© २०२३
बर्दिया,२५ चैत्र ।
थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा पत्र जारी गरिएको छ ।
बर्दियामा बालबिवाह न्युनिकरणका लागि बरघरहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा ब्यापक छलफलपछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले घोषणा गरिएको प्रतिवद्धताहरुमा बालबिवाहलाई कुनै पनि हालतमा स्वीकार नगर्ने, बालबिवाह विरुद्ध ब्यापक जनचेतना अभिबृद्धि गर्ने, बालबिवाह विरुद्धका नीति, नियमहरुलाई कार्यन्वयन गर्न सम्बन्धित निकायमा पैरवी गर्ने र बालबिवाह न्युनिकरणको विषय बरघर ऐनमा समावेश गरी बरघरलाई अधिकार तथा श्रोत साधन सम्पन्न बनाउन पहल गर्ने रहेको जानकारी दिए ।
सोही प्रकारले बरघरहरुले एकजुट भई बालविवाह विरुद्ध विभिन्न अभियान तथा कार्यक्रम संचालन गर्ने, विवाहको उमेर २० बर्ष नै कायम राख्नका लागि निरन्तर वकालत गर्नेे प्रतिबद्धता पनि सो अवसरमा घोषणा गरिएको अध्यक्ष तुलाधरले बताए ।
उनले बर्दियामा बालविवाहको अवस्था, यसका कारणहरु तथा न्युनिकरणमा गर्नु पर्ने कार्यहरुका बारेमा बृहत्त छलफल गरी यसका लागि बरघरहरुलाई जिम्मेवार बनाउने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको बताए । थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुले बालविवाह न्युनिकरणका लागि आवश्यक योजना, नीति निर्माण र बजेट बिनियोजन गराउन संघीय, प्रदेश र स्थानीय सरकारसँग थारु आयोगले निरन्तर पैरवी गर्ने विश्वास दिलाए ।
उनले यसका लागि सबैभन्दा उत्तम पात्र बरघरहरु नै रहेको जनाउँदै बरघरहरुको सक्रिय भूमिका भएमा बालविवाहलाई पूर्ण रुपमा रोक्न सकिने कुरामा जोड दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालबिवाह न्युनिकरणका लागि आवश्यक निति निर्माण र बजेट व्यवस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन हरसम्भव प्रयास गरिने बताए । थारु आयोगका सदस्य भोलाराम चौधरीले समग्रमा बालविवाहको अवस्था र बालबिवाह न्युनिकरणमा बरघरहरुको भुमिकाका बिषयमा प्रस्तुतीकरण गर्दै सबैको सामुहिक प्रयासबाट यो समस्या समाधान हुने बताए । प्लान ईन्टरनेशनल नेपालका नीति तथा पैरवी व्यवस्थापक ईरशाद अन्सारीले प्लानले बिगतदेखि नै बर्दियामा साझेदार संस्थामार्फत बालबिवाह न्युनिकरणमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सो कार्यका लागि बरघरहरुको भुमिकालाई विशेष बनाउने कुरामा जोड दिए ।
बारबर्दिया नगरपालिकाका मेयर छबिलाल थारु, मधुवन ४ का वडा अध्यक्ष बलीराम चौधरी, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्धिकी, बरिष्ठ उपाध्यक्ष पंचम गुरुङ्ग, वित्त तथा प्रशासन व्यवस्थापक बेद प्रकाश पंगाली, राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, थारु कल्याणकारी सभाका महामन्त्री मिनराज चौधरी, जिल्ला संयोजक बिरबहादुर चौधरी, बी ग्रुपका कार्यक्रम ब्यबस्थापक भानु लिम्बु र प्लान ईन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत निर्मला महत लगायतको पनि सहभागिता रहेको थियो ।
बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बर्दिया जिल्लामा बालबिवाहको अवस्था, बालबिवाहका कारण, जिल्लामा यसको न्युनीकरणका लागि भए-गरेका प्रयासहरु र बालबिवाह न्युनिकरणका लागि बरघरहरुको भुमिकाको विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सो प्रस्तुतीकरणमा बर्दियामा बालविवाहको अवस्था पाँच वर्ष अघि ४६% रहेकोमा र हाल घटेर २१% मा झरेको जानकारी गराईएको थियो । खुला छलफलमा सहभागीहरुले बिगतको तुलनामा बालविवाहको दर घटेको र यसमा स्थानीय सरकार, विभिन्न संघ, संस्थाहरु र बरघरहरुको उल्लेखनीय भुमिका रहेको जनाएका थिए ।