव खनाल पक्षको समुहबिचमा भद्र सहमति भएको श्रोतको दाबी छ । कागजी रूपमा समेत सहमति भई तोकिएकै निर्वाचन प्रक्रिया अनुसार चैत १९ गते उम्मेबारी दर्ताको क्रममा भण्डारी पक्षबाट भद्र सहमति विपरित उम्मेदबारी दर्ता गरेको खनाल पक्षको आरोप छ । महासचिव, प्रथम उपाध्यक्ष पदमा सर्वसम्मत भइसकेको अवस्थामा एकाएक अध्यक्ष पदमा दर्ता गरेको खनाल बताउछन । धेरै प्रयास गर्दा पनि कुरा नमिलेपछि केही ब्यवसायीहरू कार्यालयमा चैत २० गते तालाबन्दी समेत गरे । ‘उम्मेदबारी दर्ताको क्रममा नै अध्यक्षबाट नै उम्मेदबारी दर्ता गरेपछि समस्या उत्पन्न भएको हो ।’–उनले भने ।
यता भण्डारी भने भद्र सहमति खनाल पक्षबाट तोडिएपछि आफुले उम्मेदबारी दिएको बताउँछन । अफिस कार्यालय र निर्वाचन कक्षमा तालाबन्दी गरेर खनाल पक्षबाट गलत काम भएको उनी बताउछन । भद्र सहमति विपरित द्वितिय उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पदमा उम्मेदार उठाएको उनले आरोप लगाए । सहमति तोडिएको हुँदा आफुले खनालसँग कुरा गरेर नै अध्यक्ष पदमा उम्मेदबारी दिएको भण्डारीले बताए । ‘म पूर्ण रूपमा भद्र सहमतिमा पालना गर्न तयार छु,’– उनले भने । अन्यौलता चिर्ने गरि प्रशासन कार्यालयमा उजुरी दिएको उनले बताए । कार्यालय र निर्वाचन कक्षमा तालाबन्दी भएपछि निर्वाचन समितिले अनिश्चितकालका लागि निर्वाचन स्थगित भएको सुचना टाँस गरेको छ ।
यता चैत २३ गते संघको कार्यसमितिको बैठकले वर्तमान उत्पन्न घटनाक्रम र परिस्थितीको कारण अर्को सुचना प्रकाशित नहँुदासम्म अधिवेसन स्थगित गर्ने निर्णय गरेको छ । सामाजिक संजालमा भने दुई पक्षबिच बादबिबाद जारी नै छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सहायक जिल्ला अधिकारीबाट दुबै पक्षलाई बोलाएर आवश्यक प्रक्रियालाई अघि बढाउन आग्रह गरिएपनि त्यो सफल हुन सकेन । हाल संस्थामा ९ सय २२ जना सदस्यहरू आवद्ध छन ।