नेपालगन्ज, १६ चैत ।
नेपालगन्जमा बाँके रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरेको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपाालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् ।
मेलाको पहिलो दिन जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नैैै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पनि भूमिका खेलेका थिए । स्थानीय तहमा सूचीकृत बेरोजगारहरुलाई मेलामा सहभागी गराइएको थियो ।संघका रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटका अनुसार शुक्रबार जिल्लाका गाउँगाउँबाट आएका करिब ६ सय बेरोजगारहरुले रोजगारीका लागि निवेदन दिएका थिए ।
आयोजकले रोेजगार खोज्ने झन्डै तीन सय जनालाई फारम भर्न लगाएर रोेजगारदाताका ४० वटा स्टलमा पठाएका थिए । रोेजगारदाताको स्टलमा पनि झन्डै तीन सय जनाले फर्म भरेका थिए । शुक्रबार उद्योगका विषयमासंवाद गरिएकोे थियो । रोजगार मेलामा शनिबार कृषि र जडिबुटीको एउटा र पर्यटनको अर्को संवाद हुनेछ । संवाद लगत्तै रोजगारदाता र रोजगारको खोजीमा रहेका ब्यक्तिबीच अन्तर संवाद हुनेछ ।
संघका अध्यक्ष टंकबहादुर धामी बाँके रोजगार मेलाबाट रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी आगामी दिनमा जिल्लाका उद्योग प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गरी बेरोजगारीको समस्यामा अभियान सञ्चालन गर्ने बताउँछन् । संघले रोजगार मेलामा फर्म भरेका ब्यक्तिको सीप, क्षमता र दक्षताको विश्लेषण गरी जिल्लाका उद्योग तथा औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने योजना सुनाउँछन् । जसका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आगामी दिनमा सहकार्य गर्ने संघको योजना रहेको छ ।