© २०२३
नवलपरासी,पश्चिम ।
बर्दघाट प्रज्ञा प्रतिष्ठान र बर्दघाट नगरपालिकाको आयोजनमा त्रिदिवसीय साहित्य संस्कृति तथा पर्यटन उत्सव एवं पर्या काव्य गोष्ठि आजबाट सुरु भएको छ । नगर भित्र रहेका धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रवर्द्धन एवं प्रचार प्रसार गर्ने उदेश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो ।गत बर्ष बाटै बर्दघाट प्रज्ञा प्रतिष्ठानले यो प्रकृतिको कार्यक्रम आयोजना गर्ने सुरु गरेको हो ।त्रिदिवसीय पर्यटन उत्सवमा नेपाली श्रष्टाहरु सहित मुलतः छिमेकी राष्ट्र भारतबाट साहित्यकर्मी एवम् कलाकर्मीहरुको उपस्थिति रहेको छ ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतीष्ठानले नगर भित्रका सम्पदाहरुको बारेका अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै यहाँको प्रचार प्रसार मार्फत समग्र नगरलाई चिनाउन साहित्य र सिर्जना मार्फत अतुलनीय योगदान गरेको बताउनु भयो । भौतिक विकास मात्रै नभै साहित्य कला र सास्कृतिक विकासले पनि समाज रुपान्तरण हुने श्रेष्ठले बताए ।
आजबाट सुरु गरिएको उत्सवमा सहभागी श्रष्टाहरुलाई बर्दघाट नगरपालिकामा रहेको धार्मिक स्थल त्रिनेत्रेश्वर धाम,बुद्ध मङ्गल ताल,वनदेवी मन्दिर र १ सय पर्यटकीय गन्तव्य स्थलको सुचीमा कंचनगढी क्षेत्रसँगै त्रिबेणीधाम को अवलोकन गराइनुका साथै यी स्थलहरु बारेमा जानकारी गराईएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा।घरश्याम न्यौपाने परिश्रमीले जानकारी दिए ।
भोलि बर्दघाटमै रहेको सहिद पार्क,सिमसार क्षेत्र र रामग्राम नगरपालिकामा रहेको बुद्धको एकमात्र अस्तुधातु रहेको रामग्राम स्तूपको अवलोकन गरिने र अन्तिम दिन पर्या काव्य गोष्ठि अन्तर्गत कार्यपत्र प्रस्तुतको कार्यक्रम रहने प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलले बताए ।
कार्यक्रममा उपस्थित भारतीय साहित्य कर्मी एवं स्रष्टाहरुले नेपाल पर्यटनका हिसाबले सुन्दर मुलुक रहेको बताउँदै यहाका बारेमा विभिन्न लेख रचना र सृजना मार्फत प्रचार प्रसारमा टेवा पुर्याउने प्रतिबद्धता ब्यक्त गरे ।नेपाल भारत बीच आपसी सद्भाव र पृथक सम्बन्ध रहेको उल्लेख गर्दै धर्म संस्कृति र परम्परामा समेत थुप्रै समानता रहेकाले पनि नेपाल प्यारो लाग्ने गरेको श्रष्टाहरुले बताए ।